बस्ती खोलामा बस्यो, खोला सहर पस्यो

बुधबार रातिदेखि भीषण वर्षा भएपछि उर्लिएको हनुमन्ते खोलाले भक्तपुरका दुई नगरपालिकाको जनजीवन अस्तव्यस्त बनाएको छ।

निकास नपाएर सहर पसेको खोलाले अरनिको राजमार्गसहित कौशलटारको रेडक्रस मार्ग, बालकोट जाने चार दोबाटो पुल, नयाँ ठिमी, शंखधर साख्वा चोक, बुढाथोकी गाउँ, राधेराधे क्षेत्र डुबानमा परेको थियो।

त्यस्तै, भाटभटेनी सुपर मार्केटको पहिलो तल्ला जलमग्न भएको थियो । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालका अनुसार ०२१ सालको नापी नक्सामा हनुमन्ते खोलाको चौडाइ ६ देखि १० मिटर थियो । तर, अहिले त्यसलाई घटाएर दुई मिटरसम्म साँघुरो बनाइएको छ । खोलाको दायाँ–बायाँ अनियन्त्रित बस्ती विकास भयो । पछि जग्गा प्लटिङ गर्ने भूमाफिया प्रवेश गरे।

जग्गाको मूल्य रातारात बढ्न पुग्यो । स्थानीयले आफ्नो जग्गाको साँध खोलाको बगरसम्म पु-याएर महँगोमा बेचे । खरिद गर्नेले साँध अझ धकेलेर खोलामै पु-याएर पर्खालसमेत लगाए । स्थानीय निकाय, प्रशासन र नापीसमेत मूकदर्शक बनेको वेला भूमाफियाले साँघुरो खोलालाई पनि माफ गरेनन् । यस्तो समूहले स्काभेटर चलाएर ०७२ सालमा एकै रातमा खोलाको धार नै उल्टाइदियो।

यही विषयलाई लिएर मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाको बालकोट सिमानाका स्थानीयबीच झडप नै भयो । खोलाको धार परिवर्तन गराउन प्रयोग गरिएको एउटा डोजर र एउटा स्काभेटरलाई प्रहरीले नियन्त्रणमा पनि लियो । तर, यसको दीर्घकालीन समाधान खोजिएन । वर्षामा पानी बढ्दा खोलालाई बहाव पुग्दैन । जसले खोला मिचेका छन् तिनको मात्र होइन, आमसर्वसाधारणको घर पनि डुबाउँछ । तर, यसको समाधान कसरी गर्ने ? सरकारसँग पनि कुनै नीति छैन। नयाँपत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

24006