एउटी विद्रोही प्राज्ञ : प्रेमा शाह (जीवनी)

नरेन्द्रराज प्रसाई
•••

★ म सूर्यसँग सम्भोग गर्छु
★ आउ मलाई सम्भोग गर !

प्रेमा शाहको जन्म:
प्रेमा शाहको जन्म संवत् २००२ असार १६ गते शुक्रबार वीरगन्जको श्रीपुरमा भएको थियो । यिनको चिनाको नाउँ गिरिराजलक्ष्मी शाह थियो । प्रेमा शाहको जन्म भएपछि यिनलाई उनका बुबा पूर्णेन्द्रविक्रम शाह तथा आमा अरुणा शाहको न्यानो काखबाट अलग्याइयो । अर्थात् जन्मेको चौध दिनमा उनलाई वीरगन्जबाट काठमाडौँस्थित उनको मावलीघर ल्याइएको थियो ।

प्रेमा शाह शिशुकालमा नै मावलीको सम्पत्ति बनिन् । उनका मावलीपट्टिका हजुरबुबा विज्ञानशमशेर जबरा त्यति बेला जर्नेल थिए । जनरल राणाकै पालन र पोषणमा प्रेमा शाहको शिशुकाल बित्यो र बाल्यावस्था पनि बित्यो । उनी बाल्यकालदेखि नै गीत गाउने र नाच्ने कलामा पनि आबद्ध थिइन् । यिनको नाच्ने कला देखेर यिनकी धाईआमा मक्ख पर्थिन् । वास्तवमा प्रेमा शाहकी धाईआमा नै यिनकी सर्वस्व पनि थिइन् । त्यसै सन्दर्भमा यिनले आफ्नो डायरीमा पनि लेखिन्, ‘मैले मेरी आमाको अनुहार देखेको छैन । मैले मेरी आमाको दुध पनि चुस्न पाइँन । मेरी बुबू धाईआमा (तुलसीदेवी उपाध्याय कोइराला) नै मेरी आमाको रूपमा मैले पाएँ ।’

प्रेमा शाहलाई मावली घरमा अत्यन्तै चिज गरेर राखिएको थियो । उनलाई त्यहाँ पढ्न पनि निक्कै राम्रो व्यवस्था थियो । उनले मावलीमा नै कखरा पढिन् । ठूलो वर्णमाला र साधारण लेखापढी पनि उनले त्यहीँ पढिन् । उनलाई पढाउन मामा घरमै अलगअलग विषयका बेग्लाबेग्लै शिक्षक नियमित रूपमा आउने गर्थे । घरमा राम्ररी पढ्न र लेख्न जानेपछि यिनलाई पाटन हाईस्कुलको बिहानको कक्षामा एकै चोटि छैटौँ कक्षामा भर्ना गरियो ।

प्रेमाको शिक्षा:
प्रेमा शाह सुरुसुरुमा स्कुल जाँदा आँखामा लामोलामो गाजल, मुखमा क्रिमपाउडर र हीराको टप लगाएर जाने गर्थिन् । त्यस बखत उनले थाइकट कपाल काटेकी हुन्थिन् । उनी सिँगारिएर स्कुल जाँदा आफू बेहुलीझैँ भएको अनुभूति बटुल्थिन् । यिनलाई स्कुल पुर्याउन र ल्याउन ‘हिलम्यान’ नामक कालो मोटर जान्थ्यो । त्यति बेला यिनको बेग्लै सान र मान थियो ।

प्रेमाले एक वर्ष पाटन हाईस्कुलमा पढेपछि त्यस स्कुलको बिहानका सम्पूर्ण कक्षा मदन मेमोरियल स्कुलमा सरे । त्यसपछि उनी पनि मदन मेमोरियल स्कुल जान थालिन् । त्यस बेला पनि उनी स्लिकको लुगामा ठाँटिएर स्कुल जान्थिन्; उनको त्यो सान देख्न नसकेर साथीहरूले पछाडिपट्टिबाट उनका लुगा ब्लेडले काटिदिने गर्थे । त्यहाँ उनले आठ कक्षासम्म मात्र पढिन् । अनि उनी पाटनको त्रिपद्म स्कुलमा भर्ना भइन् । त्यसपछि यिनलाई पाटनको मङ्गलबजारस्थित आदर्श कन्या निकेतनमा पुर्याइयो । त्यही स्कुलबाट यिनले २०१६ सालमा एसएलसी दिइन् ।

