‘ओभरटेक’ गर्ने क्रममा पूर्वगृहमन्त्री घिमिरेले हाँकेको गाडीको दुर्घटना: छानबिन समिति…


‘ओभरटेक’ गर्ने क्रममा पूर्वगृहमन्त्री घिमिरेले हाँकेको गाडीको दुर्घटना: छानबिन समिति
काठमाडौ, २४ मंसिर। पूर्वगृहमन्त्री माधव घिमिरे सवार जिप दुर्घटना छानबिन समितिले ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको निष्कषर्सहितको प्रतिवेदन बुझाएको छ।

पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह राना संयोजकत्को टोलीले दुई महिनापछि बिहिबार उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई प्रतिवेदन बुझाएको खबर अन्नपुर्ण पोष्ट दैनिकले छापेको छ।

समितिले घटनाका प्रत्यक्षदर्शी, राजमार्ग (पोखरादेखि दुर्घटनास्थल) मा राखिएका सीसीटीभी, फुटेज, घाइतेको बयान, उद्वारकार्यमा संलग्न अधिकारी र स्थानीयको भनाइ तथा जिल्ला प्रहरी कार्यालय चितवनको अनुसन्धानलाई आधार मानेर प्रतिवेदन तयार गरेको हो।

असोज ९ मा चितवन दारेचोकस्थित घोप्टेभीरमा घिमिरे सवार बा ९ च १५३१ नम्बरको सेतो स्कोर्पियो जिप दुर्घटनामा परेको थियो । जिपमा घिमिरेका भाई, आमा चैतन्यकुमारीसहित सातजना सवार थिए।

पूर्व गृहमन्त्री माधव घिमिरेका भाइको शव भेटियो…
चितवन २२ असोज।- यही असोज ९ गते त्रिशूली नदीमा पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित बेपत्ता भएका उनका भाइ मोहन घिमिरेको शव आज फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार तनहुँ जिल्लाको देवघाट गाविस–४ बगईस्थित त्रिशूली नदीमा उनको शव भेटिएको हो।

काठमाडौँ महानगरपालिका, वडा नं १६ वनस्थली घर भएका घिमिरेको शव माझीले देखेपछि जिप्रका चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरसहितको टोली घटनास्थल पुगेको थियो।

पर्समा रहेको परिचयपत्र र एटिएम कार्डबाट शवको पहिचान भएको प्रहरीले जनाएको छ । शव भरतपुरको शवगृहमा ल्याउने काम भइरहेको छ। पूर्व मन्त्री घिमिरे र उनका अर्का भाइ बेपत्ता छन्। उनीहरुको खोजीकार्य जारी छ । सो दुर्घटनामा परी उनकी आमासहित तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने चालकको काठमाडौँमा उपचार भइरहेको छ। (रासस)


१० दिन बित्योः भेटिएनन् पूर्वगृहमन्त्री माधव घिमिरे…

काठमाडौ, १९ असोज। सरकारले त्रिशूली नदीमा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीका लागि अनुभवी गोताखोरसहित पाँच सय ६० सुरक्षाकर्मी परिचालन गरेको छ।

चितवनको दारेचोक–३ घोप्टेभीरमा ९ असोजमा जिप दुर्घटनामा परी हराइरहेका घिमिरेको खोजी तथा उद्धारका लागि सरकारले सयौँको संख्यामा सुरक्षाकर्मी परिचालन गरिरहेको खबर नयाँ पत्रिकामा छ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले घिमिरेको खोजीका लागि दुर्घटना भएको दिनयता चितवनका प्रमुख जिल्ला अधिकारी वसन्त कुँवरको संयोजकत्वमा अनुभवी गोताखोर, विभिन्न प्रविधि र उपकरणसहित परिचालन गरेको जानकारी दिएका छन् । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा गृहमन्त्री निधिले विशेष समय लिएर बोल्दै सो जानकारी गराएका हुन्।

९ असोजमा भएको दुर्घटनामा पूर्वमन्त्री घिमिरेका तीन दाजुभाइ अझै बेपत्ताकै स्थितिमा छन् । तर, परिवारका सदस्यहरूले भने कुशको शव बनाई उनीहरूको सांस्कृतिक रूपमा दाहसंस्कार गरिसकेका छन् । दुर्घटना भएकै दिन घिमिरेकी आमा लक्ष्मी घिमिरे, आफन्त नारायण काफ्ले, अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक रामचन्द्र कार्कीको शव फेला परेको थियो ।

