सरस्वती कली र लोकतन्त्र कलीले बच्चा जन्माइन्…

पछिल्लो समय हात्ती संरक्षणमा चुनौती बढ्दै गएको अवस्थामा हात्ती संरक्षण र समग्र प्रकृति संरक्षणमा चासो राख्नेहरूका लागि खुशीको खबर छ।

आइतबार एकैदिन दुईवटा हात्तीले एक–एक बच्चा जन्माएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेको सरस्वती कली नाम गरेको हात्तीले भाले र चितवन राष्ट्रिय निकुञ्जमा रहेको लोकतन्त्र कली नामक हात्तीले पोथी बच्चालाई जन्म दिएका हुन्।

हात्तीको गर्भावस्था २२ देखि २४ महिनाको हुन्छ । दुबै आमा र दुबै बच्चाको स्वास्थ्य राम्रो रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.महेश्वर ढकालले जानकारी दिए । नेपालमा हाल जङ्गली रैथाने करिब २२५, भारतका विभिन्न स्थानबाट बसाईंसराई गरेर आउने (झापा र शुक्लाफाँटामा) २०० को हाराहारीमा र घर पालुवा १७८ (सरकारी १०२ र निजी ७६) को संख्यामा हात्ती छन् । घरपालुवा हात्ती कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका उनले बताए । चितवनमा हात्तीको प्रजनन केन्द्र सफल रुपमा सञ्चालित छ।

हात्तीले एकैदिन भाले र पोथी बच्चा जन्माउनु खुशीको कुरा भएको बताउँदै महानिर्देशक ढकालले यिनीहरूको हेरचाहमा हात्तीसारमा काम गर्ने कर्मचारीको महत्वपूर्ण भूमिका हुने भएकाले हात्तीसारमा काम गर्ने कर्मचारीको सेवा सुविधा वृद्धि गरी प्रोत्साहन गर्नुपर्ने नीति सरकारले अवलम्बन गर्नुपर्नेमा जोड दिए । हात्ती जमिनमा पाइने सबैभन्दा ठूलो जनावर हो । हात्तीलाई हिन्दू धर्ममा भगवानको रुपमा पूजा गर्ने गरिन्छ । विश्वका ५० देशमा हात्ती पाइए पनि दुर्लभ र लोपोन्मुख भएकाले नेपालको कानुनअनुसार हात्ती संरक्षित जनावरमा रहेको छ।

सरकारले घर पालुवा हात्ती प्रयोग गरेर जङ्गली हात्ती र अन्य वन्यजन्तुको संरक्षण गर्दै आएको जानकारी दिँदै उनले पर्यटन प्रवर्द्धनमा पनि हात्तीको ठूलो योगदान रहेको बताए । यसका साथै बेला बेलामा हात्तीबाट हुने हानी नोक्सानी र क्षतिले गर्दा मानव–हात्ती द्वन्द्व बढ्दो छ । हात्तीले मान्छे मार्ने, घाइते बनाउने, घर गोठ भत्काउने, बालीनाली नोक्सानी गर्ने, भण्डारण गरेको अन्न खाइदिने गर्दै आएको छ । यो समस्या न्यूनीकरणका लागि विभागले विभिन्न कार्य गर्दै पनि आएको छ।

हात्ती कै विषयमा विद्यावारिधि गरेका पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.अशोक रामका अनुसार जङ्गली रैथाने हात्ती बढी पाइने स्थान बर्दिया निकुञ्ज र त्यसपछि पर्सा राष्टिय निकुञ्ज हो । पछिल्लो समय हात्ती संरक्षणमा विभिन्न चुनौती बढ्दै गएका छन्।

बढ्दो मानव–हात्ती द्वन्द्व र कतिपय स्थानमा मानव बस्ती सुरक्षाका लागि भनेर राखिएका तारबाट करेन्ट लागेर हात्ती मर्ने गरेको छ भने बासस्थानको क्षयीकरण र अतिक्रमण, हात्ती मार्गमा मानव बस्ती विस्तार, पूर्वाधार विकास निर्माणका कारण चोरी सिकारी मुख्य चुनौती भएको उनले बताए । नेपालमा हालसम्म बाघ र गैँडाको जस्तो व्यवस्थितरुपमा हात्तीको गणना गर्ने नगरिएकाले यसको संरक्षण र जानकारीका लागि गणना सुरु गर्नुपर्ने उनको तर्क थियो। रासस





Comments

comments

56597