प्रेमा शाहलाई सधैँ स्कुल पुर्याउने अङ्गरक्षक सलोनी थिइन् । पहिले सलोनी पुष्करशमशेरका घरमा काम गर्थिन् र त्यहाँबाट उनी जनरल विज्ञानशमशेरका घरमा पुगेकी थिइन् । प्रेमालाई स्कुल पुर्याउने क्रममा सलोनीचाहिँ सोही स्कुलको पालेसँग चटारिन थालिन् । हुँदाहुँदै उनी प्रेमा शाहलाई स्कुल पुर्याएर एक दिन पालेसँग उताउतै हिँडिन् । त्यसपछि प्रेमाले अङ्गरक्षकको खासै काम देखिनन् र उनले एक्लै स्कुल जाने दृढता व्यक्त गरिन् ।

प्रेमा शाहले वनारसमा पनि पढिन र जापानमा पनि पढिन् । तर उनले आईए, वीए र एम्ए चाहिं नेपालमा नै पढिन् ।

सामाजिक, पारिवारिक र वैयक्तिक हरेक सङ्घर्षसँग जुधेर यिनले २०२६ सालमा नेपाली विषयमा एमए पास गरिन् ।

प्रेमाको व्यक्तित्व:
प्रेमा शाह समकालीन पुस्ताकी हट्टाकट्टा, साहसी, निर्भीक, दृढ र सक्रिय नारीस्रष्टाको नाउँ मानिन्छ । कुनै बेला राजधानीमा उनी जब कविता सुनाउन मञ्चमा उभिन्थिन् तब त्यहाँ एउटा उत्साह, उमङ्ग र जागरणको वातावरण सृजना हुन जान्थ्यो । उनी कविता भन्दाभन्दै एउटा कवितामय जीवन नै भनिसकेकी हुन्थिन् । प्रेमा शाहको कविता र जीवनको परिभाषाले साहित्यकै परिभाषालाई चुली पारेको हुन्थ्यो । त्यसैले प्रेमा शाह त्यसै बेलादेखि नै नेपाली साहित्यमा चर्चित बनिन्, प्रसिद्ध भइन् र अन्ततः नअस्ताउने तारा नै बनिन् ।

प्रेमा शाह कविता पढेर चर्चाको शिखरमा पुगेको नाउँ हो । त्यो नाउँ झनैझनै उकालोमा नै हिँडिरह्यो; किनभने उनले लेख्नका लागि आफ्नो मन, वचन र कर्म अर्पित गरिन् । चर्चाको जुन टाकुरो छोए पनि उनले लेखी नै रहिन् । कहिले उनले कविता लेखिन्, कहिले कथा लेखिन् र कहिले उपन्यास लेखिन् । लेख्तालेख्दै फेरि उनी चर्चित बनिन्, उनी कति चर्चित भइन् भने अति चर्चित भइन् । ‘अति सर्वत्र वर्जयेत्’ भनेझैँ चर्चाचर्चाले नै उनी नेपाली भाषा साहित्यबाट एकाएक हराइन् । अथवा भनूँ खाने, कमाउने, बाँच्ने र जीवन धान्ने कामका लागि सक्रिय रूपमा रचना निर्माणका बाटाबाट उनी पर सरिन् ।

