पशुपतिनाथ मन्दिरको परिसरमा धरानेहरुको आध्यात्मिक बगैचा निर्माण गरिने…

काठमाडौं। पशुपति क्षेत्र विकास कोषले आध्यात्मिक बगैचा बनाउन पशुपतिनाथ मन्दिर परिसरमा रहेको कम्पाउण्ड वालसहितको झण्डै एक बिगाहा जमिन काठमाडौं बस्ने धरानेहरुलाई उपलव्ध गराएको छ।

‘स्वच्छ पशुपति, सफा पशुपति’ भन्ने कार्यक्रम अन्तर्गत कोषले पशुपति क्षेत्रको ३४ वटा स्थानहरुमा सरसफाई सहित बगैचा निर्माण तथा वृक्षारोपण कार्यक्रमको लागि गत महिना आवेदन आव्हान गरेको थियो। सो आवेदनमा धरान बाहिरका धरानेको तर्फवाट पनि एउटा निवेदन दिएका थियौं परेछ भनी पहलकर्ता राजेन्द्र रिमाल खुसी व्यक्त गर्दछन्। सो बगैचा चार महिनाभित्र आफनै खर्चमा तयार गरी कोषलाई हस्तान्तरण गर्नु पर्नेछ। यस पटक १३ वटा संस्थाहरुले बगैचा बनाउने अवसर पाएकोमा जसको राम्रो हुन्छ प्रथम हुने लाई ३ लाख दोश्रोलाई २ लाख र तेश्रोलाई १ लाख पुरस्कारको व्यवस्था गरिएको कुरा कोषका प्रवक्ता रेवतरमण भण्डारी बताउंछन्।

धरानेहरुले पाएको सो स्थान गौशाला चोकदेखि पशुपतिनाथको मुख्यगेट तर्फ जाने बाटोमा पर्दछ। बलियो पर्खालले घेरिएको सो बगैचाको गेटमा सुरक्षाको लागि पर्यटक प्रहरी बस्ने घर पनि रहेको छ।

वातावरण तथा वनस्पति अभियन्ता पत्रकार आनन्द श्रेष्ठका अनुसार सो स्थानमा धरानको चारवटा मन्दिरहरुको रुप झल्कने जैविक मन्दिरहरु बनाईने छ। जैविक भन्नाले तारजालीको टोकरी बनाई त्यस भित्र बिरुवाहरु रोपिन्छ जो पछि सोही बिरुवा मन्दिरको आकारमा देखिन्छ । यसलाई टोपियारी शैली भनिन्छ । यो संसारभरि प्रसिद्ध रहेको शैली रहेको श्रेष्ठले बताए।

कार्यक्रमको संयोजन गरिरहेका राजेन्द्र रिमालका अनुसार त्यहाँ बृक्षारोपणका लागि धरानको प्रतिनिधित्व हुने गरी बुुढासुब्बा मन्दिरको बाँसको बिरुवा, पिण्डेश्वरको रुद्राक्षको बिरुवा, पञ्चकन्याको साल, दन्तकालीको सुपारी पनि रोपिने छ। त्यसका लागि धरानबाट बिरुवा ल्याउन बगैचाका परिकल्पनाकार आनन्द श्रेष्ठ धरान गएका छन्।

धरानमा सम्बन्धित मन्दिरका पुजारीबाट औपचारिक रुपमा बिरुवा लिएर शनिवार बिहान संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री सुदन किराँतीको हातबाट बगैचामा रोपण गर्न लगाउने कार्यक्रम रहेको रिमालले जानकारी गराए। यसैगरी सो बगैचाको छेउछेउमा विभिन्न प्रजातिका बाँसहरु पनि रोपिने छ । एक किसिमले सो बगैचामा आउने मान्छेले एकै ठाउँमा धेरै प्रजातिको बाँस हेर्न पाउने म्युजियम नै बनाउने परिकल्पना भएको श्रेष्ठले बताए।

कोषले सो स्थान उपलब्ध गराएकै दिन धरानका ईन्जिनियर सुमन श्रेष्ठको सर्भे टोलीले जमिनको सर्भे गरेर डिजायन कार्य थालनी गरेका छन्। काठमाडौमा धरानेहरुले गर्ने एउटा महत्वपूर्ण र गर्वलायक कामको अवसर भएकोले यसलाई सम्पूर्ण धरानेहरुले मिलेर सफल बनाउनु पर्ने धरान सरोकार समाजका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठले बताएका छन्।

सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएर आएपछि हरेक शनिवार काठमाडौका विभिन्न साँस्कृतिक सम्पदा मठमन्दिरहरुको सरसफाई अभियान संचालन गर्दै आएका छन्। उनैले यस्ता सरसफाई कार्यक्रममा स्थानीय सामाजिक संघसंस्थाहरुलाई पनि सहभागी गराउनु पर्छ भन्ने उद्देश्य राखेर यो बगैचा स्थापना तथा सरसफाई कार्यक्रम राखिएको कुरा पशुपति विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले बताए।





Comments

comments

80658