एनआरएन युकेमा भाँडभैलो

रोशन मेवाहाङ्ग –
लन्डन । एनआरएनको केन्द्रले वुद्धि नपुराउदा एनआरएन युके अहिले अस्तव्यस्त बनेको छ । गुट, उपगुटमा विभाजित र विबादित नेपाली राजनीतिक झै यतिबेला महेन्द्र कँडेलले नेतृत्व गरेको ‘कँडेल कोटरी’र त्यस इतरका सदस्यहरूको बेग्ला–बेग्लै समूह क्रियाशील छन्।

केन्द्रले कँडेल कोटरीलाई च्यापेपछि यति बेला त्यहाँ विधान सम्मत काम हुन छाडेको छ । जसका कारण बहु संख्याक नेपाली समुदायले एनआरएनलाई आफ्नो र साझा संस्थाको रुपमा लिन छाडेका छन । बास्तविक्ता नबुझी २१ फेब्रव्रीमा एनआरएन आईसीसीको निर्देशनमा बोलाईका गैर आवशीय संंघको विशेष साधारण सभा विवादीत बनेको हो।

बिवादको उक्त दिन औपचारिक रुपमा सभा सम्पन्न हुन सकेन । तर महेन्द्र कडेल सो सभाले आफु अध्यक्ष बनेको घोषणा गर्दै हिड्न थालेका छन । एनआरएन युकेको अध्यक्ष पद हत्याउन साम, दाम, दण्ड–भेद प्रयोग गर्दै आएका कँडेल उक्त विशेष भेलाबाट ‘चक्रीय प्रणाली’ मार्फत आफू अध्यक्ष बन्नेमा ढुक्क थिए । तर, सो विशेष भेलामा उपस्थिति बहुसंख्यक प्रतिनिधि तथा पर्यवेक्षकहरूले संस्थालाई विधान सम्मत ढङ्गले सञ्चालन गरिनुपर्ने माग गरेपछि कँडेलको इच्छामाथि तुषारापात भएको थियो । विशेष भेलाबाट आफ्नो दाल नगल्ने देखेपछि सो भेला स्थगित भएको घोषणा गरियो । त्यसपछि सबै प्रतिनिधि आ–आफ्नो गन्तव्य तर्फ लागे । यही मौका छोपी कँडेल समूहले अल्डरसोर्टको एक रेस्टुरेन्टमा गई महेन्द्र कँडेललाई अध्यक्ष घोषित गरेका थिए । रेस्टुरेन्टबाट एउटा समूहले घोषणा गरेको उक्त समितिलाई वैधानिकता दिन अहिले गोयबल्स शैलीको मिडिया प्रचारबाजीमा कँडेल समूह लागेको छ।

विधानलाई कुल्चिएर गरिएको कुनै पनि निर्णय आफूहरूलाई स्वीकार्य नहुने भन्दै वैधानिकताका पक्षधर नेपाली युवा समूह युके र एनआरएन युकेका बहुमत साधारण सदस्यले विरोध जनाएका छन् । तर, कँडेल समूह आफ्नो अवैधानिक कर्तुतलाई ढाकछोप गर्न ‘दुई–चार जनाको विरोध’ भन्दै केही मिडियालाई प्रयोग गरी दुनियाँलाई भ्रमित पार्ने प्रयासमा लागेको छ।

पूर्वअध्यक्ष कुल आचार्यको कार्यकालदेखि अध्यक्ष पदका लागि लालायित बनेका कडेलले तत्कालीन अध्यक्षका उम्मेदवार योगेन्द्र बहादुर क्षेत्रीसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने भएपछि केही साधारण सदस्यहरूले बुझाएको रकम आफैले खर्च गरेर उनीहरूको सदस्यता समेत नवीकरण गरिदिएनन् । बरु आफू अध्यक्ष बन्न समानन्तर समिति गठन गरी आइसिसी केन्द्रको विधानमा नभएको ‘चक्रीय प्रणाली’को माग राख्दै आएका थिए।

त्यसो त कँडेलले एनआरएनको दस्ताबेज र विधानमै उल्लेख भएको ‘संस्था सबैको साझा, रानीतिरहीत सामाजिक संस्था हुने छ’ भन्ने र एनआरएन बेलायतको विधानमा उल्लेख भएको ‘गोर्खा सैनिकहरूको पनि सम्मान अधिकार रहनेछ’ भन्ने कुरालाई समेत लत्याएका छन्। गोर्खाली युवासँग त्रशित कँडेलले एनआरएनको गतिविधिमा सक्रिय हुने र भेलाहरूमा उपस्थित हुन नदिन गोर्खा रेजिमेन्टमा फोन गरी उनीहरूलाई रोक्ने प्रयास गरेका थिए। ब्यक्तिगत स्वार्थ प्राप्तिका निमित्त कँडेलले एनआरएन राजनीतिक संस्था भएको र गोर्खा सैनिकमा कार्यरत सैनिकहरू राजनीतिक कार्यक्रममा सहभागी हुन आउन लागेकाले कार्यक्रममा आउने सबै गोर्खा सैनिकहरुलाई रोक्न र रोकिएन भने कारबाही गर्न अनुरोध गरेका थिए।