प्रेमाको यौन काव्य:
यौनको केन्द्रविन्दुमा पुगेर साहित्यसृजना गर्ने स्रष्टामध्ये प्रेमा शाहको स्थान अग्रपङ्क्तिमा रह्यो । जीवन गतिलो पनि नुहुनाको तात्पर्यको अदृश्य कुण्ठा पनि प्रेमा शाहले आफ्ना रचनामार्फत प्रस्तुत गर्ने गर्थिन् । यति हुँदाहुँदै पनि उनी आफ्ना भावना मनोवैज्ञानिक ढङ्गबाट मीठो भाकामा प्रस्तुत गर्थिन् । नेपाली भाषा साहित्यमा उनको लेखनी आफ्नो बेग्लै आयाममा स्थापित भएको थियो । उनको लेखनको सौन्दर्यका विषयमा धेरै समालोचकले उनको मुक्तकण्ठले प्रशंसा पनि गरे । उनी नेपाली साहित्यमा सङ्ख्यात्मकभन्दा गुणात्मक रूपमा लेख्ने स्रष्टा थिइन् । त्यसैले उनले लेखेका कविताचाहिँ थोरै पनि भए र ती थोरै पनि प्रायः यौन, प्रेम र समर्पणमा समर्पित भएका देखिए-

तिमीमा मेरो प्यार हीराको जन्तरझैँ
सधैँ छातीमा झुन्ड्याएर
तिमीलाई माया गरिसकेकी छु ।
जाडोका ती रातभर
तिमीलाई यी ओठका न्यानो आवरणमा
गुट्मुट्याएर मैले तिम्रो कानमा
प्रणयका कति गीत भरिसकेकी छु ।

प्रेमाको साहित्यिक व्यक्तित्व:
प्रेमा शाहले पढ्दै साहित्य सृजना गर्दै गरिन् । पाटन कलेजबाट आईए र बीए गरिन्जेलमा उनी नेपालका डाँडाकाँडा ढाक्ने साहित्यकार भइसकेकी थिइन् । त्यस बेला यी ‘बिहान’ तथा ‘हिमानी’ पत्रिकाको सम्पादक मण्डलमा रहिन् । यिनले त्रिभुवन विश्वविद्यालयमा एमए पढ्न थालिन् । त्यहाँ पढ्दा यिनले ‘देउराली’को सम्पादन पनि गरिन् । त्यस बेलासम्ममा यिनी नेपालभित्र मात्र होइन नेपालबाहिर नेपाली भाषा बोल्नेहरूमाझ समेत साहित्यकारका रूपमा चिम्किसकेकी थिइन् ।

नेपाली भाषा साहित्यमा प्रेमा शाह कलिलै उमेरदेखि नै चर्चित थिइन् । यी मदन मेमोरियल स्कुलमा पढ्दै गर्दा ‘शारदा’ पत्रिकाका लागि रत्नध्वज जोशीले यिनको एउटा रचना लिएर गएका थिए । त्यसपछि विभिन्न पत्रपत्रिकामा यिनका लेखरचना, कथा, कविता प्रकाशनमा आइरहे ।

प्रेमा शाहको जीवनमा मावलीको प्रभाव, श्रीमानहरूको प्रभाव र छोरीको प्रत्यक्ष प्रभाव गाँसिएको पाइन्थ्यो । यी सबै पूर्वदृश्यहरूका कारण उनका रचनाहरू पनि त्यही परिवेशबाट लेखिए ।

प्रेमासँग पुरूष आकर्षण:
प्रेमा शाहको यौवनावस्थामा यीसँग धेरै पुरुषहरू झुत्ती खेल्थे । खास गरेर युवाहरूमा पनि बौद्धिक वर्ग यिनको पछि लाग्ने गर्थ्यो ।

विद्यार्थी जीवनमा प्रेमा शाहसँग नजिक हुन धेरै विद्यार्थीले धेरै कसरत पनि गरे । धेरैले यिनलाई आकाशका तारा झार्ने वचन पनि दिए । वास्तवमा प्रेमा शाह रूपमा पनि सुन्दरी थिइन्, बिछट्टै राम्री थिइन् र खुलस्त पनि थिइन् । यिनको मिलनसार स्वभावबाट मान्छेहरू झन् यिनीसँग हुरुक्कै हुन्थे । त्यति मात्र होइन; यिनले रचना पनि पुरुषलाई झुम्म पार्ने खालका लेख्थिन् । त्यसैले स्कुल, कलेज र विश्वविद्यालय पढेताका एकातिर यी आफ्ना पछि लाग्ने पुरुषहरूसँग सामना गर्थिन्, अर्कातिर आफ्नो पढाइलाई अगि बढाउने क्रम थियो भने साहित्यरचनामा पनि यिनलाई नसा लागिसकेको थियो । त्यस बेला यिनका सबैभन्दा मिल्ने पुरूष साथी डा.ध्रुवचन्द्र गौतम पनि एक थिए ।

