झापामा हात्ती आक्रमणबाट पाँच वर्षमा ३५ को मृत्यु

जंगली हात्तीको आक्रमणबाट पछिल्ला पाँच वर्षमा झापामा ३५ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो मात्रै दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड–३ मियाबारीका च्यांग्रा राजवंशी र बिर्तामोड–७ का लसुने मिया छन् । दुवैजना ७० वर्षका हुन् ।

उनीहरू दिउँसो १२ बजे बिर्तामोड–७ स्थित सुन्दर निचाझोडा सामुदायिक वनमा घाँस–दाउरा गर्न गएका वेला हात्तीको आक्रमणमा परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले बताए । स्थानीयका अनुसार उनीहरूलाई जंगली हात्तीले लखेटेर लछारपछार पार्दै दुई खुट्टा च्यातेर मारेको थियो ।

यो वर्ष मात्र झापामा हात्तीको आक्रमणमा परी ६ जनाको मृत्यु भइसकेको छ । पछिल्ला पाँच वर्षमा ३५ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांक छ । झापामा पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणतर्फका जंगलमा हात्तीको बसोवास छ । जलथल जंगलमा बसेका हात्तीले दक्षिण झापामा हरेक दिन हात्तीले उपद्रो मच्चाउने गरेका छन् । चारआली र जलथल जंगलमा १२ वटा जंगली हात्ती रहेको वन कार्यालयले जनाएको छ । जलथल जंगलमा मात्र सातवटा जति हात्ती भएको जिल्ला वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले बताए । नयाँपत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

22222