गोर्खा नेपाली समाज मेडवे (बेलायत)को अध्यक्षमा भबिन साम्पाङ् राई

भूमिराज राई / एचकेनेपाल डट कम –

बेलायत। सेप्टेम्बर १० आइतबार जीएनसिएम (GNCM) गोर्खा नेपाली समाज मेडवेमा नयाँ कार्य समितिको चयन भएको छ।

मेडवेको चाथाम टाउनमा रहेको नेपाली रेस्टुरेन्ट गोर्खा ब्रदर्समा सम्पन्न भएको नयाँ कार्यसमिति चयनका लागि निर्बाचन समितिमा पूर्बअध्यक्ष तथा सल्लाहकारद्वय भिम राई र श्रीमती निना गुरुङ (हाल मेडवे काउन्सिल मेयर) र बाबु पन्त रहनु भएको थियो।

सुर्य बिक्रम राईको नेतृत्वको यस अघिको कार्यसमिति बिघटनपछि धन्यबाद दिंदै बिदाई गरे पश्चात निर्बाचन समितिले भबिन साम्पाङ् राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन प्रक्रिया पूरा गरेपछि नयाँ कार्य समितिलाई पद तथा गोपनियताको सपथ खुवाएर बधाई ज्ञापन गर्दै जिम्मेवारी हस्तान्तरण गरेको थियो।

नयाँ कार्यसमितिमा; अध्यक्ष भबिन साम्पाङ् राई, उपाध्यक्षद्वय ज्ञानेन्द्र राई र स्मृता राई, महासचिब हरित पोख्रेल, सहसचिब केशब ढकाल, कोषाध्यक्ष रोशन राई, सहकोषाध्यक्ष उत्तर पतङवा, साँस्कृतिक संयोजक श्रीमती सृजना निङ्लेकु (चर्चित भ्लगर), साँस्कृतिक सहसंयोजक चन्द्रावती राई, खेलकुद संयोजक राम काम्बाङ्, खेलकुद सह-संयोजक जोग आले, प्रोपर्टी, मिडिया, वेबमास्टर संयोजक मोहन सिं तामाङसहित महिला संयोजकमा श्रीमती उषा गुरुङ चयन हुनु भएको छ।

समाजको निबर्तमान अध्यक्ष सुर्य बिक्रम राई सल्लाहकारमा नियुक्त हुनु भएको छ।

मेडवे नेपाली समाज सानो भए पनि अत्यन्तै चर्चित र सफल नेपाली समाज मध्य अगाडि रहेको समाज हो।

पूर्ब अध्यक्ष श्रीमती निना गुरुङ अहिले मेडवे काउन्सिलको मेयर (नेपाली मूलकी युकेको पहिलो महिला मेयर) बनेर समग्र गोर्खा र नेपालीहरुकै उदाहरण बन्दै लोकप्रिय मेयरको छबि बनाई रहनु भएको उदाहरण छ।

मेडवे नेपाली समाजले नेपालमा बिभिन्न आर्थिक र भौतिक सहयोग निरन्तर गर्दै उल्लेख्य योगदान पुर्याउँदै आईरहेको छ भने युक्रेन युद्दले आक्रान्त बनिरहेको बेला सकेको आर्थिक सहयोग संकलन गरेर सहयोग पुर्याउन सफल रहेको छ।

मेडवे चर्चित गीतकार, कबि, लेखक र चर्चित युट्युबरहरुको बासस्थान भएकाले पनि यसै परिचित हो, यहाँको ऐतिहाँसिक र प्राकृतिक सौन्दर्यको कुरै नगरौं!

को हुन् भबिन साम्पाङ् राई?

खोटांगमा जन्मिएका भबिन साम्पाङ् राईको अफिसियल नाम भुपेन्द्रजंग राना साम्पाङ् राई हो। १९९९ सालमा ब्रिटिश सेनामा भर्ति भएर युके आउनु भएका साम्पाङ् सेवा निवृत्त पश्चात श्रीमती र एक छोरासहित जिलिंघाम टाउनमा बस्दै आउनु भएको छ।

पदीय लोलुपता भन्दा बढी सामाजिक सेवाका लागि धेरै संस्थामा बिभिन्न पदमा रहेर समाजको सेवामा समर्पित भबिन अहिले पनि खोटांग सेवा समाज युकेको उपाध्यक्ष, रावाखोला सेरोफेरो युके, किरात राई यायोख्खा युके प्राकास मेडवे, किरात साम्पाङ् जुम्लेखा युकेलगायत आधा दर्जन बढी संघ संस्था र समाजमा आबद्द भएर समाज सेवा गरिरहनु भएको छ।

धेरै पटक आर्थिक सहयोग संकलन गरेर आर्थिक विपन्नताका कारण उपचार रोकिएका बिरामीको सफल उपचारदेखि, बाढी पहिरो प्राकृतिक बिपत्ति अनि कोरोना कालमासमेत आर्थिक संकलन गरेर नेपालका बिभिन्न ठाउँमा खाना र नानाको समेत सहयोग पुर्याई रहनु भएको छ।

खोटांग समाज युकेले खोटांग जिल्लामा ७ वटा एम्बुलेन्स प्रदान गर्दा चालक दललाई तालिम दिनसमेत आफ्नो समय र खर्चमा युकेबाट नेपाल गएर अमूल्य योगदान दिनु भएको थियो।

स्नात्तकोत्तर सम्मको अध्ययन पूरा गर्नु भएका भबिन साम्पाङ् राईले अफगानिस्तान, ब्रुनाई, अधिकांश युरोपका देश, अमेरिका, क्यानडा, एसियाका धेरै देशहरुको भ्रमणसहित लामो समय सैन्य पेशाको अनुभब रहेको छ।

गोर्खा नेपाली समाज मेडवेमा आफ्नो कार्यकालमा नेपाली समाजको लागि अति आवश्यक सामुदायिक भवनको जोहो गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको र प्राबिधिक रुपमा अहिले समाजको पूर्ब अध्यक्ष हाल मेडवे काउन्सिलको मेयर रहनु भएको अवसरमा पहल गरे साथै स्थानीय दाजुभाइ दिदीबहिनिहरुको साथ र सहयोग अनि प्रभुको कृपा रहे सोंचे अनुसारको कार्यमा सफल हुनेमा आफू बिश्वस्त रहेको बताउँदै सबैले होस्टेमा हैंसे गरेर अघि बढ्न अनुरोध गर्नु भएको छ।

सफल कार्यकालको निमित्त हार्दिक बधाई अनि शुभकामना!





Comments

comments

84345