प्रेमाको प्रथम विवाह:
प्रेमा शाहले यौवनावस्थामा उनका पछि लाग्ने पुरुषहरू एकएक गर्दै छाडिसकेकी थिइन् । यसै बीच २०२८ साल असार १८ गते यिनको पाटनका जेपी शाहीसँग लगनगाँठो कसिएको थियो । बिहेपछि प्रेमा शाह बनारस पढ्न गइन् । उनी बनारसमा पढ्न बस्ता शाहीले उनलाई धूमधाम सहयोग पनि पुर्याएका थिए । त्यसै समयमा प्रेमा शाहले बनारस हिन्दू विश्वविद्यालबाट बाटिक पेन्टिङ्गमा डिप्लोमा गरिन् । साथै त्यहाँ उनले सेरामिक्सको पनि अध्ययन गरिन् । तर शाही दम्पती नेपाल फर्केपछि लगत्तै यिनीहरूको पारपाचुके भयो । किनभने आफू शाहीकी उप पत्नी हुन पुगेको कुरा उनले त्यसै बेला थाहा पाएकी थिइन् । लोग्नेसँग सम्बन्ध विच्छेद भएपछि कलासम्बन्धी अध्ययन गर्न उनी जापानतिर लागिन् ।

प्रेमाको दोस्रो विवाह:
जापानबाट फर्केपछि प्रेमा शाहले काम खोजिन् । त्यस बेला अर्थात् २०३६ सालसम्ममा यिनका पुराना मित्रहरूमध्ये धेरैजसो यीदेखि टाढाटाढा पुगिसकेका थिए । अनि त्यति बेला यी बानेश्वरको एभरेस्ट सेराटन होटलमा जागिर खान्थिन् । तर यिनको सुन्दरताको पारख गर्ने मान्छेको त्यहाँ पनि अनिकाल लागेन । त्यहाँ पनि धेरै मान्छेको भीड चिरेर उनका सामुन्ने एक जना युवकको उपस्थिति भयो । अथवा भनूँ त्यति बेला नै उनको परिचय आरएम् कर्माचार्यसँग भयो ।

आरएम् कर्माचार्यसँग पनि प्रेमा शाह लट्ठ परिन् । वास्तवमा कर्माचार्य पनि आकाशपातल जोडेर गफ गर्न सिपालु थिए । कतिसम्म भने कर्माचार्यले ‘मेरो आफ्नो घरको सुनको लिस्नो टेक्ने एक जना अप्सरा तिमी मात्रै हुन सक्छ्यौ’ भनेर प्रेमा शाहलाई एकोहोर्याएका थिए । यी विविध प्रपञ्चका कारण शाहको मन उनीसँग टपक्कै टाँसिएको थियो । वास्तवमा प्रेमा शाह भित्री हृदयकी सोझी थिइन् । एकातिर कर्माचार्य आफूसँग मरिमेट्ने र अर्कातिर प्रेमालाई पनि आफ्नो सन्तान जन्माउने विशेष इच्छा थियो । उनले समाजसामु पनि एक जना वरसँग वरण हुनु नै थियो । त्यसैले दुई वर्ष प्रेम गरेपछि यी प्रेमीप्रेमिकाको बिहे गर्ने निष्कर्ष निस्क्यो ।

प्रेमा शाह आरएम कर्माचार्यसँग गुह्येश्वरी गइन् । त्यहाँ गएर कर्माचार्यले प्रेमा शाहको सिउँदोमा एक चिम्टी सिन्दूर हालिदिए । यिनीहरूले एकअर्कालाई माल्यार्पण गरे । वाचाबन्धनका साथ उनीहरू एउटा डेरामा बस्न थाले । बिहेपछि प्रेमा शाह आफ्नो नवशिशुको प्रतीक्षामा रहन थालिन् ।

