कस्केली तामाङले सोनाम ल्होछार भव्यताका साथ मनाए

हुम तमु / एचकेनेपाल डट कम –

पोखरा, नेपाल तामाङ घेदुङ कास्कीले शनिवार मञ्जुश्री सम्बत २८५४ औं सोनाम ल्होछार खि ल्हो / नागी ल्हो(कुकुर वर्ग) आगमनको अवसरमा शुभकामना आदानप्रदानसहित विविध कार्यक्रम गरी ल्होछार भव्यताका साथ मनाएको छ।

पोखरा १४, बिपी मार्ग रातोमाटो डाडास्थित घेदुङको समाज भवन परिसरमा सोनाम ल्होछार प्रर्वद्धन हाम्रो साँस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा परिचान नाराका साथ शुभकामना आदानप्रदान, विविध साँस्कृतिक कार्यक्रम, भेटघाटसहित ल्होछार भोज आयोजना गरी ल्होछार मनाएको हो ।

प्रमुख अतिथि नेपाल तामाङ घेदुङका पुर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुहुदै ल्होछारलाई अन्र्तराष्ट्रिय साँस्कृतिक मैत्री दिवसको रुपमा मनाउनुपर्ने बताउनुभयो । सोनाम ल्होछारको ऐतिहासिकता एवं महत्वको चर्चा गर्नुहुदै उहाँले ल्होछारलाई साँस्कृतिक हस्तान्तरण पर्वको उपमा दिनुभयो । पञ्चांग समितिमा सबैभन्दा पुरानो पात्रो चन्द्र पात्रोका ज्ञाताको समावेश नगरिएकाले हिन्दु पात्रोवालाहरुले सोनाम ल्होछारको तिथि फरक पारेको भन्नुहुदै आपत्ति जनाउनुभयो ।

घेदुङका पुर्व केन्द्रीय कार्यवाहक अध्यक्ष कुमबहादुर तामाङले शुभकामना व्यक्त गर्नुहुदै कस्केली तामाङहरुले लामो समयदेखि देखेको सपना आफ्नै जग्गामा ल्होछार मनाउन पाएको खुशी व्यक्त गर्नुभयो । उहाँले उक्त जग्गामा तामाङ साँस्कृतिक भवन निर्माणका लागि सबैको साथ सहयोगको आग्रह गर्नुभयो ।

घेदुङका केन्द्रीय सदस्य सुवेदार हरिमान तामाङले शुभकामना व्यक्त गर्नुहुदै पहिलो पटक कस्केली तामाङले आफ्नै थलोमा ल्होछार मनाइरहेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले पञ्चांग समितिमा चन्द्रपात्रो हेर्न जान्नेको प्रतिनीधित्व हुनुपर्ने माग गर्नुहुदै सोनाम ल्होछारको मिति बारे राज्यले नै भ्रम फिजाएको आरोप लगाउनु भयो । उहाँले तामाङ साँस्कृतिक भवन निर्माणका लागि २५ हजार ५२५ रुपैया घेदुङ कास्कीका अध्यक्ष कृष्णबहादुर तितुङ तामाङलाई हस्तान्तरण गर्नुभयो ।

पोखरा महानगरपालिका वडा नं. १३ वडा अध्यक्ष दर्शन लामाले शुभकामना व्यक्त गर्नुहुदै पोखरा १३ लाई नमुना वडा बनाउन सघाउन आग्रह गर्नुभयो । नेपालमा महानगरका वडा अध्यक्षहरुमा आफु एक्लो भएकाले तामाङको प्रतिष्ठाका लागि पनि वडा नं. १३ लाई एक नम्बरको वडा बनाउन जुट्ने बताउनुभयो । उहाँले घेदुङको साँस्कृतिक भवन निर्माणका लागि महानगरको तर्फबाट सक्दो सहयोग गर्ने उद्घोष गर्नुभयो ।

नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष कृष्णबहादुर तितुङ तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष टेकबहादुर तामाङ, सञ्चालन सचिव सुन्दर तामाङले गर्नुभएको थियो भने पुर्व केन्द्रीय सल्लाहकार प्रतापबहादुर वाइवा तामाङ र प्रदेश ४ की महिला सदस्य ज्योति तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न इकाईहरुको तर्फबाट साँस्कृतिक प्रस्तुतिहरु गरिएको थियो भने कार्यक्रम र साँस्कृतिक भवन निर्माणका सहयोग समेत गरिएको थियो । फागुन ४ गते आआफ्नो समाज र घरघरमा ल्होछार मनाएका कस्केली तामाङहरु शनिवार एकै थलोमा बृहत सहभागीतामा सोनाम ल्होछार मनाएका हुन ।





Comments

comments

Leave a Reply

22117