राष्ट्रिय बाल नाटक मेला २०७९ शुरु

बालबालिकाहरुमा नाट्य चेतनाको विकासका लागि नाट्यकर्मी महासंघ नेपालको आयोजनामा राष्ट्रिय बाल नाटक मेला २०७९ शुरु भएको छ।

मेलाको समुदघाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मेला आयोजना गरेर महासंघले नेपाली नाट्य क्षेत्रको विकासका लागि उल्लेखनीय कार्य गरेको बताएका छन्। उनले महासंघको आगामी दिनहरुमा सजिलो काममा आफू पछि पछि रहने हरेक अप्ठेरो काममा अघि अघि रहेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

महासंघका अध्यक्ष राजेन्द्र रिमालले बाल नाटकको माध्यमबाट एकातिर नाट्य गतिविधिलाई चलायमान बनाउने प्रयास हो भने अर्कातिर बाल सिकाईको प्रभावकारिता एवम् बाल व्यक्तित्व विकासमा सहयोग पुग्ने बताए । त्यसैगरि विद्यालय स्तरमा नै बाल नाटकको गतिविधिहरुले भविष्यमा कुशल कलाकारहरु र असल र रुचिसम्पन्न दर्शकहरुको पनि निर्माण हुने बताए।

राष्ट्रिय नाचघरको मिनी थिएटरमा एक साता सम्म चल्ने मेलामा ११ वटा नाटक प्रतियोगितात्मक रुपमा मञ्चन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सर्वोत्कृष्ट नाटकलाई नगद एक लाख सहित विभिन्न २० वटा विधाहरुमा पुरस्कार दिईने घोषणा गरिएको छ।

नाटक मेलाको मुख्य निर्णायकका रुपमा वरिष्ठ रंगकर्मी, कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभ र निर्णायकहरुमा प्रथम नायिका भुवन चन्द र रंगकर्मी शेखर चापागाईँ रहेका छन्।

कार्यक्रममा बोल्दै चीनको संस्कृति मन्त्रालयको पहलमा स्थापित सिल्क रोड ईन्टरनेशनल लिग अफ थिएटरका संस्थापक सदस्य तथा युनेस्कोकर्मी दीपक सरकारले कार्यक्रम आयोजना गर्नु आफैमा गाह्रो काम भएको बताउँदै बालबालिकाको क्षेत्रमा यस्तो काम हुनु महत्वपूर्ण रहेको बताए । उनले विद्यालयले नाटकलगायत अभौतिक संस्कृति संरक्षणको क्षेत्रमा महत्वपूर्ण काम गर्न सक्ने भन्दै आफुहरु विद्यालयहरुसँग सहकार्य गर्न उत्साहित रहेको बताए।

मेलाको संयुक्त आयोजक प्याब्सनका अध्यक्ष डि.के. ढुंगानाले नाट्यकर्मी महासंघले परिकल्पना गरी आयोजना गरिएको यस नाट्य अभियानलाई आगामी वर्ष देशैभरि सातै प्रदेशमा आयोजना गर्न सहयोग रहने बताए। त्यस्तै अर्का संयुक्त आयोजक साँस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले राष्ट्रिय बाल नाटक मेला तथा महासंघको अन्य कार्यक्रमहरुमा पनि संस्थानको तर्फबाट हुन सक्ने सबै सहयोग रहने प्रतिबद्धता जनाए।

समुदघाटन समारोहमा पुरातत्वविद भेषनारायण दाहाल तथा रंगकर्मी विजय विस्फोटले पनि मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन महासंघका सचिव जेबी डिसीले गरेका थिए।





Comments

comments

68209