रन्जु दर्शनासंग किन रिसाए मान्छेहरु? यस्ता छन् कारण..

‘लोकतन्त्रलाई संस्थागत गरौं भन्नुहुन्छ उहाँहरू । शेरबहादुरज्यू आज स्यालबहादुर, मुसाबहादुर हुनुभएको छ।

पुष्पकमलज्यू आज फुस्सकमल हुनुभएको छ । उहाँले लोकतन्त्रलाई हैन लुटतन्त्रलाई संस्थागत गर्दै हुनुहुन्छ’, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि त्यसको विरोधस्वरूप निकालिएको र्‍यालीमा काठमाडौं महानगरकी मेयर उम्मेदवार २१ वर्षीया रन्जु दर्शनाले दिएको यो अभिव्यक्तिलाई धेरैले अस्वाभाविक भन्दै आलोचना गरेका छन्।

लामो राजनीतिक पृष्ठभूमि भएका र राष्ट्रिय राजनीतिमा महत्वपूर्ण हिस्सा ओगट्ने व्यक्तित्वविरुद्ध सम्मान गर्न नसकेको आरोप दर्शनाले खेपिरहेकी छन् । दर्शना आलोचित हुनुको सबैभन्दा ठूलो कारण हो आशा गरिएको विवेकशील पार्टीकी यी युवा नेत्रीमा पनि पुरानै राजनीतिक संस्कार देखिनु।

यो अभिव्यक्तिपछि उनले आफ्ना एजेन्डालाई मात्र विश्वास गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । पछिल्लो समय अभिव्यक्तिको गतिलो माध्यम बनेको सामाजिक सञ्जालमा दर्शनाप्रति चिन्ता, आक्रोश र दुःखका अभिव्यक्ति देखिन्छ।

‘राजनीतिमा दर्शनाको प्रवेशले तरंग नल्याए पनि बहस उठाएको थियो । सामाजिक सञ्जालबाट मतदातासम्म नपुग्दै छुच्चो बोलेर यिनले बदनामीको भारी बोकिन्’, दर्शनाको अभिव्यक्तिपछि एक फेसबुक प्रयोगकर्ताको स्टाटस यस्तो थियो ।करिब दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमार्फत राजनीतिमा औपचारिक रूपमा प्रवेश गरिरहेका विवेकशील, साझा पार्टीजस्ता राजनीतिक संगठनले आफूलाई अन्य दलभन्दा फरक देखाउन खोजिरहेका छन् । उनीहरूले आफ्ना एजेन्डा फरक रहेको दाबी पनि गरिरहेका छन् । यद्यपि एकअर्कालाई गालीगलौज गर्ने संस्कार भने उस्तै देखिन्छ।

समाजशास्त्री सुरेश ढकाल यसलाई राजनीतिक विरासत मान्छन् । ‘हाम्रो राजनीति सांस्कारिक हुन नसकेको हो । रञ्जुले जे गरिन् त्यो राजनीतिक विरासत मात्र हो । बेठीक हो तर अस्वाभाविक होइन’, समाजशास्त्री ढकालले भन्नुभयो । गाली गरेपछि अगाडिबाट ताली पाइन्छ भन्ने मानसिकताबाट यस्तो स्थिति आएको उहाँ बताउनुहुन्छ।

नेताहरूले एकअर्कालाई गाली गर्ने प्रचलन नेपालमा नौलो होइन । एमाले अध्यक्ष केपी ओली अन्य दल र त्यसका नेतालाई व्यंग्य/गाली गरेकै कारण चर्चामा आइरहनुहुन्छ । वर्तमान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि गाली गर्नेमा अग्रपंक्तिमा पर्नुहुन्छ । स्थानीय निर्वाचन नजिकिइरहेका बेला प्रचारमा जुटेका दलहरूले जनतालाई प्रभावित पार्न एजेन्डाभन्दा विपक्षीलाई गाली गर्नमा समय खर्चेको पाइन्छ। ‘यसले तल्लो स्तरका सर्वसाधारणमा विभाजन ल्याउँछ । हिंसाको रूप पनि लिन सक्छ । माथिल्लो स्तरमा झगडा गरेको र मिलेको पत्तै नभए पनि तल्लो स्तरमा लामो समयसम्म असर रहिरहन्छ । यस्तोमा दलहरू संयमित हुनुपर्छ’, समाजशास्त्री ढकाल भन्नुहुन्छ। अन्नपूर्णमा खबर छ।





Comments

comments

Leave a Reply

17585