काठमाडौं, २२ भदौ। नेपालमा गम्भीर किसिमको अपराधमा संलग्न विदेशीको संख्या बढ्दै गएको छ। नौ महिनायता नेपाल सरकारले विभिन्न ३७ देशका एक सय ५४ विदेशी नागरिकलाई निष्कासन गरेको छ।
निष्कासन गरिएका धेरैजसो पर्यटक भिसामा आएका विदेशी हुन्। केही बिजनेस भिसामा आएकालाई पनि अवैध गतिविधिमा संलग्न भएको पाएपछि निष्कासन गरिएको छ।
निष्कासन गरिएकाहरू निश्चित वर्ष नेपाल आउन पाउँदैनन् । उनीहरूले गरेको अपराधअनुसार नेपाल आउन नपाउने वर्ष तोकिने गरिएको छ ।
नेपालबाट निष्कासित हुनेहरूमा सबैभन्दा धेरै चिनियाँ नागरिक छन् । चिनियाँपछि अमेरिका, जापान, उज्वेकिस्तान, अस्ट्रेलिया, बेलायत र फ्रान्सका नागरिक छन् । अध्यागमन विभागका अनुसार नौ महिनामा ५८ चिनियाँ, १५ अमेरिकी, आठ जापानी, आठ उज्वेकिस्तानी, सात अस्ट्ेरलियन, सात बेलायती र पाँचजना फ्रेन्च नागरिकलाई निष्कासन गरिएको समाचार नयाँपत्रिका दैनिकमा छ।
निष्कासन गरिएकाहरू धेरैजसो नेपालको जेल परेका व्यक्तिहरू रहेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले बताए। जसमा धेरैजसो लागुऔषको कारोबारमा संलग्न छन्। भरियाका रूपमा नेपालबाट लागुऔषध तस्करी गर्न खोज्दा धेरै पक्राउ परेका हुन् । त्यस्तै वर्षाैंसम्म अवैध रूपमा बस्दै आएका, वन्यजन्तुको कारोबारमा संलग्न तथा विदेशमा अपराध गरेर नेपालमा लुक्न आएकासमेत निष्कासनमा परेको विभागले जनाएको छ।
नेपालको सुरक्षा प्रणाली कमजोर भएको आँकलनका आधारमा विदेशी अपराधी लुक्न नेपाल प्रवेश गर्ने गरेका छन्। विदेशीहरू नेपाल आएपछि उनीहरू कहाँ के गर्छन् भन्ने नियमन गर्ने प्रणाली छैन।