हवाई व्यवसायसँगै कृषिको विस्तारमा लागेका बस्नेत

वीरेन्द्रबहादुर बस्नेत नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो। हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक उनले वर्षौँदेखि जहाज सञ्चालक रहेर वायुसेवा क्षेत्रमा प्रतिष्ठा कमाएका छन्।

सो क्षेत्रमा सफलता हासिल गरेका व्यक्ति धानमिल अर्थात् धान र खाद्य सुरक्षाको कुरा गर्ने बाटोमा माेडिएका छन्।

बस्नेत भन्छन् ‘बुद्ध एयर खोल्नु अगाडि धानमा परिचित थिएँ, धान उत्पादनमा नै खाइखेली आएको व्यक्ति हुँ, यसैले नेपालको सफलता न्यायसङ्गत व्यवसाय के हुनसक्छ भन्दा त्यो कृषि नै हो, किनभने अहिले पनि हामी कृषिप्रधान देश भनेर चिन्छौँ ।’ कृषि पेशाप्रति मौलाइरहेको नेपाली नैराश्यपनलाई परिवर्तन र प्रोत्साहन गर्ने हेतुले यो अभियानमा सक्रिय भएको उनको भनाइ छ । प्रबन्ध निर्देशक बस्नेतले कृषिलाई निर्वाहमुखीबाट औद्योगीकरण वा व्यावसायीकरण गरिनुपर्नेमा जोड दिन्छन् । उनले भने ‘हामीसँग प्रशस्त जमिन छ । धान अनस्टेवल डाइट हो।’

पछिल्लो ११ महिनामा नेपालले २८ अर्ब ५० करोड बराबरको चामल आयात गरिसकेको आँकडा छ । आयातलाई प्रतिस्थापन गर्न र कृषिको व्यावसायीकरण गरी अर्थतन्त्रलाई सवलीकरण गर्ने लक्ष्यसहित कृषिमा यान्त्रिकीकरणको अभियान थालिएको बस्नेतले बताए । आयात हुने धानलाई रोक्न र आफैँ आत्मनिर्भर हुनसकेमा त्यसले सफलताको कथा निर्माण गर्ने उनले बताए । ‘न्यायोचित र कम खर्च तथा आम्दानीलाई बढाउन सक्यौँ भने सफलताको कथा हुनेछ । जसले हरेक नेपाली वा युवापिँढीलाई प्रोत्साहित गर्नेछ’ उनले भने।

मुलुकको आन्तरिक उडानमा १४ एटिआर र दुई थान बिजक्राप्ट गरी कुल १६ जहाजमार्फत यात्रु बोक्ने बुद्ध एयरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर) अन्तर्गत व्यावसायिक कृषिमा लगानी गरेको हो । विसं २०६९ मा नेपाल कृषि कम्पनी स्थापना गरी बुद्धले मोरङका विभिन्न स्थानीय तहमा धानखेतीको व्यावसायीकरण र यान्त्रिकीकरणमा लगानी गरिरहेको छ । अब कृषकले उत्पादन गरेको धानलाई चामलमा परिणत गरी बजारमा पठाउने तयारी गरेको छ । बुद्धले मोरङको बेलबारी नगरपालिकास्थित डाङ्गीहाटमा आरजु राइस मिल स्थापना गर्दैछ । मिलमा अहिले उपकरण जडानको कार्य धमाधम चलिरहेको छ।

कम्पनीले अत्याधुनिक उपकरणयुक्त मिल स्थापनाका लागि झण्डै ५० करोड लगानी गरेको छ । उक्त धानमिल आगामी कात्तिकदेखि सञ्चालन गर्ने लक्ष्य लिइएको छ । बुद्धले कृषिको यान्त्रिकीकरणमा सात करोडभन्दा बढी खर्च गरिसकेको जनाएको छ । सो भेगमा स–साना टुक्रा जमिन एकीकृत गरी ठूला मेसिनको प्रयोगबाट धान रोप्ने र काट्ने काम भइरहेको छ । बुद्ध एयरले आफ्नो भगिनी संस्था नेपाल कृषि कम्पनीमार्फत निश्चित क्षेत्रमा निश्चित जातको धान रोप्न कृषकलाई प्रोत्साहन गरिरहेको बस्नेतले बताए । ‘यसरी फलेको धान आरजु राइस मिलले सिधै खरिद गर्नेछ । मिलले मोरङ र यस आसपासका जिल्लाका २० हजार कृषकले उत्पादन गरेको धान खरिद गरी त्यसलाई स्वदेशी ब्राण्डमा नेपाली बजारमा पठाउने लक्ष्य लिएको छ’ उनले भने।

कम्पनीले धान फलाउने कृषक र चामल खाने उपभोक्ताबीच रहेका बिचाैलियाको चेन तोड्ने विश्वास लिएको छ । यो राइस मिलले पहिलो एक सिजनमा दुई हजार मेट्रिक टन र त्यसपछि वार्षिक १३ हजार मेट्रिक टन चामल उत्पादन गर्ने लक्ष्य लिएको छ । अहिले नेपालमा धेरै मोटो धान उत्पादन हुन्छ । किनकि मसिनो धानको बजार व्यवस्थित भएको छैन । मसिनो धानलाई मिलिङ गर्ने इक्युटमेन्टहरू पनि छैन । ‘मोटो धान उत्पादन हुन्छ, जसको चामलको मूल्य किलोको ४० देखि ५० रुपैयाँ हुन्छ । धानको मूल्य एकदमै थोरै हुन्छ । धानको मूल्य उचित नहुने भएकाले हामी निर्वाहमुखी खेतीपातीबाट माथि उठ्न नै सकेका छैनौँ’, प्रबन्ध निर्देशक बस्नेतले भने।

कम्पनीले अहिले मसिनो धान पनि उत्पादन गरिहेको छ । आरजु राइस मिलले धान भण्डारणमा पनि ठूलो लगानी गरेको छ । भण्डारण गर्ने ढवाङहरु साढे ३ हजार टनका छन् । ‘हरेक घरले महिनामा २० देखि ३० केजी चामल प्रयोग गर्छन् । त्यो खालको बजारीकण योजनामा जानुपर्छ’ उनले भने । बेलबारी नगरपालिकामा १० हजार बिघाभन्दा बढी खेतीयोग्य जमिन रहेको छ । आरजु राइस मिलले पाँच हजार ५०० बिघाको उत्पादन व्यवस्थापन गर्नेछ । वार्षिक धान, चामल, गहुँ, मकै गरी ८० अर्बभन्दा बढीको आयात हुन्छ । यसले सञ्चिती मुद्रा बाहिरिँदै गएको छ । बुद्ध एयरले पूर्वी तराईका मोरङ, सुनसरी र झापा जिल्लामा यान्त्रिकीकरणका साथै हाइब्रिड बीउ भित्र्याइ धान उत्पादन दोब्बर–तेब्बर वृद्धि गर्न सफल भएको कम्पनीले जनाएको छ । किसानलाई धानखेतीप्रति प्राविधिक र व्यवहारिक सल्लाह पनि दिइरहेको छ। – रासस / सिबी अधिकारी

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

52828