प्रेमाकी छोरीको जन्म र पतित्याग:
बिहे गरेको अर्को वर्ष जल जन्मिन् । अथवा भनूँ २०३९ सालमा जल शाहको अवतरण भयो । छोरी जन्मेपछि प्रेमा शाहको एउटा आन्तरिक इच्छा पूर्ति पनि भयो । आरएम् कर्माचार्य, प्रेमा शाह र जलको संयोग त्यति बेला लोभलाग्दो नै देखिन्थ्यो तर यो सानो र सुखी परिवारमा एक्कासि हुन्डरी आयो । किनभने प्रेमा शाहले कर्माचार्यको पनि आफू उप पत्नी भएको थाहा पाइन् । त्यही कारणले नै कर्माचार्यको जीवनबाट प्रेमा शाह आफ्नी छोरीसहित टाढाटाढा जाने निस्कर्षमा पुगिन् । त्यसपछि चाहिँ उनी काखे नानी बोकेर सर्लाहीतिर लागिन्।

प्रेमाको जागिर:
सर्लाहीमा पनि टिक्न नसकेर उनी वीरगन्जमा आइन् । तर पनि रोजीरोटीका लागि उनले कुनै न कुनै काम गर्नै पर्थ्यो । त्यसैले उनले फेरि सर्लाहीकै नवजीवन विद्याश्रममा पढाउने विचार गरिन् । उनले पढाउने विषयचाहिँ मुख्यतया अङ्ग्रेजी र नेपाली थिए । यी कहिलेकाहीँ इतिहास पनि पढाउँथिन् । त्यस हाईस्कुलमा उनले आठ वर्ष पढाइन् । त्यसपछि उनी फेरि वीरगन्जतिरै लागिन् । यसै क्रममा उनले सुरुमा वीरगन्जको ठाकुरराम क्याम्पस र नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा पनि पढाइन् ।

प्रेमाका बाजेको बलत्कारी शैली:
प्रेमा शाह खुबै विद्रोही थिइन् । यी विद्रोही स्वभावकी हुनाको प्रमुख कारण यिनका जिजुबुबा जनरल विज्ञानशमशेर जबरा थिए । हजुरबुबाप्रति उनका मनमा घृणा थियो । आफ्ना हजुरबुबालाई भेटेपछि यी तर्कने नै गर्थिन् र वादविवाद पर्यो भने मुखमुखै पनि लाग्ने गर्थिन् । त्यतिमात्र होइन यिनले एकचोटि हातमा पिस्तोल बोकेर आफ्ना अर्का जिजुबुबा दमनशमशेरलाई हान्न पनि गइन् तर अरूले छुट्ट्याएर त्यस गोलीबाट दमनशमशेरलाई बचाएका थिए । त्यसैले यिनलाई यिनका मामा वरुणशमशेर राणा र मावलीपट्टिका जिजुबुबा विज्ञानशमशेर राणाले कम्युनिष्ट पनि भन्ने गर्थे । तर यिनीचाहिँ न्यायवादी थिइन् ।

प्रेमा शाहका जिजुबुबा जनरल विज्ञानशमशेर राणा तात्कालिक क्रुर संस्कारका प्रतिनिधि थिए । उनी आफूभन्दा सानालाई मान्छे नै गन्दैनथे । उनीद्वारा नोकरहरू कहिले जुत्तैजुत्ताले पिटिएका हुन्थे भने कहिले भान्से र सुसारेलाई यिनले भर्याङबाट खसाउने गर्थे । त्यति मात्र होइन यिनका जिजुबुबाले घरका सुसारेहरूसँग पालैपालो शारीरिक सम्पर्क पनि गर्थे । बलत्कारपछि यदि उनीहरूमध्ये कोही गर्भवती भए भने तिनलाई बैठकेसँग टीका लगाइदिएर डाँडो कटाउँथे । यी सबै दृश्यहरू हेरेर नै प्रेमा शाहले श्लील र अश्लील साहित्यको गोरेटो कोरिन् । अन्तत: त्यस विधामा उनी अति सफल पनि भइन् ।

