दुई सय वेबसाइट ह्याक गर्ने नेपाली किशोर पक्राउ

सरकारी कार्यालयहरूको वेबसाइट ह्याक गर्ने १८ वर्षीय विकास पौडेल पक्राउ परेका छन्।

तनहुँ घर भई बालाजु बस्ने उनी सिद्धार्थ वनस्थली क्याम्पसमा ११ कक्षाका विद्यार्थी हुन्।

राष्ट्रिय क्षयरोग केन्द्र र घरेलु तथा साना उद्योग विभागलगायत सरकारी कार्यालयको वेबसाइट ह्याक गरेको आरोपमा प्रहरीले पौडेललाई सोमबार पक्राउ गरेको खबर नयाँपत्रिका दैनिकमा छापिएको छ।

उनले दुई सयभन्दा धेरै साइट ह्याक गरिसकेको बताएका छन्।

सरकारी कार्यालयहरूको वेबसाइट एकपछि अर्काे गर्दै ह्याक भएपछि अन्तर्राष्ट्रिय ह्याकर सक्रिय रहेको प्रहरी अनुमान थियो। तर, अनुसन्धानका क्रममा पौडेलले क्षयरोग केन्द्र, घरेलु, दुग्ध विकास संस्थान, दूरसञ्चार प्राधिकरणलगायत सरकारी निकायको वेबसाइट ह्याक गरेको खुलेको थियो।

विदेशी ह्याकरबाट आफू प्रभावित भएर ह्याक गर्ने प्रयास गरेको र सफल भएको उनले बताएका छन्।

आफू सफल भएपछि रमाइलोका लागि थप वेबसाइट ह्याक गरेको उनले प्रहरीलाई बयान दिएका छन्।

प्रहरीले पौडेलविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाएको छ। सो ऐनमा ह्याक गर्नेलाई तीन वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था छ।





Comments

comments

Leave a Reply

11727