इजरायल र कोरियाले थप क्षेत्रमा कामदार लिने

सरकारले कोरियाको कृषिमा मौसमी कामदार र इजरायलको निर्माण क्षेत्रमा थप नेपालीलाई रोजगारीका अवसर दिन अध्ययन टोली गठन गरेर काम सुरु गरेको छ।

कोरिया र इजरायलमा यसअघि पनि अन्य रोजगारीका क्षेत्रमा नेपाली श्रमिक गइरहेका छन्।

इजरायलको केयरगिभर सेवा क्षेत्रमा हालै एक हजार १ सय ७५ नेपाली श्रमिक पठाउने तयारी पूरा गरेको नेपालले थप नेपाली पठाउन गृहकार्य सुरु गरेको छ। हालसम्म २ सय १९ नेपाली इजरायल प्रवेश गरिसकेका छन् भने बाँकी नौ सय नेपालीको अभिमुखीकरणको काम भइरहेको छ। यसैगरी रोजगार अनुमति प्रणालीअन्तर्गत श्रमिक गइरहेको कोरियामा समेत थप नेपालीलाई पठाउने तयारी भएको छ । कोरियाले वर्षको ६ महिना काम गर्ने गरी त्यहाँको कृषि क्षेत्रमा नेपाली कामदार माग गरेपछि नेपालले त्यसका लागि गृहकार्य सुरु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

यसैगरी विगत दुई वर्षदेखि रोकिएको कोरियाको उडानसमेत सुचारु भएको छ । मन्त्रालयले दक्षिण कोरियामा मौसमी कामदार पठाउने विषयमा अध्ययन गर्न मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । दक्षिण कोरियाका स्थानीय सरकार तथा नेपालका स्थानीय सरकारबीच भगिनी सम्बन्ध कायम गर्दै मौसमी कामदार पठाउने विषयमा अध्ययन गर्न कार्यदल बनाइएको हो । दक्षिण कोरियाको न्याय मन्त्रालयले त्यहाँको ग्रामीण क्षेत्रमा ३ देखि ५ महिनाका लागि मौसमी कामदारको रूपमा विदेशी नागरिक ल्याउने नयाँ नियम हालै जारी गरेको छ । आजको कारोबार दैनिकमा समाचार छ।





Comments

comments

48762