खुम्बु पासाङल्हामु गाउँपालिकाको सिरानमा छ विश्वकै सर्वोच्च हिमशिखर सगरमाथा । आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर अग्लो हिमाल चुम्न तथा नजिकबाट नियाल्न दिनहुँ यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्छ । सगरमाथासहितका अग्ला हिमाल पनि यहीँ छन् ।
हिमाल आरोहण र पदयात्रा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । यसका लागि कोही लुक्लाबाट पैदल त कतिपय हेलिकोप्टर प्रयोग गर्छन् । तर सबैजसोलाई बाटो भरि एउटै कुराको पीर रहन्छ, स्वास्थ्य अवस्था बिग्रिए तत्काल उपचार गर्न कहाँँ जाने ? उपचारको भरपर्दो व्यवस्था नहुँदा पर्यटकलाई निकै सकस हुने गरेको छ । स्थानीयलाई झनै सकस हुन्छ । पर्यटक र स्थानीयवासी उपचार अभावमा ज्यान गुमाउन बाध्य हुन्छन् । बिरामी भइहाले उनीहरु नाम्चे र लुक्लाको सामान्य अस्पतालको भर पर्दछन् । तर बिरामी घण्टौँ हिँड्नुपर्दा बाटोमै ज्यान गुमाएका अनेकन उदाहरण छन् ।
अब अवस्था फेरिएला जस्तो छ । यही सातादेखि खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा १५ शै्ययाको अस्पताल सञ्चालनमा आएको छ । यहाँ अस्पतालसँगै दक्ष चिकित्सकको व्यवस्था गरिएको छ । रु २० करोडको लगानीमा अस्पताल सञ्चालनमा आएको हो । लुक्ला र नाम्चेको बीचमा अवस्थित फाक्दिङमा तीन रोपनी क्षेत्रफलमा अस्पताल निर्माण गरिएको छ । अस्पतालमा ४० कोठा छन् । अस्पतालका मुख्य लगानीकर्ता हेली एभरेष्ट प्रालिका प्रबन्ध निर्देशक फुर्वा ग्याल्जेन शेर्पा रहेका छन् । उनीहिमालयन शेर्पा फाउण्डेशनको अध्यक्षसमेत हुन्। शेर्पाको होटल व्यवसाय पनि छ ।
बिरामीको अवस्था देखेर व्यवसायी शेर्पाको मन पोल्थ्यो । स्थानीयवासीको अवस्था दयनीय थियो । आर्थिक अवस्था एकदमै कमजोर । बिरामी पर्दा आन्तरिक तथा बाह्य पर्यटक बीच बाटोबाटै आफ्नो गन्तव्य त्याग्न बाध्य हुन्थे । यि सबै कुराले शेर्पा बेचैन भए । जसरी नि यो क्षेत्रमा एउटा अस्पताल बनाउनैपर्ने निष्कर्षमा उनी पुगे। “अस्पताल बनाउन सजिलो थिएन”, शेर्पाले भने, “मेरा सामु ठूलो चुनौती थियो, अन्ततः म सफल भए ।”
विसं २०७२ वैशाखमा गएको भूकम्पले सोलुखुम्बु पनि प्रभावित बन्यो । घर भत्किएपछि यहाँका सर्वसाधारण बिचल्लीमा परे । स्वदेशी तथा विदेशी नागरिकले सहयोग गर्दा झण्डै रु डेढ करोड सङ्कलन भयो । रकम सङ्कलन हुँदै गएपछि शेर्पाको मन फाउण्डेशन स्थापनार्फ मोडियो । श्रीमती र छोरीको साथले उनले हिमालयन शेर्पा फाउण्डेशन स्थापना गरे । योसँगै शेर्पाले फाक्दिङमा भएको १५ रोपनी जग्गाा फाउण्डेशनका नाममा जोडे । त्यहीँ जग्गामा अस्पताल निर्माण गरिएको छ ।
सगरमाथा पदमार्गको लुक्ला र नाम्चेमा अस्पताल छ । तर ती दुवै अस्पताल सुविधा सम्पन्न भने छैन । जटिल रोगका बिरामीले उपचार गर्न सक्ने अवस्था छैन । उपचारका लागि उनीहरु हेलिकोप्टर चार्टर गरी काठमाडौँँ नै फर्किनुपर्ने अवस्था छ । “नेपाल घुम्न आउने पर्यटक बढीजसो मध्यम आर्थिक अवस्थाका हुन्छन्”, शेर्पा भन्छन्, “धेरै पैसा खर्च गर्न र पदयात्रामा ज्यानको जोखिम मोल्न उनीहरु चाहँदैनन् ।” स्थानीय र आन्तरिक पर्यटकलाई त हेलिकोप्टर चार्टर गरेर उपचार गर्न असम्भव जस्तै छ ।
“जेनतेन जोगाएको पैसोका भरमा घुम्न आइन्छ, हेलिकोप्टर चढेर उपचार गराउन काठमाडौँ जाने कुरा त कल्पना गर्नै सकिन्न”, लुक्लामा भेटिनुभएका जुम्लाका पदयात्री टङ्क महत भने, “अरु सबै कुरा ठीक छ, बिरामी परे उपचार गराउन धेरै समस्या रहेछ ।” पदमार्गमा सामान्य औषधिसमेत पाउन नसकेको उहाँको गुनासो छ । सगरमाथा क्षेत्रमा पर्यटक भित्र्याउन सबैभन्दा पहिला सुविधासम्पन्न अस्पताल आवश्यक भएको महतको भनाइ छ ।
लुक्लादेखि फाकदिङ पुग्न पैदल चार घण्टा लाग्छ । बिरामीलाई लुक्ला अस्पताल पुग्न सातदेखि आठ घण्टासम्म लाग्छ । “उपचार गराउन लुक्ला गएका बिरामी बाटोमै मरेका धेरै घट्ना छन्”, हिमालयन शेर्पा फाउन्डेसनकी उपाध्यक्ष कान्छी फुटी शेर्पाले भने । डोकोमा बोकेर अस्पताल लैजानुपर्ने उनी बताउँछन् ।
खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा ११ गाउँ छन् । गाउँँका सबैजसो पुरुष टेकिङमा जान्छन् । उनीहरु कोही भरिया, कतिपय गाइडको काम गर्छन् । महिला र बालबालिका घरमै हुन्छन् । बालबालिका बिरामी भए महिला आफैँले बोकेर अस्पताल लैजान्छन् । लुक्लाबाहेक उनीहरु उपचार गर्न जाने ठाउँ नाम्चे हो । त्यहाँ पनि उपचार गराउन सात आठ घण्टा हिँड्नुपर्छ । “सुत्केरीलाई उपचार गराउन बढी दुःख छ”, शेर्पा भने, “हेलिकप्टर चढेर अन्यत्र लैजान आर्थिक अभावले सम्भव नै हुन्न ।”
यहाँँको मुख्य खाना भनेको आलु र भात नै हो । अधिकांश मधुमेह, हृदयघात र रक्तचापबाट पीडित छन् । “बिरामी स्वास्थ्य जचाउन खाली पेट जानुपर्छ, यसरी घण्टौं हिंडेर जाँदा बाटोमै ज्यान जाने जोखिम हुन्छ”, उनले भने । यहाँका बासिन्दा सामान्य रोग लाग्दा सहेरै घरमा बस्न बाध्य हुन्छन् । हिमालयन शेर्पा अस्पतालले हाल १५ शैयाको लागि मात्र अनुमति पाएको छ । भविष्यमा शैया थप्ने योजना रहेको सञ्चालक शेर्पा बताउँछन् ।
रासस