हङकङका पत्रकार किसन राईको मृत्युबारे विभिन्न कोणबाट अध्ययन गर्दै प्रहरी..

धरान, नेपाल घुमघामका क्रममा खोटाङमा मृत्यु भएका हङकङवासी नेपाली पत्रकार किसन राईको मृत्युको घटनाका विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

हङकङका पत्रकार स्व. किसन राई

जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले पत्रकार राईको निधनका विषयमा प्रहरीले पहिलेदेखि नै अनुसन्धान गरिरहेको र परिवारले उजुरी दिएपछि अझ विभिन्न कोणबाट घटनाबारे अध्ययन गरिरहेको बताए। उनले भने, ‘यो घटनालाई गम्भीर रुपमा लिएर अनुसन्धान गरिरहेका छौं। घटनाका सम्बन्धीत सबै पक्षलाई केलाउँछौं।’

गत कार्तिक ७ गते ओखलढुङ्गाबाट खोटाङ हुँदै धरान जाने क्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ को पंखु खोलामा हात खुट्टा भाँचिएको अवस्थामा राईको शव फेला परेको थियो। सँगै गएका साथीहरुले राई दिशा पिसाब गर्न गएको र लामो समय नफर्किएपछि खोज्दा शव फेला परेको बताएका थिए।

उनको भीरबाट खसेर मृत्यु भएको बताइएको थियो तर परिवारले पोष्टमार्टम रिपोर्ट शंकास्पद देखिएको भन्दै थप अनुसन्धान गर्न माग गरेर निवेदन दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। मृतक किसन राईका छोरा अरिम राईले घटनास्थलको अवस्था, शवको प्रकृति र पोष्टमार्टम रिपोर्ट हेर्दा शंकास्पद देखिएको भन्दै अनुसन्धान गर्न माग गरेर निवेदन दिएको प्रहरीले जनाएको छ।

उक्त निवेदनमा काठमाडौंको नागार्जुन नगरपालिका–२ घर भएका सशस्त्र प्रहरीका पूर्वएसपी प्रेमकुमार श्रेष्ठ, उनकी श्रीमती चन्द्रमाया श्रेष्ठ र धरान नगरपालिका–११ का मानबहादुर राना मगर मृतक राईसँगै यात्रामा रहेकाले उनीहरुलाई प्रहरी कार्यालयमा झिकाएर आवश्यक अनुसन्धान अघि बढाउन समेत माग गरिएको छ। डिएसपी लम्सालले अनुसन्धानका क्रममा आवश्यक परे उनीहरुलाई झिकाएर सोधपुछ गरिने बताए। यसअघि मृतक राईका भतिजाले पनि निवेदन दिएको डिएसपी लम्सालले बताए।

घटनास्थल। फोटोः सामाजिक सञ्जाल। थप फोटोहरु यहाँ छन्।

पत्रकार राईको मृत्युपछि प्रहरीले उनको भीरबाट लडेर मृत्यु भएको बताएको थियो। तर परिवार र शुभचिन्तकहरुले घटनाको गहिरो अनुसन्धान नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए। परिवारले घटनापछि परिवार र प्रहरीलाई ढिलो खबर गरिनु, दिशापिसाब गर्न भीरमाथि गाडी रोकिनु, घटनाको राम्रोसँग अनुसन्धान नहुनु र घटनास्थल सुरक्षित नराखिनु जस्ता कारणले घटनालाई शंकास्पद बनाएको बताउँदै आएको छ।

हङकङमा खरो पत्रकारका रुपमा परिचित राईको मृत्युपछि केही व्यक्तिहरुले सामाजिक सञ्जालमा लेखेका विषयले पनि परिवार र आफन्तले घटना बारे शंका बढाएको थियो।

राई दुई दशकदेखि हङकङमा रहेर पत्रकारितासँगै जनजाति आन्दोलन र विभिन्न सामाजिक कार्यमा संलग्न थिए।

(धरानका पत्रकार गोपाल दाहालले जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालसंग सम्पर्क गरी तयार पारिएको समाचार।)

सम्बन्धित समाचारः हङकङका पत्रकार किसन राईको भिरबाट लडेर मृत्यु..





Comments

comments

47193