मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटनाको कारण भीषण हिमपात र हिमाली आँधी

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर अत्यन्त प्रतिकूल मौसमका कारण दुर्घटनामा परेको जाँचबुझ आयोगले ठहर गरेको छ।

मन्त्री अधिकारी सवार हेलिकोप्ट उडेलगत्तै भीषण हिमपात र हिमाली आँधी आएकाले हेलिकोप्टर नियन्त्रणबाहिर पुगी ३५ सेकेन्डमै दुर्घटनामा परेको आयोगको ठहर छ । तेह्रथुम जिल्लाको चुहानडाँडामा भएको औपचारिक कार्यक्रममा सहभागी भई ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी काठमाडौं फर्कने क्रममा हेलिकोप्टर उडेको ३५ सेकेन्डमा दुर्घटनामा परेको जाँचबुझ आयोगले जनाएको छ।

त्यसवेलाको मौसममा हिमपात परिरहेको र चिसोसमेत भएको अवस्थामा क्याप्टेनले उड्न सकिने अनुमानसहित हेलिकोप्टर उडाएको तर उडेलगत्तै भीषण हिमपात र आँधीसमेत आएको जनाएको छ । हेलिकोप्टरले उडेर उचाइ लिनसमेत नपाउँदै त्यसैवेला तीव्र गतिमा हावा चल्दा हेलिकोप्टर असन्तुलित भई दुर्घटनामा परको आयोगले ठहर गरेको छ।

आयोगले बुधबार पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा पाथीभरा उच्च स्थानमा रहेको र क्याप्टेनले अक्सिजन लिए–नलिएको यकिन हुन नसक्दा उनमा अक्सिजनको कमीबाट उत्पन्न हुने अवस्था (हाइप्रोक्सिया) भएको हुन सक्ने अनुमान गरिएको एक सदस्यले बताए।

जहाजले हतार गरी उडेको र बायाँ टर्न लिन खोज्दा तीव्र हावासहित भीषण हिमपात भएकाले चालकले हेलिकोप्टरलाई नियन्त्रण लिन नसकेको प्रतिवेदनमा उल्लेख छ । त्यहीवेला बादलमा हेलिकोप्टरको दिशा क्याप्टेनले मेसो नपाएको प्रतिवेदनमा उल्लेख छ । जाँच आयोगले हेलिकोप्टर दुर्घटना इन्जिन फेल भएर नभएको ठहरसमेत गरेको छ।

गत फागुन १५ गते बिहान ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित तारेढुंगा सिस्नेभीरमा भएको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ तथा निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहालको निधन भएको थियो । त्यसैगरी यति एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेसमेत ७ जनाको निधन भएको थियो।

त्यसपछि सरकारले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय जाँच आयोग गठन गरेको थियो । यस आयोगले बुधबार आफ्नो प्रतिवेदन मन्त्रालयमा बुझाएको हो। यो खबर नयाँपत्रिका दैनिकमा दिवाकर पन्तले लेखेका छन्।





Comments

comments

30148