कुशको शव बनाएर गरियो पूर्वगृहमन्त्री माधव घिमिरेको अन्त्येष्टी
काठमाडौ, १० असोज। गत आइतबार दिउँसो त्रिशूली नदीमा जिप दुर्घटनामा परेर हराइरहेका पूर्वगृहमन्त्री माधव घिमिरेको परिवारले शुक्रबार साँझ कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेका छन्।

घिमिरे दाजुभाइको पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्दा उनका आफन्त तथा आर्यघाटमा उपस्थित जनसमुदाय भावविभोर बनेका थिए । तीन दाजुभाइको लहरै चिता बनाई कुसको मानवकृति बनाएर उनीहरूको बिदाइ गरिएको थियो।

कुसल प्रशासक तथा कुशल शासकका रूपमा चिनिएका घिमिरे मुस्ताङको कागबेनीमा सोह्रश्राद्ध गरी काठमाडौं फर्कने क्रममा चितवनको दारेचोक गाविसको घोप्टेभीरमा उनले चलाइरहेको जिप दुर्घटनामा परेको थियो।

उनीसहित तीनै दाजुभाइ अझै बेपत्ता छन् । शुक्रबार दिउँसो उनीसँगै दुर्घटनामा परेकी आमाको अन्त्येष्टि गरेपछि तीन भाइको एकै पटक अन्त्येष्टि गरिएको थियो।

उनले राष्ट्रलाई पुर्‍याएको योगदानलाई राज्यले कदर गर्न नसकेको भन्दै आर्यघाटमा उपस्थित आफन्त र सर्वसाधारणले टिप्पणी गरेका थिए । उनको खोजीमा सरकारले खासै चासो नदिएको भन्दै आफन्तले उपप्रधान तथा गृहमन्त्री विमिलेन्द्र निधिको आलोचना गरेका थिए।

सरकारको रवैयाप्रति परिवारजनले समेत असन्तुष्टी जनाएका थिए। बनस्थलीस्थित घरमा सान्तवना दिन पुगेका गृहमन्त्री निधिलाई परिवारजनले खोजीकार्य प्रभावकारी नभएको भन्दै असन्तुष्टी पोखेको खबर नेपाल समाचारपत्र दैनिकले छापेको छ।

१७ घन्टापछि घिमिरेको फोनबाट फोन कल आएपछि…
काठमाडौ, १० असोज। दुर्घटनामा परी त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको मोबाइल भने लागिरहेको थियो। परिवार र उद्धारकर्मीले लगातार सम्पर्क गर्दा घन्टी गइरहेको थियो।

थप आश्चर्य ! सोमबार बिहान साढे ९ बजे घिमिरेकै नम्बरबाट चितवनका प्रहरी प्रमुख एसपी वसन्त कुँवरको मोबाइलमा फोन आयो। फोन आएपछि पूर्वगृहमन्त्रीलाई जीवितै उद्धार गर्न सकिने आशा बढ्यो। तर, उठाउन खोज्दा फोन काटियो। घिमिरेले नै फोन गरेको हुनसक्ने आशा प्रहरीको थियो। लगत्तै प्रहरी टोली खोला क्षेत्रमा गएर सर्च सुरु गर्‍यो।

दुर्घटना भएको स्थानमा सर्च गर्दा मोबाइल दुर्घटना भएको घोप्टेभीरको नदीनजिकै च्यापिएको अवस्थामा भेटियो। थिचिएर घिमिरेको मोबाइलबाट एसपी कुँवरको मोबाइलमा डायल भएको रहेछ । ‘उहाँको मोबाइलमा फोन गइरहेको थियो,’ एसपी कुँवरले भने, ‘भीरमा सर्च गर्ने क्रममा थिचिएर मोबाइलबाट मेरो मोबाइलमा डायल भएको रहेछ।’

पूर्वगृहमन्त्री घिमिरे तथा उनका दुई भाइ प्रकाश र मोहन दुर्घटनापछि बेपत्ता छन् । दुर्घटनामा परी घिमिरेकी आमा चैतत्यकुमारी, भान्जा नारायणप्रसाद काफ्ले तथा अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको मृत्यु भएको थियो । उनीहरूको शव पाखामा भेटिएको थियो । गाडीमै रहेका प्रहरी हवल्दारसमेत रहेका चालक विष्णु राई घाइते छन् । उनको उपचार भइरहेको खबर नयाँपत्रिका दैनिकमा छ।

सोह्र श्राद्धमा आमा, भाइ तथा भान्जासहित मुक्तिनाथ पुगेर बाबुको श्राद्ध गरेपछि फर्कने क्रममा घिमिरे चढेको जिप दुर्घटना भएको हो। दुर्घटनाग्रस्तस्थलमा घिमिरेको झोला तथा मोबाइल भेटिएको छ । तर, त्रिशुलीमा पानीको बहाव धेरै भएकाले केही फेला परेको छैन। सशस्त्र प्रहरी तथा नेपाली सेनाका तालिम प्राप्त प्रहरीले खोलामा सर्च अभियान जारी राखेका छन्।

पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको अवस्था अझै अज्ञात
एचकेनेपाल डट कम संवाददाता –
काठमाडौ, १० असोज। हङकङका पूर्व महावाणिज्यदूत तथा पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको अवस्था अझै अज्ञात रहेको छ।

उनी चढेको गाडी आइतवार साँझ त्रिशुली नदीमा खस्दा उनीसहित तीन भाइ बेपत्ता छन्। दुर्घटनामा उनकी आमासहित तीन जनाको मृत्यु भएको छ।

एसपी वसन्त कुँवरले राति १ बजेसम्म नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेपनि भेट्न नसकिएको जनाएका छन्। म्याग्नेटको प्रयोग गरी बेपत्ता गाडी खोजिएको भए पनि फेला पर्न सकेको छैन।

नदीमा पानीको बहाव उच्च भएकाले दुर्घटना स्थलभन्दा तल पनि खोजी कार्य जारी राखेको थियो। खोजी कार्यलाई सोमवार बिहान साढे ५ बजेदेखि पुनः थालिएको छ। रसौलीमा रहेको नेपाली सेनाको विपद् व्यवस्थापन गणको टोली पनि खोजी कार्यको लागि परिचालन गरिएको जनाइएको छ।

दुर्घटनामा बाँचेका चालकको चितवनस्थित पुरानो मेडिकलमा उपचार भइरहेको छ। मृतकहरुको आज पोष्टमार्टम गरिने जनाइएको छ।

हङकङका पूर्व महावाणिज्यदूत माधवप्रसाद घिमिरे त्रिशुलीमा बेपत्ता, आमासहित ३ जनाको मृत्यु
न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २५ सेप्टेम्बर। हङकङका पूर्व महावाणिज्यदूत तथा पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी त्रिशुली नदीमा खस्दा उनीसहित तीन भाइ बेपत्ता भएका छन्। दुर्घटनामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ।

उनी चढेको बा ९ च १५३१ नम्बरको स्कारपियो गाडी पौनै ५ बजे चितवनको दारेचोकस्थित घोप्टेभीरबाट त्रिशुलीमा खसेको मुग्लिङ प्रहरीले जनाएको छ। आमालाई मुक्तिनाथको दर्शन गराएर काठमाडौं फर्कंदै गर्दा घिमिरेको कार दुर्घटनामा परेको थियो। मुग्लिन र कुरिनटारबीचको यो ठाउँमा केही दिनअघि एउटा ट्रक पनि खसेको थियो।

दुर्घटनामा मृत्यु भएका घिमिरेकी अामा चैतन्यकुमारी, प्रहरी सई रामचन्द्र कार्की र नारायणप्रसाद काफ्लेको शव फेला परेको जनाइएको छ।

गाडी चालक विष्णु राईलाई भरतपुर अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ। उनी हाम फालेर बाँचेका थिए। चालक विष्णुलाई पालो दिन भन्दै तनहूँको दमौलीबाट गाडी माधव घिमिरे आफैंले हाकेका थिए।

चितवन प्रहरी प्रमुख वसन्त कुँवरका अनुसार घिमिरेसहित उनका भाइहरु प्रकाश घिमिरे र मोहन घिमिरे बेपत्ता भएका छन्।

२०१७ सालमा पाल्पामा जन्मिएका घिमिरे २०६६ साल साउन २२ गतेदेखि ०६९ साउन २१ गतेसम्म मुख्यसचिव भएका थिए। त्यसअघि हङकङका लागि नेपाली महावाणिज्यदूत रहेका उनले हङकङका नेपालीबीच लोकप्रिय महावाणिज्यदूतका छबि बनाएका थिए। घिमिरे हङकङ रहंदै २००४ सेप्टेम्बर ७ तारिखका दिन सचिवमा पदोन्नति भएपछि नेपाल फर्केका थिए।

हङकङका नेपालीहरुको मन जितेका घिमिरेको लोकप्रियता सचिवबाट मुख्य सचिवमात्र सिमित रहेन। खिलराज रेग्मी नेतृत्वको अन्तरिम मन्त्रिपरिषदमा गृह तथा परराष्ट्रमन्त्री बनेपछि उनको चर्चा झनै चुलिएको थियो।

पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको गाडी दुर्घटना भएको ठाउं

यो बाटो सडक र घुम्तीलाई हेर्नुहोस्। कति असुरक्षित छ। एक झि…

Posted by HKNepal.com on Sunday, 25 September 2016





Comments

comments

Leave a Reply

14367