पोखरामा यसरी मनाइयो तमूहरुको ट्होटें पर्व, किन मनाईन्छ ट्होटें? यस्तो छ कारण…

हुम तमु / एचकेनेपाल डट कम –

पोखरा, ३० साउन। तमु समुदायको परम्परागत साँस्कृतिक एवं मौलिक पहिचानको पर्व ट्होटें मंगलवार तमु धिं नेपालको आयोजनामा पोखरामा धुमधामका साथ मनाइएको छ।

पोखरा १ बगर, पुरानो टुडिखेलमा पितृ र प्रकृतिको पूजा गर्दै सुरु भएको उधौली ट्होटें र्याली बागबजार, विन्दवासिनी भैरबटोल, नालाको मुख, सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार हुदै तमु धिं नेपालमा समारोह गरी ट्होटें मनाएको हो।

नेकपाले नेपाल बन्द आव्हान गरेकै दिन परेको ट्होटें र्यालीमा मौलिक भेषभूषा, बाजागाजा, झाँकी र साँस्कृतिक प्रस्तुतिसहित तमूलगायत आदिवासी जनजातिहरुको बृहत सहभागिता रहेको थियो।

टुडिखेलमा धुप हाल्दै ट्होटें र्यालीको प्रारम्भ र तमु धिं नेपालमा आयोजित ट्होटें समारोहको दीप प्रज्वलन गरी उद्घाटन गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रदेस सांसद मनबहादुर गुरुङले ट्होटें पर्वको शुभकामना व्यक्त गर्दै बैरी धपाउने साँस्कृतिक पर्वले सबै खाले बैरीहरुलाई परास्त गर्दै जाने बताए।


ट्होटें र्यालीमा चिउली पार्चे प्रथम

तमु धिं नेपालद्धारा आयोजित ट्होटें र्यालीमा चिउली पार्चे तमु समाज पोखरा प्रथम हुदै पुरस्कृत भएको छ। प्रथम हुदै चिउली पार्चेले १५ हजार नगदसहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत भयो।

र्यालीमा दुधपोखरी दोश्रो हुदै १० हजारसहित ट्रफी, तेश्रो भएको फूलवारी ५ हजारसहित ट्रफी, प्रमाणपत्रबाट पुरस्कृत बन्यो।

यसरी नै बगर, याङजाकोट र तनहु तमु समाज सान्त्वना हुदै जनही ३ हजार र प्रमाणपत्र प्राप्त गरे। झोरा प्रस्तुत गरेको आँधीखोला तमु समाजलाई ३ हजार नगद प्राप्त गरे। प्रमख अतिथि सांसद गुरुङ, ओम डेभलपमेण्ट बैकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले पुरस्कृत गरेका थिए।

के हो ट्वोटें पर्व
तमु जातिको आफ्नै मौलिक पहिचान छ। पहिचानको एक प्रतिक हो, ट्होटें पर्व। ट्होटें पर्व तमु जातिको सभ्यता, ऐतिहासिकता, साँस्कृतिक र एकताको पर्व हो। परापूर्वकालदेखि नै तमु जातिले साउन महिना र चैत्र महिनाको मंगलवार मनाउदै आएका छन्। साउन महिनाको तीन र चैत्र महिनाको तीनवटा मंगलवार तमु गाँउ वस्तीमा ट्होटें पर्व मनाउदथे। तर पोखरामा झरेका तमुहरुले तमु धिं नेपालको अगुवाईमा २०५२ सालदेखि वर्षमा दुईपटक साउनको अन्तिम मंगलवार र चैत्रको अन्तिम मंगलवार सामुहिक रुपमा बृहत रुपमा मनाउदै आएको छ।

ट्हो भनेको तमु भाषामा गाँउ, वस्ती, राज्य भन्ने बुझिन्छ भने टें भन्नाले गाँउ, वस्ती, राज्यबाट बैरी, सत्रुहरुलाई धपाएर आफ्नो बस्ती, राज्य सुरक्षित र सभ्य बनाउने भन्ने बुझिन्छ। ट्होटेंको शाब्दिक अर्थले पनि परापूर्वकालदेखि तमु राज्य थियो भन्ने प्रमाणित गर्दछ।

(सम्पादनसहित)





Comments

comments

Leave a Reply

24425