पोखरामा मगर भाषा कक्षा समापन

रूद्र श्रीसमगर / एचकेनेपाल डट कम –

पोखरा, १८ चैत्र। पोखराको बगरमा सञ्चालित दुई महिने मगर भाषा साक्षरता कक्षाको समापन भएको छ। गत माघको १६ गतेदेखि सुरु भएको मगर भाषा कक्षाको शुक्रबार समापन गरिएको हो।

समापनका अवसरमा बोल्दै मगर भाषा प्रतिष्ठान, कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितानले जातीय पहिचानको पहिलो आधार नै मातृभाषा र संस्कृति भएको बताउनुभयो।

‘मगर भाषा सबै मगरले जान्नु आवश्यक छ’, अध्यक्ष हितानले भन्नुभयो, ‘ऐतिहासिक कारणले मगर भाषा नबोल्ने मगर बस्तीहरूमा अब मगर भाषा सिकाउने अभियान गर्नु जरुरी छ ।’ अध्यक्ष हितानले मगर भाषा लोप हुने खतरा बढेको भन्दै मातृभाषा बचाउन सबै मगरहरू जागरुक हुनुपर्ने बताउनुभयो।

बागलुङ–पोखरा मगर समाजका सल्लाहकार किरणप्रसाद थापाले मगर भाषा कक्षालाई व्यापक बनाउनुपर्नेमा जोड दिँदै निकट भविष्यमा सबै मगर बस्तीमा भाषिक जागरण चलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘अब सबै मगर बस्तीमा भाषिक जागरण ल्याउनु आवश्यक छ’, थापाले भन्नुभयो, ‘मगरको पहिचान भनेको मगर भाषा र संस्कृति हो, यसलाई जगेर्ना गर्नु सबैको कर्तव्य हो।’

सो अवसरमा बागलुङ–पोखरा मगर समाजका सल्लाहकार सुनिता राना, कोषाध्यक्ष कृष्णा पुन, चलचित्र निर्देशक सन्तोष पिठाकोटे, मगर भाषा प्रशिक्षकद्वय रूद्रबहादुर श्रीस र देउकी सिंजाली ‘दिपिका’, प्रशिक्षार्थीहरू विष्णु पुन, माया पुन, रीता श्रीस, पुनम पुन, मीना पुनलगायतले बोलेका थिए।

बागलुङ–पोखरा मगर समाजकी महिला विभाग प्रमुख रनमाया थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रशिक्षक रूद्रबहादुर श्रीस तथा प्रशिक्षार्थी सिम्रन रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।





Comments

comments

Leave a Reply

17019