उत्तराखण्ड पहिरो अपडेट : बेपत्ता खोज्न कुकुर परिचालन

महेन्द्रनगर । चार दिनअघि भारतको उत्तराखण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र पारिएको छ । सो ठाउँमा स्थानमा नेपालीले सञ्चालन गरेका तीन होटेल पहिरोले बगाएको थियो।

सो क्रममा कालिकोटका तीन पुरुषको शव भारतीय प्रहरीले फेला पारेको थियो । कालिकोटको मान्मका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको शव भेटिएको थियो।

भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले ११ नेपाली अझै हराइरहेको जानकारी दिए । “एघार नेपाली नागरिक पहिरोमा बेपत्ता भएको यकिन भएको छ, दुई जनाबारे आशङ्का मात्रै गरिएको छ”, उनले भने– “खोजी कार्यमा आइतबारदेखि भारतीय सुरक्षाकर्मीले तालिम प्राप्त कुकुरसमेत परिचालन गरेको छ।”

दूतावासले भारतीय पक्षसित खोजी कार्यका लागि आवश्यक समन्वय र आग्रह गरिरहेको उल्लेख गर्दै वरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले खोजी कार्य तीव्र रूपमा भइरहेको जानकारी दिए । लगातार वर्षा भइरहेको र मन्दाकिनी नदीमा पानीको मात्रा बढेकाले खोजी गर्न समस्या भइरहेको उनको भनाइ छ।

बेपत्ता नेपालीको खोजीका लागि परराष्ट्र मन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसित आग्रह गर्नुभएको वरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिए । सो क्षेत्रमा लामो समयदेखि सयौँ नेपाली नागरिक घोडा चालक, होटेल व्यवसाय तथा मजदुरी गरी जीविका चलाउँदै आएका छन् । बेपत्ता भएकाहरू सबै जुम्ला घर भएकाहरू रहेको दूतावासले जनाएको छ। रासस





Comments

comments

81917