प्रेमाको सङ्गठन:
प्रेमा शाह आफ्नो पौरख रोप्तै फेरि वीरगन्ज पुगिन् । त्यहाँ गएर उनले साहित्यिक र सांस्कृतिक सङ्गठन गरिन् । उनी सङ्गठन गर्न सिपालु थिइन् । त्यसैले त्यस ठाउँका स्रष्टालाई उनले एउटै मञ्चमा राख्ने प्रयास गरिन् । उनैले त्यहाँ ‘नारायणी वाङमय प्रतिष्ठान’ खोलिन् र त्यस संस्थाको आफै अध्यक्ष पनि भइन् ।
प्रेमा शाह लेखन कलामा जसरी सफल भइन् त्यसरी नै यिनी सङ्गठनात्मक शैलीमा पनि सफल मानिइन् । घरव्यवहार र गृहस्थी जीवनमा असफल भए तापनि यिनी छोरी पाउन, हुर्काउन र छोरीलाई प्रसिद्ध तुल्याउन सफल भइन् । त्यतिमात्र होइन यिनी साहित्यको फलैँचामा ढकमक्क फुलेरै बसिरहिन् ।

प्रेमाको ध्रुवचन्द्र गौतमसँग सम्बन्ध:
प्रेमा शाहका मन पर्ने स्रष्टामा डा.ध्रुवचन्द्र गौतम अग्र भागमा दरिन्थे । उनीहरू दुबै वीरगञ्जका भए तापनि उनीहरूको परिचय काठमाडौंमा २०२२-२३ सालतिर शैलेन्द्रकुमार उपाध्यायका घरमा भएको थियो । त्यस बखत मन्त्री उपाध्यायले आफ्ना घरमा आयोजित साहित्यिक गोष्ठीमा यी दुईलाई पनि निम्त्याएका थिए। त्यसपछि उनीहरू धुमधाम नजिक हुन थाले । पछिसम्म पनि प्रेमा शाह भन्थिन् “ध्रुवले मलाई सुक्ख दुक्खमा पनि साथ दिएका थिए । गौतम पनि प्रेमा शाहलाई अति सम्मान र स्नेह गर्थे । उनीहरू दुबै जनाको विचार पनि मिल्थ्यो । यसै प्रसङ्गमा डा.गौतमले भनेका थिए “प्रेमा र मेरो भेट हुनुको तात्पर्य हामी गफमा भुल्लिन थालिहाल्थ्यौं । म वीरगञ्ज पुगेका बेला हाम्रो तुरून्तै सम्पर्क भइहारल्थ्यो । अनि कहिले रिक्सामा चढेर र कहिले पैदलै पनि हामी वीरगन्जका सडकहरू नाप्न थाल्थ्यौं ।”

प्रेमा र डा.गौतमको अति घनिष्टता उनीहरू एक अर्काबाटै नइलाई पनि थाहा थियो । त्यसैले एक पटक तीन जना अर्थात् जल शाह सहित प्रेमा शाह र डा.ध्रुवचन्द्र गौतमको सम्मानमा नइ गृहले रात्रि भोजको आयोजना गरेको थियो । त्यस बेला आफूले रक्सी नखाए तापनि शाहले गौतमको ग्लास रित्तो हुनबाट बञ्चित गराई रहन्थिन् । वास्तवमा ध्रुवचन्द्र गौतम पनि कमलो मनका धनी मानिन्छन् । उनी नेपाली साहित्यका महारथी मात्र होइनन् मानवताका पूजारी पनि हुन् । उनी आफूलाई गाएकका रूपमा पनि देखाउन चाहन्छन् । त्यसैले पनि प्रेमा शाह गौतमको जय मनाउने गर्थिन् ।

