पूर्वडिआइजी सिलवालविरुद्ध पक्राउ पुर्जी जारी, के हुन्छ सांसद पद?

नेपाल प्रहरीका पूर्वडिआइजी तथा एमाले सांसद नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ पुर्जी परिसरले महानगरीय प्रहरी परिसर ललितपुर पठाइसकेको छ। प्रहरीका अनुसार आइजिपी बढुवाका क्रममा आवश्यक कार्यसम्पादन मूल्यांकन (कासमू) नम्बर किर्ते गरेको पाइएपछि उनलाई पक्राउ गर्न पुर्जी काटिएको खबर नयाँ पत्रिकामा छ।

महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीका प्रमुख आयुक्त एआइजी जयबहादुर चन्दले सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको बताए। ‘सिलवाललाई पक्राउ गर्न पुर्जी काटिएको अनौपचारिक खबर मैले पनि थाहा पाएँ। उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान हुनेछ,’ उनले भने। एआइजी चन्दले पक्राउ पुर्जी ललितपुर परिसर गएको जानकारी दिए। ‘सिलवाल ललितपुरमै बस्ने भएकाले पक्राउ पुर्जी ललितपुर परिसर गएको हुन सक्छ,’ उनले भने।

कानुनविद्का अनुसार सिलवालको सांसद पद प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेकै आधारमा जाँदैन। यसका लागि अदालतमा मुद्दा दर्ता हुनुपर्छ। अधिवक्ता डा. भीमार्जुन आचार्यले सिलवाल पक्राउ भएलगत्तै सांसद पद नजाने बताए। ‘प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गर्न सक्छ। यही आधारमा सिलवालको सांसद पद जाँदैन। अदालतमा मुद्दा दर्ता भयो भने उनको सांसद पद निलम्बनमा पर्छ,’ उनले भने। अदालतबाट दोषी ठहर नभएमा उनको सांसद पद पुनः फिर्ता हुने आचार्यको भनाइ छ।

प्रहरीका अनुसार सिलवाल जुनसुकै वेला पक्राउ पर्न सक्छन्। आइजिपी बढुवाका क्रममा कासमू किर्ते भएको ठहर गर्दै सर्वोच्च अदालतले आवश्यक अनुसन्धान गर्न सरकारका नाममा आदेश दिएपछि प्रहरी परिसर काठमाडौंमा ५ पुसमा जाहेरी दर्ता भएको थियो। जाहेरीलगत्तै प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको थियो। जाहेरी दर्ताको १३ दिनपछि प्रहरीले सिलवालविरुद्ध पक्राउ पुर्जी काटेको हो। ‘प्रहरीले अनुसन्धान थालेको छ। यसक्रममा जोसुकैमाथि पनि अनुसन्धान हुन सक्छ। प्रहरीले बयान लिन सक्छ। यही क्रममा पक्राउ पुर्जी काटिएको हुन सक्छ। अनुसन्धान किर्ते कागजातमाथि हुँदै छ,’ एआइजी चन्दले भने। प्रहरी स्रोतका अनुसार मुख्यसचिव लोकदर्शन रेग्मी र आइजिपी प्रकाश अर्यालले सिलवालविरुद्ध पक्राउ पुर्जी काट्न प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकलाई सिंहदरबारमै बेलाएर निर्देशन दिएका थिए।

पूर्वडिआइजी एवं सांसद नवराज सिलवाल पूर्वनिर्धारित कार्यक्रममा भाग लिन आइतबार नै मलेसियाको क्वालालम्पुर गएको पारिवारिक स्रोतको भनाइ छ। उनी ‘एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीले गरेको इस्ट एसियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेन्ट विथ स्पेसल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन क्वालालम्पुर गएका हुन्।

कासमू किर्ते सम्बन्धमा अनुसन्धान हुँदै थियो, यहीक्रममा सिलवालविरुद्ध पक्राउ पुर्जी काटिएको खबर मैले पनि पाएँ। औपचारिक पत्र भने आएको छैन। अनुसन्धानका क्रममा पक्राउ पुर्जी काटिनु स्वाभाविक हो। प्रहरीको यो नियमित काम हो। पत्र नै काटिएपछि कासमू किर्तेमा सिलवालको संलग्नता पाइएको हुन सक्छ। त्यसकारण सिलवाल जुनसुकै ठाउँबाट पक्राउ पर्न सक्छन्।





Comments

comments

Leave a Reply

21426