कँडेलजस्ता व्यक्तिको हातमा एनआरएनजस्तो पवित्र संस्थाको नेतृत्व जाँदा संस्था र हामीजस्ता सर्वसाधारण बेलायतबासी नेपालीको भोलिको दिन के होला ? नेपाली युवा समूह युकेका एक अगुवाले भने, ‘कसैको छलकपटपूर्ण रणनीतिको सिकार एनआरएन जस्तो पवित्र संस्था बन्न हुँदैन।’
कसैको स्वार्थका लागि गरिएको राजनीतिले सम्पूर्ण गोर्खा सैनिकहरूको व्यवसायिक जीवनमा बाधा नपुराए त्यस्ता व्यक्ति स्वयं जिम्मेवार हुने र गोर्खालीहरू आफैले त्यस्ता व्यक्तिबाट क्षतिपूर्ति उठाउन सक्ने अधिकांश गोर्खाहरू बताउँछन्।

अब सबै बेलायतवासी नेपालीहरू सचेत हुनुपर्ने भन्दै नेपाली युबा समूह युकेले सबै साधारण सदस्यहरूलाई सचेत हुन अनुरोध गरेको छ। उक्त समूहले आफूहरू कुनै पदको लालचमा नभई सत्य र वैधानिकताको पक्षमा रहेको स्पष्ट पारेको छ। समूहले एनआरएन युकेमा विगतदेखि हुँदै आएको आर्थिक अनियमितताको छानविन गरिनुपर्ने माग गर्दै संस्थालाई पारदर्शी ढंगले सञ्चालन गर्न सम्पूर्ण इच्छुक साधारण सदस्यहरूले हेर्न मिल्ने गरी सम्बन्धित वेव साइटमा आर्थिक हिसाब सार्वजनिक गरिनुपर्ने माग आफ्नो समूहले गर्दै आएको समूहका एक सदस्यले बताए।

उनका अनुसार एनआरएन जस्तो सबैको साझा र पवित्र संस्थालाई केन्द्रका प्रतिनिधि महासचिब कुमार पन्तले मेरो बाध्यता हो भनि विधानलाई समेत कुल्चिएर चक्रिय प्रणालीमा कडेललाई अध्यक्ष घोषणा गर्न खोजेपछि सभामा कडेलपक्ष बहिस्कृत भएको हो। उनले भने, ‘भेला स्थगित भएपछि भेलास्थलदेखि भागेर राति नजिकैको एक रेस्टुरेन्टमा गई केही व्यक्तिले महेन्द्र कँडेल एनआरएन युकेको नयाँ अध्यक्ष चयन भएको घोषणा गरी मिडियामा प्रचारबाजी गरेकाले त्यस्ता अवैधानिक कार्यको भण्डाफोर गर्न र सम्पूर्ण जनमानसमा सत्य–तथ्य सार्वजनिक गर्न सामुहिक पहल थालेका हौँ।’

उक्त समूहले आफ्नो अभियान एनआरएन युके निष्पक्ष, वैधानिक र सबैको साझा भएको हेर्न चाहनेहरूको नैतिक लडाइँ भएको ठहर गर्दै समूहले वैधानिकता र सत्यका पक्षपाती सबैसँग हातेमालोको लागि आग्रह गर्दै आइसिसी केन्द्रले पनि बहुसंख्यक बेलायतवासीको जायज मागलाई सम्बोधन गर्नुपर्ने माग गरेको छ। उक्त समूहले एउटा व्यक्तिको स्वार्थपूर्तिका लागि गरिएको यस्तो अवैधानिक घोषणालाई आइसिसीले मान्यता दिएमा आइसिसीको निर्णयलाई नै नमान्ने र बेलायतको हरेक संस्थाको कार्यक्रममा कँडेल कोटरीका व्यक्तिहरूलाई बहिष्कार गर्ने र आवश्यकता हेरी खुलेआम रूपमा लखेटेर बहुसंख्यक बेलायतबासी नेपालीको उपस्थिति र समर्थनमा वास्तविक र साझा एनआरएन गठन गर्ने चेतावनीसमेत दिएको छ।

कँडेल कोटरीले पैसाको आडमा दुनियाँ दुई–चार दिन भ्रममा पारे पनि उनको यस्तो कर्तुत लामो समय नटिक्ने भन्दै नेपाली युवा समूह युकेले आफूहरूको लडाइँ वैधानिक र सत्यको पक्षमा भएकाले एक दिन सत्यको बिजयी हुनेमा विश्वस्त हुन र बहुसंख्यक बेलायतबासीको यो अभियानलाई अझ व्यापक बनाउन अनुरोध गरेको छ।





Comments

comments

4823