Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लन्डनमा भानुजयन्ती, पदक सुशोभन तथा स्वागत अभिनन्दन

कोमल प्रसाद श्रेष्ठ / एचकेनेपाफ डट कम –
जहाँ नपुगे रवी त्यहीँ पुगे कवि भने झैँ लन्डनमा रहेका नेपाली कवि साहित्यकारहरूलाई पनि नेपालमा गएको भूकम्पको विपत्तिले मर्मान्त पारेको छ र उनीहरू कहिले राहतका लागि मन् खोलेर आर्थिक सहयोगमा जुटी रहेका छन् भने कहिले विपत्तिका वेदना कवितामा उतारिरहेकाछन्।

यस्तै मर्मान्त कविताहरू प्रस्तुत गरिए सहभागी कविहरूबाट यही २८ जुन शनिवारका दिन ए बी आई कलेज एक्टन, लन्डनमा आयोजित नेपाली साहित्य विकास परिषद यूकेको एक साहित्यिक कार्यक्रममा आषाढ २९ भन्दा झन्डै दुई हप्ता अगाडि मनाउन आयोजना गरिएको २०१औँ आदिकवि भानु जयन्ती, पदक सुशोभन तथा स्वागत अभिनन्दन सम्मान् समेतको समिश्रण रहेको उक्त साहित्यिक कार्यक्रममा कविता वाचन गर्ने १३ जना कविहरूले भूकम्पका पीडाहरूलाई सेटेर लेखिएका आफ्ना अत्यन्त मर्मस्पर्शी कविताहरू सुनाएर श्रोताहरूलाई भावविहोल बनाए।

यसरी कविता वाचनमा भाग लिने कविहरूमा घन बहादुर थापामगर, हरिसिंह थापा, मनोज अन्जान, जगनान अधिकारी, रेशम अर्याल, डा.सुधा श्रेष्ठ,केशव पुडासैनी, खगेन्द्र नेपाली, कोमल प्रसाद श्रेष्ठ मल्ल, कृष्ण भट्ट , विमला गौतम, सुरेशजंग शाह र नेपालबाट आएका कवि वियोगी बुढाथोकी रहेका थिए।

आदि कविको तस्वीरमा मल्यार्पण र भानुभक्तिय रामायणको वाचनबाट शुभारम्भ गरिएको उक्त समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्वोधन गर्नुहुँदै परिषदका पदेन संरक्षक महामहिम कार्यवाहक राजदूत तेज बहादुर क्षत्रीले नेपाली साहित्यमा आदिकवि भानुको योगदान बारे चर्चा गर्नुहुँदै वेलायतमा बसेको भएतापनि आफ्ना भाषा साहित्यको जगेर्ना गर्ने कार्यमा लाग्नु र मातृभूमिप्रति मायाँ बोक्दै विपत्तमा आर्थिक रूपले सहयोग पुर्याउन सकृय रहनु नेपाली साहित्य विकास परिषद र सम्लग्न साहित्यकारहरूको सराहनीय कार्य भएको कुरा बताउनु भयो।

समारोहका अर्का वक्ता परिषदका वरिष्ठ सल्लाहकार तथा यती नेपाली एशेशिएसन् यूके का पूर्वअध्यक्ष डा.राघव प्रसाद धिताल ओ बी ई. ले भूकम्पको पीडा बढो मार्मिकरूपले बिभिन्न कोणबाट आफ्ना कविताहरूमा समेटेर वाचन गरिएका आजका कविताहरूले देशलाई हामी सबैको सहयोगको याचना गरी रहेकाछन् भन्नु हुँदै आदिकवि भानुले उबेला साहित्यको माध्यामबाट समाजको भावनात्मक एकता बढाएका थिए भने अहिले भूकम्पको पीडाले त्यही कुरालाई प्रतिविम्वित गरेकोछ भन्नु भयो।

यसैगरी समारोहमा वोल्नुहुँदै नेपालबाट पाल्नु भएका विशेष अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान प्रज्ञा सभाका माननीय सदस्य कवि वियोगी बुढाथोकीले वेलायतमा आउँदा पनि नेपाली साहित्यको रस स्वादन र साहित्यिक भेटघाट गर्न पाएकोमा आफूलाई गर्व लागेको कुरा चर्चा गर्नु भयो।

