गच्छदारलाई सरकारमा नलगिने, प्रचण्ड नयाँ अनुहार छान्दै

कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चालाई विश्वासमा लिनकै लागि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई सरकारमा नलिने भएका छन् ।

गच्छदार नेतृत्वको पार्टीलाई सरकारमा ल्याउँदा मधेसी मोर्चा भड्कन सक्ने भएकाले कांग्रेस–माओवादीले राप्रपा र केही साना दललाई मात्र समेटेर सरकार निर्माण गर्ने गृहकार्य थालेका हुन् । फोरम लोकतान्त्रिकले अन्तिम घडीमा केपी ओली नेतृत्वको सरकार छाडेको थियो ।

कांग्रेस–माओवादीसँग केही दिनअघि सिंहदरबारमा बसेको बैठकमा गच्छदारलाई सरकारमा लैजान नहुने सर्त मधेसी मोर्चाका नेताहरूले राखेका थिए । प्रधानमन्त्री ओलीविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि आइतबारको छलफलमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले गच्छदारलाई ‘मुसा प्रवृत्ति’ को संज्ञा दिँदै सरकारमा नल्याउन चेतावनी दिएका थिए ।

प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावमा समर्थन जनाउनेमा कांग्रेस र माओवादीसहित १६ दल छन्, जसमा मोर्चा सम्मिलित सात दल छन् । कांग्रेस र माओवादीको प्राथमिकता मधेसी मोर्चालाई नै सरकारमा ल्याउनेमा छ । सुरुकै चरणमा मोर्चा सहभागी नभए पनि पछि आउने विश्वास उनीहरूको छ ।

प्रचण्ड नयाँ अनुहार छान्दै
माओवादी केन्द्रका अध्यक्ष एवं प्रस्तावित प्रधानमन्त्री प्रचण्डले पनि पार्टीभित्र मन्त्रीहरू छान्न थालेका छन् । दाहाल तत्कालीन ओली नेतृत्वको सरकारमा मन्त्री भएकाहरूलाई नपठाई यस पटक नयाँ अनुहार लैजाने तयारीमा रहेको माओवादीका एक नेताले बताए । उपप्रधानसहित अर्थमन्त्रीमा कृष्णबहादुर महरा जाने चर्चा माओवादीमा छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।





Comments

comments

Leave a Reply

13623