कञ्चनपुरमै अर्की बालिकाको बलात्कारपछि हत्या!

कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया किशोरी कविता विष्टको बलात्कारपछि भएको हत्यामा पनि प्रहरीले सुरुमा चासो नदिएको पाइएको छ।

जाहेरी दिँदा पनि प्रहरीले चासो नदेखाएपछि पीडित परिवारले नै अभियुक्तलाई समातेर प्रहरीलाई बुझाएको कविताको परिवारले बताएको छ ।

छोरी हराएको दिन २६ असारको दिउँसो मदन गिरी कवितासँगै रहेको परिवारले थाहा पाए । गिरीविरुद्ध इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी पनि दिए । तर, सुरुमा प्रहरीले पक्राउ गर्न नमानेको कविताका बुबा कर्णबहादुरले बताए ।

‘गिरीलाई पक्राउ गर्न प्रहरीलाई पटक–पटक आग्रह गर्‍यौँ, तर सुनुवाइ नभएपछि अभियुक्तलाई हामीले नै समातेर प्रहरीलाई बुझायौँ,’ कर्णबहादुरले भने, ‘मदनकै बयानका आधारमा भरत बोहरा र नवराज महरा पक्राउ परे ।’

तर, प्रहरीले कुनै आधार नै नदेखाई पछि नवराज निर्दोष देखिएको भन्दै छाडेको कर्णबहादुरको भनाइ छ । ‘अहिले त झन् घटनालाई आत्महत्या बनाएर मदन र भरतलाई पनि छाड्ने तयारी गरिरहेका छन् । यसका पछाडि राजनीतिक दबाब छ भन्ने सुनेको छु ।

गरिबको पक्षमा प्रहरीले कहिल्यै काम गरेन,’ उनले भने । मदन र भरतले प्रहरीसँगको बयानमा कविताले आफ्नै जुत्ताको तुना जोडेर रूखमा झुन्डिएर आत्महत्या गरेको र आफूहरू फसिने डरले रूखबाट शव झिकेर गाडेको बयान दिएका छन्। नयाँपत्रिकामा खबर छ।





Comments

comments

24614