पर्यटकको रोजाइ बन्दै लमजुङको अक्टोपस र बुङ झरना

लमजुङ बेँसीसहर–चामे सडकमै सङ्लो पानी झर्झर गर्दै झरिरहेको छहरा छ। एक सय मिटरभन्दा बढी उचाइबाट झरेको पानी सडकमै खस्छ। छहरामा लहराउँदै झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणीले झनै सुन्दरता थपिदिन्छ। मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको त्यही सुन्दर अत्यन्त मनमोहक अक्टोपसको खुट्टाझैं झरेको अक्टोपस झरना पनि हो।

वर्षायामका कारण सुनसान रहेको विश्व चर्चित चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने यस झरनामा यतिबेला पर्यटकको भीडभाड हुन थालेको छ। यहाँ यतिबेला दैनिक सयदेखि दुई सयजनासम्म आन्तरिक तथा विदेशी पर्यटक आउन थालेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले बताए।

उनले भने, ‘पदमार्गमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै झरनामा आउने पर्यटक आगमनमा पनि वृद्धि हुन थालेको छ।’

यतिबेला चुनावले अधिकांशको ध्यान केन्द्रित गरिरहे पनि पर्यटकलाई भने सो लगायतका झरनाले ध्यान केन्द्रित गर्दै लोभ्याइरहेको उनको भनाइ छ।

सवारी साधनमा मनाङ गएका पर्यटकसमेत त्यहाँ पुगेपछि एकैछिन भए पनि सवारी रोकेर झरनामा रमाउने गर्दछन्।

छहराले त्यहाँ पुग्ने जो कसैलाई सहजै लोभ्याउँछ। छहरा हेर्दै फुरूङ्ग बनेका पर्यटक कोही धमाधम छहराको फोटो खिच्छन्, त कोही छहरालाई पृष्ठभूमिमा पारेर आफ्नै फोटो र सेल्फी खिच्छन्। पहिलोदेखि तेस्रो लहरको कोरोना संक्रमणका कारण लामो समय सुनसान भएर उक्त संक्रमण जोखिम कम भएसँगै दैनिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ।

यस झरनामा विशेषगरी अन्नपूर्ण पदमार्गमा आउने बाह्य पर्यटक तथा मनाङ घुम्न जाने आन्तरिक पर्यटक झरनामा आउने गरेको स्थानीय सरोज विश्वकर्माले बताए।

उनीमात्र नभई उक्त झरनामा पुग्ने अधिकांश पर्यटकको भनाइ उस्तै हुन्छ। यो झरना बेँसीसहर–चामे सडकको बीच भागमै झर्ने भएकाले सवारी मोटरसाइकलमा जाने यात्रु तथा पर्यटकलाई त रुझाउने गर्दछ। यो झरनाको तस्बिर खिचेर सामाजिक सञ्जालमा अधिकांश पर्यटकले हाल्ने गरेको स्थानीयको भनाइ छ। केही समयसम्म सवारी साधनमा मनाङ आवतजावत गर्नेमध्ये केही यात्रु दैनिक १०/१२ जना मात्र झरनामा रमाउने गरे पनि यतिबेला पर्यटक ह्वात्तै बढेकोे स्थानीयको भनाइ छ।

यसरी पर्यटक आगमन हुँदा पर्यटन व्यवसायसमेत फस्टाउने यहाँका पर्यटन व्यवसायी पञ्चबहादुर गुरूङले बताए।

उनले भने, ‘पर्यटक लोभ्याउने यस्ता झरनाको थप प्रचारप्रसारका साथै व्यवस्थित गर्न सके बाह्रै महिना पर्यटकको आगमन हुने र व्यवसायसमेत राम्रो चल्नेछ।’

त्यस्तै, अन्नपूर्ण पदमार्ग नजिकै पर्ने सोही वडास्थित बुङ झरनामा समेत यतिबेला पर्यटकमा वृद्धि हुन थालेको छ।

केही समयसम्म सुनसान रहेको यस झरनामा यतिबेला ८० देखि एक सय जनासम्म दैनिक पर्यटक आउने गरेका बताइन्छ। सदरमुकाम बेँसीसहरबाट ३२ किलोमिटर दूरीमा पर्ने यस छहराले पर्यटकको मन तान्न थालेको छ। तारे भिरमा छङछङ गर्दै झरेको छहरालाई पृष्ठभूमि पार्दै तस्बिर लिने, सेल्फी खिच्नेको भीडभाड हुनेगरेको स्थानीय पूर्णबहादुर गुरूङको भनाइ छ। रासस

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

61037