Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अपडेटः ताप्लेजुङ पहिरोमा कम्तीमा ५५ को मृत्यु्

ताप्लेजुङ, भारी वर्षासँगै बुधबार राति गएको पहिरोमा परी ताप्लेजुङका पाँच गाविसमा कम्तीमा ५५ जनाको मृत्यु भएको छ। पहिरोमा एक दर्जन मानिस बेपत्ता छन्। स्थानीयका अनुसार पहिरोमा परी लिवाङ गाविसमा मात्र २६ जनाको मृत्यु भएको छ। यस्तै, सान्थाक्रामा १२, खोक्लिङमा ९, थिङ्लाबुमा ५ र लिङ्तेपमा ३ जनाको ज्यान गएको छ। प्रहरीले भने अहिलेसम्म २१ जनाको मृत्यु पुष्टि भएको जनाएको छ।

लिवाङ–१ मा १२, २ मा ८, ३ मा ४ तथा ४ र ६ नम्बर वडामा एक–एक जनाको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्। वडा नं १ का सञ्चहाङ फेम्सोहाङको घरमा एकै परिवारका ९ सहित १० जनाको मृत्यु भएको छ। सान्थाक्रा गाविसमा १२, खोक्लिङ गाविसमा ९, थिङ्लाबुको याक्पेलीमा ५ र लिङ्तेपमा ३ जनाको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्। बढी मानवीय क्षति भएको लिवाङ गाविस सदरमुकामबाट करिब ६ घन्टाको पैदल दुरीमा छ।

७ जनालाई पहिरोले बगाएको र एकाघरका आमाछोराको भाग्ने क्रममा थुम्माखोलामाथिको फड्केबाट खस्दा मृत्यु भएको स्थानीय शिक्षक ऐश्वर्यराज थापाले जानकारी दिए। सान्थाक्रामा भेटिएको १२ वटै शव सनाखत नभएको स्थानीय तेजकुमार चोङबाङले बताए।

प्रहरीले भने २१ जनाको शव भेटिएको र ३७ जना बेपत्ता रहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी शान्तिराज कोइरालाले प्रहरी टोली सबैतिर पुगिनसकेकाले यकिन विवरण आइनसकेको बताए। लगातारको दर्के पानीका कारण ती गाविसका दर्जनौं ठाउँमा मध्यरातका बेला पहिरो जाँदा धेरै मानवीय क्षति भएको स्थानीयले जनाएका छन्। त्यस क्षेत्रमा साँझ ६ बजेदेखि पानी परेको थियो।

‘राति सुतेका बेला पहिरो गएकाले कोही भाग्न पाएनन्,’ लिवाङ गाविसका हेम लिवाङले बताए, ‘माथिबाट ठूल्ठूला पहरा खसेर ठाउँ–ठाउँमा पहिरो गएको छ।’ उनका अनुसार पानी परिरहेकाले अलिअलि पहिरो जाने क्रम बिहीबार अबेरसम्म पनि चलिरहेको समाचार नागरिक दैनिकमा छापिएको छ। पहिरोमा परेकाको खोजी र उद्धारमा स्थानीय आफैं जुटेका थिए। सदरमुकामबाट खटिएको प्रहरी टोली भने खोक्लिङ र लिवाङमा मात्र पुगेको छ। मौसम खराबीले पहिरोग्रस्त अन्य क्षेत्रमा पुग्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरोमा घाइते १० जनालाई नेपाली सेनाको हेलिकप्टरबाट जिल्ला अस्पताल, ताप्लेजुङ ल्याइएको छ। घाइते धेरैजसोको अवस्था गम्भीर रहेको र अधिकांशको टाउको, हातखुट्टा र विभिन्न भागमा गम्भीर चोट रहेको जिल्ला अस्पतालका चिकित्सक कुमुद भट्टराईले जानकारी दिएका छन्।
यस्तै, पहिरोले तमोर तथा मेवाखोला आसपासका बस्ती जोखिममा परेका छन्। खोलाछेउका बस्ती बगाउँदा ८ घर रहेको रामदुवाली बजार बगरमा परिणत भएको छ भने त्यहाँका बासिन्दा सम्पर्कविहीन छन्।

तमोर र मेवाखोला बीचमा रहेको दोभानबजार संकटमा परेपछि त्यहाँका करिब सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। दोभान इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद फागोले पानी पर्ने क्रम नरोकिएकाले खोला र नदीआसपास क्षेत्रका बासिन्दालाई थप जोखिम हुन नदिन सुरक्षित स्थानमा सर्न आग्रह गरिएको जानकारी दिए।

निरन्तर वर्षा र कुहिरोका बीच बिहीबार मध्याह्न राजधानीबाट आएको नेपाली सेनाको हेलिकप्टरले लिवाङ र लिङ्तेपका १० जनालाई जिल्ला अस्पताल ल्याएको थियो। मौसममा देखिएको परिवर्तन र झरीका कारण भनेजस्तो गरी उद्धार गर्न कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले बताए। उनले मौसममा सुधार हुनेबित्तिकै थप उद्धार थालिने जनाए।

पहिरोले पैदल मार्गसमेत अवरुद्ध पारेकाले उद्धारका लागि हिँडेका नेपाली सेनाका दुई, सशस्त्रका दुई र नेपाल प्रहरीका चार प्रहरी टोली अबेरसम्म पनि पहिरोग्रस्त सबै क्षेत्र पुग्न सकेको छैन। परिचालित टोलीले नयाँ बाटो बनाउँदै उद्धारका लागि यथाशक्य पहल गर्ने प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए।





Comments

comments

Leave a Reply

6925