सभापतिको आसनबाट बोल्नुहुँदै परिषदका सँस्थापक तथा अध्यक्ष साहित्यकार सुरेशजंग शाहले नेपाली साहित्यमा आदिकविको महत्व कहिले पनि नघट्ने र प्रेरणाश्रोत वनिरहने कुरा चर्चा गर्नुहँदै नेपाली साहित्य विकास परिषद यूके का साहित्यिक गतिविधिहरू वारे प्रकास पार्नु भयो। अर्का वक्ता परिषदका निवर्तमान अध्यक्ष कवि खगेन्द्र नेपालीले परिषदका प्रयासहरू नेपाली साहित्यलाई वेलायतमा जीवन्त राख्न उन्मुख रहेका छन् भन्नु हुदै आदिकविको योगदान् वारे चर्चा गर्नुभयो।

समारोहमा माननीय प्राज्ञ सभा सदस्य कवि वियोगी बुढाथोकीलाई उहाँको साहित्यिक योगदानको कदर गर्दै परिषदद्वारा समस्त साहित्यकारहरूको तर्फबाट कर्तलध्वनीकासाथ विशिष्ट सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो। यस क्रममा सम्मानित कविका साथमा पाल्नु भएकी श्रीमती बुढाथोकीमा समेत पुष्पगुच्छा तथा उपहारद्वारा स्वागत अर्पण गरिएको थियो।

समारोहमा प्रमुख अतिथि कार्यवाहक राजदूत तेज बहादुर क्षत्रीले परिषदका वरिष्ठ सहअध्यक्ष कवि कोमल प्रसाद श्रेष्ठ मल्ल र पूर्व कार्यकारिणी सदस्य कोहिनूर श्रेष्ठ मल्लद्वारा आआफ्ना स्वर्गीय मुमा बुबाका नाममा परिषदमा स्थापित ५ तोला चाँदीको नेपाली साहित्य पुरस्कार पदक २०१५ परिषदको साहित्य श्रव्यदृष्य सम्पादन र उत्पादनमा विशिष्ट योगदान पु-याए बापत पुरस्कृत परिषदका युवा कार्यकारिणी सदस्य अभिमन्यु बैरागलाई सुशोभन गराउनु भएको थियो।

परिषदका आजीवन सदस्य तथा पूर्व सहअध्यक्ष शंकर गैरे र आजीवन सदस्य श्रीमती लक्ष्मी गैरे दुबै दम्पती सोन्ली टाउन काउन्सलरमा जित्नुभइ उपमेयर र उपमेयरेस बन्नु भएकोमा उहाँहरूलाई परिषदबाट विशिष्ट सामाजिक अभिनन्दन गरिने प्रस्ताव बरिष्ठ सहअध्यक्ष तथा पुरस्कार सम्मान सँयोजक कवि कोमल प्रसाद मल्लले समारोहमा प्रस्तुत गर्नु भएको थियो र कर्तलध्वनीकासाथ आगामी निकट कार्यक्रममा सुशोभन गर्न पारित गरिएको थियो।

परिषदका सँस्थापक तथा अध्यक्ष कवि साहित्यकार सुरेशजंग शाहको सभापतित्व र उपाध्यक्ष कवि वीरेन्द्र कुँवरको स्वागत मन्तव्य तथा महासचिव कवयत्री डा.सुधा श्रेष्ठको सन्चालन रहेको उक्त समारोहमा पूर्व अध्यक्ष कवि तथा साहित्यकार हरिसिँह थापाले भानुभक्तिय रामायणको श्लोक वाचनबाट सभा आरम्भ गर्नु भएको थियो भने सल्लाहकार युवा समाजसेवी कवि कृष्ण भट्टले उक्त रामायणको श्लोक पढेरै समारोहको समापन गर्नु भएको थियो।

समारोहमा रमाईलो जलपान तथा विविध ब्यबस्थापन् तर्फ सहयोग पुराउनु हुने परिषदका वरिष्ठ व्यक्तित्वहरू डा.राघव प्रसाद धिताल ओबीई तथा डा.जनक कुमारी धिताल, हरिसिंह थापा तथा श्रीमती देव कुमारी थापा, घन बहादुर थापामगर तथा श्रीमती कृष्ण थापामगर, कोमल प्रसाद श्रेष्ठ मल्ल तथा कोहिनूर श्रेष्ठ मल्ल, वीरेन्द्र कुँवर तथा इन्दिरा कुँवर, रेशम अर्याल तथा श्रीमती सिता अर्याल, डा.सुधा श्रेष्ठ तथा रमेश श्रेष्ठलगायत ए बी ई कलेजका प्रोप्राइटर कृष्ण भट्ट र पत्रकार एभरेष्ट गौतममा धन्यवाद ज्ञापन गरिएको थियो।





Comments

comments

Leave a Reply

7249