वाइड बडी प्रकरणः अनियमितताबारे छलफल गर्न सरकारलाई डाक्यो लेखा समितिले

काठमाडौं, संघीय संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान ल्याउँदाको अनियमितताबारे छलफल गर्न सरकारलाई डाकेको छ।

मंगलबारको समिति बैठकले दुवै विमान ल्याउँदा व्यापक अनियमितता भएको ठहर गर्दै सरोकारवाला मन्त्रालयसहित निगमका पदाधिकारीलाई बोलाउने निर्णय गरेको खबर अन्नपूर्ण पोष्टले छापेको छ।

समितिका सभापति भरत साहले दुवै ठूला जहाज ल्याउँदाका सम्पूर्ण प्रक्रियाको कागजातसहित पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, सचिव कृष्णप्रसाद देवकोटा, निगमका कार्यकारी अध्यक्ष मदन खरेल तथा प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलाई आउँदो आइतबार दिउँसो १ बजे बोलाएको छ।

सभापति साहले निगमले ल्याएका विमान वास्तवमा ‘खरिद’ भएका हुन् वा ‘भाडा’मा लिइएका हुन् तथा विमानको स्वामित्वधारी को हो भन्ने विषय निकै जटिल भएकाले उक्त विषयमा गहन रूपमा छलफल गर्न लागेको बताए। उनले आवश्यक परे छानबिनका लागि उपसमितिसमेत गठन गर्न सकिने जनाए।

महालेखा परीक्षकको कार्यालयले मूल्य र प्रक्रियाबारे बारम्बार गम्भीरताका साथ विषय उठाइरहँदा पनि निगमले अटेरी गरेको समितिको ठहर छ। कार्ययोजनामार्फत विमान भित्र्याएर निगमलाई ‘हरियाली’ बनाउने उल्लेख गरे पनि अन्ततः निगम अधिकारीहरू संस्थालाई टाट पल्टाउन ठूलो भूमिका खेलेको साहले बताए।





Comments

comments

Leave a Reply

25715