एनआरएनको प्रधान कार्यालय भवनको शिलान्यास

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, फागुन २५ – प्रधानमन्त्री सुशील कोईरालाले सोमबार गैरआवासीय नेपाली संघको प्रधान कार्यालय भवनको एक समारोह वीच शिलान्यास गरेका छन्।

शिलान्यास कार्यक्रममा सभामुख सुवास चन्द्र नेम्वाङ, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा, पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल, संघका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, निवर्तमान अध्यक्ष जीवा लामिछाने, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे तथा संघका पदाधिकारीहरुको सहभागीता रहेको थियो।

शिलान्यास कार्यक्रममा प्रधानमन्त्री कोइरालाले अध्यक्ष लगायत पदाधिकारीहरु, सदस्यहरु र विभिन्न मुलुकबाट आएका गैरआवासीय नेपालीहरुलाई बधाई दिदै भवन निर्माणको लागि शुभकामना व्यक्त गरे।

त्यस्तै, संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङले अध्यक्षलगायत सम्पूर्ण पदाधिकारी र विभिन्न मुलुकबाट आएका गैरआवासीय नेपालीहरुलाई बधाई दिदै भवन निर्माण कार्य सफलताका साथ सम्पन्न हुनेमा विश्वास व्यक्त गरे। नेम्वाङले गैरआवासीय नेपालीहरुलाई पहिलो चरणमा परिचयपत्र प्रदान गरिएको र अब आउने संविधानमा गैरअवासीय नेपाली नागरिकता दिईने पनि जानकारी गराए। त्यस्तै माननीय वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापाले गैरआवासीय नेपालीहरुको लगानीलाई अध्याधिक मात्रामा आकर्षित गरी नेपालको आर्थिक समृद्धिमा उपयोग गर्नको लागि नेपाल सरकारले पहल गर्ने जानकारी गराए।

पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिलेको समसामयिक राजनैतिक विषयहरुमा प्रकाश पार्दै भवन शिलान्यास भएकोमा सबै गैरआवासीय नेपालीहरुलाई बधाई दिए। नेपालउद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीप जंग पाण्डेले नेपालको आर्थिक समृद्धिको लागि गैरआवासीय नेपाली संघसंग सहकार्य गर्दै आएको र भविष्यमा पनि आर्थिक समृद्धिको लागि हातेमालो गर्दै अगाडि बढ्ने बताए।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले आजको समारोहका प्रमुख अतिथि प्रधानमन्त्री अस्वस्थाका वावजुत पनि यस कार्यक्रममा सहभागी हुनु भएकोमा आभार प्रकट गरे। यसैगरी कार्यक्रममा उपस्थित सबै विशिष्ट अतिथिहरु, नेपाल सरकारका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, गैरआवासीय नेपाली अभियानका अग्रजहरु, पदाधिकारी तथा सदस्यहरु, विभिन्न मुलुकबाट आएका गैरआवासीय नेपालीहरु, संचारकर्मी र कार्यक्रममा सहयोग गर्ने सबै महानुभावहरुलाई धन्यवाद व्यक्त गरे।

मन्तव्यकै क्रममा गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष जीवा लामिछानेले गैरआवासीय नेपालीहरुको अभियानबारे प्रकाश पार्दै भवनको शिलान्यास हामी सबैको गौरवको विषय भएको बताए। यसरी नै संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले अहिलेको संक्रमणकाललाई तुरुन्त अन्त्य गरी आर्थिक समृद्धितर्फ लाग्नु पर्नै बताउँदै भवन निमार्णमा संघका अध्यक्षले खेलेको भूमिको सरहना गरे।

शिलान्यास कार्यक्रममा नेपालका लागि जापानी राजदूत, रसीयका राजदूतका साथै विभिन्न मुलुकहरुबाट १०० भन्दा बढी गैरआवासीय नेपालीहरुको सहभागीता रहेको थियो।

मार्च ९, २०१५ ।





Comments

comments

4925