वाइडबडीको निर्णय नसच्याए कानुनी बाटो समात्छु

काठमाडौं, पूर्वपर्यटनमन्त्री जितेन्द्रनारायण देवले वाइडबडी खरिद गर्न पहिलो किस्ता भुक्तानी गर्न सटही सुविधा प्रदान गर्न आफ्नो संलग्नता देखाइएको र नैतिक जिम्मेवारी लिनुपर्ने सार्वजनिक लेखा समितिको निर्णयप्रति विज्ञप्ति जारी गरेका छन्।

तत्कालीन पर्यटनमन्त्री आफूलाई देखाउँदै नैतिक जिम्मेवारी लिनुपर्ने भनिएकोतर्फ नेता देवले २९ जेठ ०७४ मा पर्यटनमन्त्री नरहेको स्पष्ट पारेका छन् । सार्वजनिक लेखा उपसमितिले सो मितिमा आफूलाई मन्त्री रहेको र नैतिक जिम्मेवारी लिनुपर्ने किटान गरेकाले तत्काल सच्याउन उनले माग गरेका छन् ।

‘सार्वजनिक रूपमा आत्मालोचना गरी सो अंश अविलम्ब प्रतिवेदनबाट हटाउन माग गर्छु । अन्यथा, म कानुनी बाटो समाउन बाध्य हुनेछु,’ सांसद देवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २५ वैशाख ०७४ देखि १ चैतसम्म जितेन्द्रनारायण देव पर्यटनमन्त्री रहेको भन्दै सार्वजनिक लेखा समितिमा विवरण पठाएको र सोही आधारमा लेखा उपसमितिले प्रतिवेदन तयार गरेको थियो । तर, २३ जेठ ०७४ देखि नै आफू पदमा नरहेको देवले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ।





Comments

comments

Leave a Reply

26501