कर नतिर्नेलाई एक ट्याक्टर फोहोर उपहार

वीरगन्ज, वीरगन्ज उपमहानगरपालिकाले कर नतिर्ने करदातालाई उपहार पठाउन थालेको छ । उपमहानगरपालिकाले कर नतिर्ने करदातालाई फोहोर उपहार पठाउन थालेको हो।

वर्षौदेखि उपमहानगरपालिकाको घरजग्गालगायतका कर बक्यौता राख्ने ठूला करदाताको गेट अगाडि फोहोर थुपारेर साङ्केतिक विरोधको अभियान उपमहानगरपालिकाले थालेको हो।

सोही क्रममा बुधबार वीरगन्जको श्रीपुरमा रहेको कृषि सामाग्री कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालयको मूल गेटमै नगरक्षेत्रबाट सङ्कलन गरिएको एक ट्याक्टर फोहोर थुपारेर उपमहानगरपालिकाले अभियानको सुरुवात गरेको छ।

२०५२ सालदेखि कृषि सामाग्री कम्पनी लिमिटेडले उपमहानगरपालिकाको घरजग्गा कर र एकीकृत सम्पत्ति करबापतको रु ९१ लाख ३६ हजार ४५ बक्योता राखेको र पटक–पटक ताकेता गर्दासमेत तीर्न नमानेपछि कम्पनीको मूल गेटमा उपहार लेखिएको सूचनासहित एक ट्याक्टर फोहोर थुपारिएको उपमहानगरपालिका कार्यालयले जनाएको छ।

मूलगेटमै फोहोर थुपारिदिएका कारण कार्यालयको काममा असर परेको कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख राजेन्द्रबहादुर कार्कीले बताए।

कर तीर्न आफूले माथिल्लो निकायमा पटक पटक ताकेता गरिरहेको बताउँदै कार्कीले यसबारेमा आवश्यक प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए।

वीरगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले उपमहानगरपालिकामा रहेका ठूला करदाताले वर्षौदेखि कर नबुझाएको र पटक पटक ताकेदा गर्दा समेत अटेर गरी बसेकाले साङ्केतिक विरोधस्वरुप करदाताको गेटमा फोहोर उपहार पठाएको जानकारी दिए।

वर्षौदेखि कर बक्यौता राखेका र दिन अटेर गरिरहेका सरकारी, गैरसरकारी, औद्योगिकघरानालाई समेत चाँडै कर नतिरे फोहोर उपहार पठाउने तयारीमा कार्यालय रहेको अधिकृत कोइरालाले बताए। (रासस)





Comments

comments

Leave a Reply

12123