चलेका अभिनेत्री घरजमतिर लागेपछि…

काठमाडौं–फिल्म त बनाउने, तर हिरो–हिरोइन, कसलाई लिने ? अधिकांश निर्माता, निर्देशकहरू हैरान हुने गरेका छन् । फिल्म निर्माणको क्रम आकासिँदै जानाले चल्तीमा रहेका कलाकारको व्यस्तता पनि उत्तिकै बढिरहेको छ । अझ तीमध्येका कलाकार विदेशमा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन जाँदा सुटिङसमेत प्रभावित हुने गरेको छ । प्रमुख अभिनेताभन्दा पनि बढी अभिनेत्रीको अभाव महसुस हुने गरेको छ ।

चल्तीमा रहेका कतिपय हिरोइनले घरजम गरेर गृहस्थी बनेकाले पनि कसलाई हिरोइन लिने भनेर तनाव हुने गरेको छ । एक समय चल्तीमा रहेका अरुणिमा लम्साल र ऋचा घिमिरे बिहे गरेको केही वर्षपछि पतिसहित अमेरिका उडे । अरुणिमा पति र नाबालिका छोरीसहित अमेरिका उडिन् । निर्देशक पति शंकर र एक छोराका साथ अमेरिका उडेकी ऋचाले त्यहाँ पुगेर थप एक छोरा र हालै एक छोरी जन्माइसकेकी छिन् । कुल तीन सन्तानकी आमा ऋचाको तत्काल स्वदेश फर्कने योजना छैन ।

अरुणिमा र ऋचाभन्दा निकैअघि अमेरिका उडेकी जल शाहले त्यतै घरजम गरिन् । स्वदेशमा फिल्म पाइरहेका वेलामा अमेरिका उडेकी जल वेला–वेलामा स्वदेश आउने गरेकी छिन् । एक समयकी चर्चित अभिनेत्री कृष्टि मैनाली मात्रै होइन, सज्जा मैनाली, पूजा चन्द, सारंगा श्रेष्ठ, युना उप्रेती, रञ्जना शर्मालगायत अभिनेत्रीहरू पनि अमेरिकामै रमाइरहेका छन् ।

पहिला चर्चामा थिइन्, विपना थापा । थुप्रै फिल्ममा कुशल अभिनय गरेका कारण दर्शकले उनलाई सम्झने गर्छन् । उनले ‘वरमाला’ नामक फिल्मका निर्माता भारतीय नागरिक आशुतोष भारद्धाजसँग बिहे गरिन् । भारतको मथुरा बस्दै आएकी विपना वेला–वेलामा काठमाडौं आउने गरेकी छिन् । तर, फिल्म अभिनयबाट भने उनी टाढै छिन् ।

सकभर अमेरिका ताक्ने, नभए विदेशी नागरिक तथा एनआरएनसँग लगनगाँठो कसेर ‘भविष्य सुरक्षित’ पारेका अभिनेत्रीहरू पनि थुपै्र छन् । ‘झोला’ फिल्मबाट कुशल अभिनेत्रीका रूपमा चर्चा कमाएकी गरिमा पन्तले पनि एनआरएन पति रोजिन् । केही समयअघि मात्रै उनले आफूले बिहे गरेको कुरा सार्वजनिक गरिन् । बिपी कोइरालाको चर्चित कृति ‘तीन घुम्ती’मा बनेको ‘तीन घुम्ती’ फिल्ममा इन्द्रमायाको चरित्र निर्वाह गरेकी गरिमाको अभिनयको तारिफ हुने गरेको छ । भर्खरै वैवाहिक जीवन सुरु गरेकाले उनी तत्कालै अभिनयमा फर्कने सम्भावना भने न्यून नै छ ।

पूर्वमिस नेपाल झरना बज्राचार्य जति म्युजिक भिडियोमा सफल थिइन्, त्यसको दाँजोमा उनी फिल्म अभिनयमा सफल भइनन् । उनले अभिनय गरेका कुनै फिल्मले पनि सफलताको दरिलो स्वाद चाख्न पाएनन् । अन्तत: उनले पनि घरजमको बाटो रोजिन् । ‘सेफ ल्यान्डिङ’ नामक फिल्मका सहनिर्माता तथा मलेसियन व्यापारी राहुल अग्रवालसँग गत वर्ष बिहे गरेकी उनी पुन: फिल्म अभिनयमा फर्कने सम्भावना न्यून नै छ ।

‘माझी दाइ’, ‘अध्याय’लगायतका फिल्मकी अभिनेत्री तथा मोडल सिम्पल खनालले पनि बिहेको बाटो रोजिन् । म्युजिक भिडियो तथा फिल्म निर्देशक प्रसन्न पौडेलसँगको लामो समयको प्रेमसम्बन्ध तोडेकी सिम्पलले गत वर्षको पुसमा बेलायत निवासी भारतीय मूलका व्यापारी नदिमसँग प्रेमविवाह गरेकी हुन् । पतिका साथ बेलायतमा बस्दै आएकी उनी पनि तत्काल अभिनयमा फर्कने स्थिति देखिँदैन ।





Comments

comments

Leave a Reply

13212