निर्वाचनअघि सानो मन्त्रिपरिषद, को–को हुनेछन मन्त्री ?

बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री बन्ने प्रयासमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचनअघि नै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन्।

दलहरुबीच राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमाभित्र सहमतीय सरकारका लागि सहमति जुट्न नसकेपछि देउवाले बहुमतीय सरकारको प्रयास सुरु गरेको खबर पत्रिका दैनिकमा छ।

‘दोस्रो चरणको निर्वाचनसम्म सानो मन्त्रिपरिषद् मात्रै बनाउने चाहना शेरबहादुरजीको छ,’ कांग्रेस नेता उपप्रधानमन्त्री विमलेन्द्र निधिले भने, ‘कति सानो बनाउने भन्ने छलफल भइसकेको छैन । यसबारेमा भोलि (बिहीबार)बाट छलफल हुन्छ ।’

को हुनेछन् मन्त्री ?
सत्तासाझेदार कांग्रेस र माओवादी केन्द्रले कार्यदल गठन गर्नेछन्, जस्ले आगामी सरकारको मन्त्रिपरिषद्मा पहिलो चरणमा क–कसलाई पठाउने भन्नेसहितका विषयमा निर्णय लिनेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि कांग्रेसबाट विमिलेन्द्र निधि र रमेश लेखक तथा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र वर्षमान पुन अनन्त सदस्य रहेको चार सदस्यीय कार्यदल बनेको छ। त्यही कार्यदलले बनाएको सहमतिअनुसार सुरुमा सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी देउवाको रहेको स्रोतले बतायो।

कांग्रेसबाट क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल नभएको पनि नेता निधिले बताए । ‘अहिलेसम्म पहिलो चरणमा कसलाई मन्त्री बनाउने भन्ने छलफल भएको छैन । सानो आकारमा देउवाजीले आफूलाई काम गर्न सहज हुने व्यक्तिलाई लैजानुहुन्छ । दोस्रो चरणमा मन्त्री पठाउँदा छलफल हुन्छ ।’ स्रोतका अनुसार सभापति देउवा र नेता रामचन्द्र पौडेलबीच सकभर वर्तमान सरकारमा रहेका मन्त्री नदोहोर्याउने भन्नेमा मतैक्यता छ।





Comments

comments

Leave a Reply

18197