कांग्रेसको मुख्यालयमा ओलीलाई देउवाको स्वागत

काठमाडौं। नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (एमाले)का शीर्ष नेताहरु सहभागी भएका छन्। नेताहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवाले स्वागत गरेका थिए।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी सो कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्‍वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरु प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्‍वकर्मा र विष्णु रिमाललगायतका नेता सहभागी भएका हुन्।

सो अवसरमा मुलुकमा भइरहेका विभिन्‍न घटनाक्रमलाई लिएर राजनीतिक दलहरुप्रति प्रश्‍न उठिरहेको भन्‍ने सञ्‍चारकर्मीको जिज्ञासामा अध्यक्ष ओलीले भने, ‘हामीमाथि प्रश्‍न उठेको होइन, उठाउने कोशिस गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढंगले दिइनेछ।’

सोही प्रश्‍नको जवाफमा कांग्रेस सभापति देउवाले भने, ‘प्रश्‍न उठ्दै गर्छन्। उचित समयमा जवाफ दिन्छौं।’

कांग्रेसले बडादसैं, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको हो। कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्री, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्‍न क्षेत्रका प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ। बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो।

रासस





Comments

comments

88160