इन्काउन्टरले सातो लिएपछि अरु गुन्डानाइकेहरु के गर्दैछन्?

गत वर्ष दिनेश अधिकारी चरी इन्काउन्टरपछि नै गुन्डाहरूको सातो गएको थियो। केही समयपछि राजनीतिक आवरणमा फेरि सक्रिय हुन थालेका उनीहरू घैँटे मारिएपछि भने बेस्सरी तर्सिएका छन्।


कुमार घैंटे

तैपनि टोले गुन्डाहरूले वेलावेला व्यवसायीलाई दु:ख दिँदै आएका छन् । त्यस्ता समूहलाई पनि पक्राउ गर्दै कारबाही हुँदै आएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले बताए । ‘सुरुमा पक्राउ गरेर कारबाही गर्दै आएका छौँ, छुटेपछि पनि सुध्रिएनन् भने प्रहरीले त्यही रूपमा एक्सन लिन्छ,’ एसएसपी थापाले भने। गुन्डागर्दीसम्बन्धी कानुन नभएकाले गुन्डाहरू पक्राउ परेलगत्तै छुट्ने गरेका छन्। अदालतले गुन्डाहरूलाई छाड्न थालेपछि प्रहरीले पनि गोली हान्न थालेको थियो। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

प्रहरीले आक्रामक कारबाही थालेपछि गुन्डागर्दीलाई व्यवसाय बनाएकाहरूले पेसा बदलेका छन्। गुन्डानाइकेमध्ये केही जेलमा छन् भने जेलबाहिर रहेकाहरू व्यवसाय र राजनीतिमा लागेका छन्। रमेश बाहुन भनिने सुजन पौडेल र अभिषेक गिरी जेलमा छन्। पौडेल लागुऔषध र हातहतियार मुद्दा तथा गिरी अपहरण मुद्दामा जेल परेका हुन्।

धादिङका राधे भण्डारी, भक्तपुरका सगुन श्रेष्ठ, घैँटेकै समूहका साजन गुरुङ, राज तामाङ, पञ्चे तामाङलगायत जेलमा छन्। अर्का डन गणेश लामा अपहरण मुद्दामै फरार छन्। लेनदेन विवादमा लामाले ललितपुरका एक सर्वसाधारणलाई आफ्नो घरमा बन्धक बनाई कागज गराएको उजुरी परेपछि ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

दीपक मनाङे ठमेल क्षेत्रकै व्यवसायमा छन्। चक्रपथ क्षेत्रका पुराना गुन्डानाइके चक्रे मिलन भनिने मिलन गुरुङको भने वेला–वेला उजुरी आउने गरेको छ। उनका सहयोगीहरूले स्थानीयलाई धम्क्याउने गरेका छन्। राजु गोर्खाली रेस्टुरेन्ट र अस्पतालको व्यवसायमा आबद्ध भएका छन्।

ललितपुरका मीनकृष्ण महर्जन, समीर केसीलगायत पनि ठेक्कापट्टा र राजनीतिमा लागेका छन् । रोज राणा फिल्म क्षेत्रमा लागेका छन् । कलंकी क्षेत्रका विश्वक्रान्ति सिंह ६ महिनाअघि दरबारमार्गमा झगडा गर्दा पक्राउ परेका थिए । स्वयम्भूका बाघे, बालाजु क्षेत्रका माइला लामालगायत पनि प्रहरी निगरानीमा छन्। सामाखुसी क्षेत्रका साजन महर्जनलाई प्रहरीले तीन महिनाअघि पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको थियो। प्रहरीले पक्राउ गर्दा गोली नहान्न भन्दै उनी रोएका थिए।

काभ्रेली समूहका दावा लामा लागुऔषध मुद्दामा सफाइ पाएर गत महिना छुटेका छन्। काभ्रेली समूह नै लागेर उनलाई छुटाएको थियो। लागुऔषध, ज्यान मार्ने उद्योग तथा अपहरणजस्ता मुद्दामा अदालतले उनलाई सफाइ दिएपछि प्रहरीसमेत चकित भएको थियो। काभ्रेली समूह राजनीतिक संरक्षणमा टेन्डरको गतिविधिमा सक्रिय रहेको सूचना प्रहरीसँग छ। विष्णु लामा, सञ्जीव स्याललगायत पनि खुलेर हिँड्न सकेका छैनन्।





Comments

comments

Leave a Reply

10555