प्रेमाको प्रेम भोक:
प्रेमा शाहलाई बाँचुञ्जेल प्रेमको भोक थियो । तर उनी आफ्ना लागि यस ब्रह्माण्डमा कुनै गतिला पुरुष देख्तिन भन्थिन् । यसै प्रसङ्गमा उनले फेरि आफ्नो मनको भाका प्रस्तुत गरेकी थिइन्, “यदि अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ. केनेडी बाँचेर आए र मेरा अघि उभिएर प्रेम प्रस्ताव राखे भने उनीसँग समर्पित भएर मेरो बाँकी जीवन बिताउने मभित्र अझै चाहना छ ।” तर उनले केनेडी जस्तो वीर पुरूष नपाए तापनि आफ्नो सम्पूर्ण उत्तरार्ध केनेडीकै देशमा गएर विताइन्।

प्रेमा र ‘शिरिषको फूल’:
प्रेमा शाहको स्त्री पुरूषसँग बराबर सम्पर्क थियो । उनी सरसल्लाह दिन पनि पोख्त थिइन् । उनी मान्छेको नाउँ राख्न पनि पोख्त थिइन् । केही लेखकहरूले आफ्नो किताप नाउँ राख्न पनि उनलाई अनुरोध गर्थे । यसैक्रममा पारिजातको उपन्यास ‘शिरीषको फूल’को नाउँ पनि प्रेमा शाहले नै राखेकी थिइन् । त्यस किताबलाई पारिजातले ‘ढिला विष’ लगायत एघार वटा शिर्षक राखी प्रेमा शाहलाई उपन्यासको उपयुक्त नाउँ चुन्न अनुरोध गरेकी थिइन् । अनि त्यस कृतिको पाण्डुलिपि पढेर प्रेमा शाहले ती एघार वटा नै नाउँ पन्साएर “ढिला विष”को नाउँ ‘शिरीषको फूल’ राख्न पारिजातलाई सल्लाह दिएकी थिइन् ।

प्रेमाका कृति:
प्रेमा शाह नेपाली साहित्यमा यौनसाहित्यलेखनमा बढी आकर्षित भइन् । यिनले ‘पहेँलो गुलाफ’ (कथासङ्ग्रह : २०२३) निकालेर नेपाली कथासाहित्यमा यौन आकर्षण प्रस्तुत गरेकी छिन् । ‘पहेँलो गुलाफ’को प्रकाशन नेपाली भाषा साहित्यमा यौन मनोवैज्ञानिक कथाको एउटा सशक्त उपलब्धि थियो । ‘विषयान्तर’ (कथासङ्ग्रह : २०२८) पनि उनको दोस्रो यौनकथासङ्ग्रह हो ।

प्रेमा शाह २०१६ सालमा शारदा पत्रिकामा प्रतिकृया शिर्षकको कथा लिएर नेपाली साहित्यमा प्रवेश गरेकी थिईन् ।

प्रेमा शाहले २०४० सालमा ‘ममी’ नामक लघुउपन्यास पनि लेखिन् । सो कृति पनि यौनआकाशमै नाचेको पाइयो । यसका साथै ‘आकाश विभाजित छ’ नामक उपन्यासचाहिँ यिनले अरू चार जना स्रष्टाको सहभागितामा लेखिन् ।

प्रेमा शाहले साहित्यको सृजना गर्दै जाँदा ‘रामेको कथा’ (२०४२), ‘आनन्दको आविष्कार’ (२०४३) र ‘मनु र भँगेरा’ (२०४३) सहित तीनवटा बाल उपन्यास लेखिन् । साथै उनले उमेर छिप्पिन थालेपछि बालकथाहरू लेख्न थालेकी थिइन् । उनका छवटा बालकथासङ्ग्रह प्रकाशित छन् । ‘जिन्की र जोकर’ (२०४०), ‘मन्टुकी बज्यैको कथाको पेटारो’ (२०४०), ‘इन्द्रधनुष’ (२०४२), ‘रङ्गीचङ्गी कथाहरू’ (२०४५), ‘राम्रो काम’ (२०५१) र ‘रेका केही कथा’ (२०५१) । यसका अतिरिक्त यिनले बालगीतका दुईवटा सङ्ग्रहहरू पनि प्रकाशनमा ल्याइन् । साहित्यमा लडीबुडी गर्दै जाँदा उनी ‘उज्यालो’ नामक बालपत्रिकाको सम्पादनमा पनि लागिन् ।

