एसियाली खेलकुदमा नेपाललाई करातेमा ऐतिहासिक रजत पदक, एरिका गुरुङ करातेमा पदक जित्ने पहिलो नेपाली खेलाडी…

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ। शनिवार सम्पन्न फाइनल खेलमा नेपालकी कराते खेलाडी एरिका गुरुङ पराजित भएसँगै नेपालले रजत पदकमा चित्त बुझाउनु परेको हो।

एरिका गुरुङ

महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित ३–० अङ्कले पराजित भएकी हुन् । नेपाललाई करातेमा एसियाली खेलकुदमा रजत पदक दिलाउने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन्।

यसअघि आजै सम्पन्न सेमिफाइनलमा गुरुङले हङकङकी यान काई होलाई पराजित गरेकी थिइन् । गुरुङले यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् । आजै भएको क्वाटरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन्।

दुवैबीचको खेल १–१ अङ्कको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अङ्क जोडेको) आधारमा विजयी भएकी थिइन् । योसँगै नेपालले जारी १९औँ एसियाली खेलकुदमा दोस्रो पदक प्राप्त गरेको छ । यसअघि नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो।

रासस





Comments

comments

86308