बेलायतमा आरके गुरुङको एकल साँझ सम्पन्न

बेलायतमा आरके गुरुङको एकल साँझ सम्पन्न

मिलन गुरुङ / एचकेनेपाल डट कम –

अल्डरसट । नेपालका चर्चित लोक गायक रामकुमार (आरके) गुरुङ एकल साँझ अल्डरसटस्थित निरमाया रोधीं घरमा सम्पन्न भएको छ।

तमु प्ये ल्हु संघ युकेको निमन्त्रणामा बेलायत आएका गायक आरकेले बेलायतका विभिन्न स्थानमा आफ्नो प्रस्तुती दिइरहने क्रममा क्होला परिवार युकेको आयोजनामा सो प्रस्तुती दिएका हुन् । उनले सो साँझ आयोजक क्होला परिवारलाई हृदयदेखिनै धन्यवाद दिदैं सबै सहभागीहरुलाई आभार व्यक्त गरे। सो साँझमा तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर खुशीमान गुरुङ, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, गीतकार पूर्व प्रअ एकेन्द्र गुरुङलगायत विभिन्न संघसंस्थाका पदाधिकारीका साथै संगीतप्रेमी र क्होला परिवारको बाक्लो उपस्थिति रहेको थियो । उनले ज्ञाम गुरुङद्वारा निर्माण गरिएको गुरुङ चलचित्र ‘गोरे बाजे’, पूर्व प्रअ एकेन्द्र गुरुङ र फोटोपत्रकार मिलन तमुद्वारा रचित विभिन्न गीतहरु गाएका थिए । एक दर्जन भन्दा बढी चलचित्र, कौडा, सालैजोको रचना, संगीत र स्वर दिइसकेको गुरुङले विभिन्न चर्चित गीत, कौडा, सालैजो र लाईभ दोहोरी समेत प्रस्तुत् गरेका थिए । उनलाई गायिका ममता गुरुङ र रुपा घर्तिमगरले साथ दिएका थिए।

सुलिकोट गाउपाँलिका अर्थात गोरखा सौरपानी ५ बान्चोकगाउँमा २०४१ सालमा जन्मिएका गायक रामकुमार (आरके) गुरुङ झन्डै डेढ दशकदेखि कलाकारितामा निरन्तर रुपमा छन् । पहिलो कोसेली ङै नासा (मेरो गाउँ) को ‘माईली रोधीं घरमा संगै नाचौंन’ बोलको कौडा गीतबाट प्रेरित र हौसिएका गुरुङ त्यसपछि ङै जिन्दगी (मेरो जिन्दगी), ङै क्याँ (मेरो बाटो), आश्यो (मावली), म्होरा (सपना), भेडी गोठालो, कुटुम्बेरी साइनो, खै ओ म्ही थेवा (ठूलो मान्छे), तीन्हागाँ (आजभोलि), ङोलो ङोल्स्यो (सोल्टी सेल्टिना) र हालै प्रर्दशनको क्रममा रहेको ‘गोरे बाजे’ नामक गुरुङ भाषाको चलचित्र र कर्मरेखा नेपाली भाषाको चलचित्रहरुको गीत लेखन, गायन र संगीत बनाउनमा संलग्न रहे । उनले त्यत्ति नै संख्यामा नेपाली मौलिक गीतहरु सालैजो, कौडा र झ्याउरेमा स्वर, संगीत भर्ने र कतिपयमा शब्द रचना गर्दै आएको उद्घोषिका रुपा घर्तिमगरले उनको परिचय दिने क्रममा बताएकी थिईन्।

धेरैजसो आफ्नै शब्द र संगीतमा रहेका गुरुङ भाषाका चर्चित गीतहरु गाएर भरपूर मनोरञ्जन दिलाएका गायक आरकेलाई उपस्थित संगीतप्रेमीहरुले खादा लगाई बधाई दिएका थिए । साँझ ७ बजेबाट शुरु भएको सो साँझमा उनको गीतसंगै संगीतका पारखीहरु कार्यक्रमको अन्त्यसम्म झुमिरहेका थिए।

तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर खुशीमान गुरुङ, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, तमु समाज युकेका अध्यक्ष अर्जुन गुरुङ र आमा समूह तमु समाजकी अध्यक्ष माया गुरुङले संयुक्त रुपमा दिपप्रज्ज्वलन गरी सो एकल साँझको शुरुवात गरिएको थियो । सो अवसरमा क्होला परिवार युकेका हुम गुरुङले स्वागत मन्तब्य प्रकट गर्दै एकल साँझको मनोरञ्जन लिन अनुरोध गरेका थिए।





Comments

comments

Leave a Reply

21239