प्रेमाका पुरस्कार:
प्रेमा शाहलाई पुरस्कारको खासै चाहना थिएन । यतिहुँदाहुँदै पनि साहित्यको आराधनामा समर्पित भएबापत उनले मैनाली कथा पुरस्कार, मैना पुरस्कार, विश्वनारी नेपाली साहित्य सम्मान र विश्वनारी नेपाली साहित्य पदक ग्रहण गरिन् । आईए पढेताका अन्तरकलेज नेपाली भाषासाहित्य सम्मेलनमा यिनी कथामा प्रथम भएकी थिइन् । साथै त्यसैताका सम्पन्न चित्रकला प्रदर्शनीमा समेत यिनी प्रशंसित भएकी थिइन ।

प्रेमाको भ्रमण:
प्रेमाले नेपाल राज्यका विभिन्न ठाउँका अतिरिक्त भारत, हङकङ, थाइल्यान्ड, जापान, कतार र अमेरिकाको पनि भ्रमण गरिन् । अन्तत: उनी आफ्नै छोरीसँग अमेरिकामा नै बस्न थालिन्।

प्रेमाकी छोरी जल शाह:
प्रेमा शाह कहिले कता लागिन्, कहिले कता हिँडिन्; तर जताजता पाइला चाले तापनि उनको खोकिलामा जल शाह नै टाँस्सिएकी थिइन् । उनको ध्यान नै आफ्नी छोरीलाई शिक्षादीक्षा दिनु थियो ।

छोरीलाई लेखाउँदै र पढाउँदै प्रेमा शाह पुनः काठमाडौँमा आइन् र डेरा जमाइन् । छोरी किशोरावस्थाबाट उक्लेपछि चलचित्रहरूमा जान थालिन् । हुँदाहुँदै एक दिन उनकी छोरी जल शाह नेपाली चलचित्र जगतकी सर्वश्रेष्ठ नायिका भएर देखा परिन् ।

सुरुमा प्रेमा शाह, प्रेमा शाह नै भएर चिनिए तापनि छोरीको बढ्दो जनप्रियताका कारणले कालान्तरमा उनी जल शाहकी आमा भएर पनि चिनिन थालिन् । जल शाहले पनि आफ्नी आमाको प्रभावबाट कविता लेखिन् । जल शाहचाहिँ २०६३ सालको सुरुमा संयुक्तराज्य अमेरिका पुगिन् । अनि उनले आफ्नी आमालाई पनि त्यहीं पुर्याइन् । वास्तवमा जल शाह प्रेमाकी छोरी मात्र थिइनन् । उनी प्रेमा शाहको जीवनमा करूणा, भर र संरक्षणकी देवी पनि थिइन् । जलले पनि छोरी पाइन् र प्रेमाबाटै ती छोरीको नाउँ कलश राखियो । जल कलशकै मायामा बाँधिएर प्रेमाले आफ्नो सम्पूर्ण आकाशको परिक्रमा गरेकी थिइन् ।

प्रेमाको निधन:
२०७४ साल पुस ५ गते प्रेमा शाहको अमेरिकाको युटाह राज्यको साल्ट लेकस्थित इन्टर माउण्टेन अस्पतालमा निधन भयो।

प्रेमाको नेपाली हिन्दू परम्परा अनुसार अन्त्यष्टि गरिएको थियो । सुरेश दर्पण पोख्रेलका अनुसार उनलाई नेपालको राष्ट्रिय झन्डा ओढाइएको थियो । उनको पार्थिव शरीरमा उनकी छोरी जल शाहले दागबत्ती दिएकी थिइन् । यदि मान्छेभित्र मन, वचन र कर्म जीवित रहन सक्यो भने संस्कार पनि बाँचिरहन्छ भन्ने सग्लो प्रमाण जल शाहले प्रस्तुत गरिदिइन्।



.















Comments

comments