अल्ट्रालाइट दुर्घटनाको विस्तृत अनुसन्धान शुरु


कास्कीको चापाकोट—बाम्दीमा बुधबारको अल्ट्रालाइट जहाज दुर्घटनामा ज्यान गुमाएका पाइलट अलेक्जेन्डर म्याक्सिमोभ । तस्बिर साभारः नेपाली टाइम्स

अर्जुन गिरी –
पोखरा, १० मंसिर। कास्की चापाकोटमा बुधबार भएकोअल्ट्रालाइट जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन गरीप्राविधिक टोली काठमाडौं फर्किएको छ । टोलीले घटनाबारे बिहीबार प्रारम्भिक रिपोर्ट लिएको हो। उक्त रिपोर्टनागरिक उड्डयन प्राधिकरणमा बुझाउने पोखरा विमानस्थल कार्यालयका निर्देशक भोला गुरागाईंले बताए । ‘३ जनाको एक टोली आएर घटनास्थल निरीक्षण पनि गरेको छ,’ उनले भने, ‘उनीहरुको रिपोर्टको आधारमा एक दुई दिनभित्र अनुसन्धान कमिटी गठन हुनेछ।’

घटनाबारे जाँचबुझ गर्न वरिष्ठ क्याप्टेन सुभाष झा संयोजकत्वमा तीन सदस्य एक टोली आएको थियो । टोली बुझाएको रिपोर्टको आधारमा शुक्रबार बिएम अमात्यको संयोजकत्वमा टोली आउने भएको हो । एभिया क्लबद्वारा सञ्चालित अल्ट्रालाइट बुधबार दुर्घटना हुँदा रसियन पाइलट ६२ वर्षीय अलेक्जेन्डर म्याक्सिमोभको ज्यान गएको थियो भने २७ वर्षीया क्यानडेली नागरिक जिलेनी भोल्कर घाइते भएकी थिइन् । भोल्करको स्वास्थ्य अवस्था सामान्य रहेको एभिया क्लबका मेनेजर रिजन रिजालले बताए।


अल्ट्रालाइट जहाज दुर्घटनामा घाइते क्यानडेली पर्यटक उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालमा। तस्बिर: अर्जुन गिरी

बुधबार बिहान ९ बजेतिर ९ एन–एएलएल कलसाइन भएको ड्रागन आकाशमा उडेको केहीबेरमै भुइँमा खसेर दुर्घटना भएको थियो ।२ जना पर्यटक यात्रु बोकेको अल्ट्रालाइटलाई डोरीले तानेर उड्ने क्रममा अलेक्जेन्डरले उडाएको ह्याङ्ग्लाइडर दुर्घटनामा परेको हो । उडेर १ फिट उचाइ लिनेबित्तिकै डोरी छिनेको र ह्याङ्ग्लाइडर पनि खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घटना बारे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय वैदामका प्रमुख इन्स्पेक्टर मोहनमणि अधिकारीले बताए । ‘घटनाको निरीक्षण गर्ने प्राविधिक टोली आएका थिए,’ उनले भने, ‘हामीले गर्नुपर्ने अनुसन्धान प्रक्रिया पनि भइरहेको छ।’

चापाकोटको धावनमार्ग एभिया क्लबले पाइलट प्रशिक्षणका लागि अनुमति लिएर सञ्चालन गरिरहेको हो । बुधबार उडेका २ अल्ट्रालाइटमा पर्यटकलाई पनि उडाइएको हो वा पाइलट प्रशिक्षार्थीलाई भन्ने पनि खुलेको छैन । अल्ट्रालाइटलाई डोरीले तानेर उडेको केहीबेरमै दुर्घटनामा परेको थियो । उक्त धावनमार्गबाट हुने उडानबारे पोखरा एयरपोर्टको टावरसँग सम्पर्कमा हुँदैन । त्यसैले त्यहाँबाट व्यावसायिक उडान गर्न मिल्दैन ।
यसअघि पोखरामा दुइटा अल्ट्रालाइट दुर्घटना भएका थिए । २०७० सालको असोज १७ गते पुम्दीभुम्दीमा र २०७२ असोज २१ गते अन्नपूर्ण हिमशृंखलाको नजिकै अल्ट्रालाइट दुर्घटना भएको थियो।





Comments

comments

Leave a Reply

15158