पोखरा आसपासका गाँउ गाँउमा पर्यटक प्रहरी

पोखरा एफएम / एचकेनेपाल डट कम –
पोखरा, २१ मंसिर। पर्यटक आवागमनलाई मध्य नजर गर्दै कास्की प्रहरीले पोखरा आसपासका पर्यटकीय क्षेत्रहरुमा प्रहरी पोष्टको स्थापना गरेको छ।

पोखरामा मात्र सिमित रहेको पर्यटक प्रहरी अन्य पर्यटकीय गन्तव्यमा पनि परिचालन गर्न लागिएको हो। पर्यटकीय गाउँ घान्द्रुक, घोरेपानी र विरेठाँटीमा शुक्रबारदेखि पर्यटक प्रहरी परिचालन गरिएको पोखराका पर्यटक प्रहरी प्रमुख प्रहरी निरिक्षक मोहनमणि अधिकारीले पदयात्रामा गएका पर्यटकलाई सुविधा र सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी परिचालन गरिएको बताए। अधिकारीका अनुसार हालका लागि घान्द्रुक र धम्पुसमा ३–३ जना तथा वीरेठाँटीमा २ जना पर्यटक प्रहरी खटाईएको छ।

त्यहाँ खटिएका प्रहरीले घान्द्रुक , धम्पुस र वीरेठाँटी गएका सबै स्वदेशी तथा विदेशी पर्यटकको तथ्यांक राख्नुका साथै कुनै समस्या परे सघाउनेछन्। उक्त क्षेत्रमा खटिएका सबै प्रहरी १२ कक्षा उत्तिर्ण रहेको र उनीहरुलाई अंग्रेजी भाषामा विदेशी पर्यटकसँग कसरी कुरा गर्ने र पर्यटकलाई आईपर्ने सम्भावित समस्याबारे प्रशिक्षण दिइएको प्रहरी निरिक्षक मोहनमणि अधिकारीले बताए।

वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक अमर थापा क्षेत्रीले पर्यटकीय मौसम सुरु भएपछि एकठाउँको प्रहरी अन्य ठाउँसम्म आउजाउ गर्नेगरि ‘क्रस युनिट’ गस्ती गराउने तयारी भएको पनि बताए। अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्ने यी ठाउँमा गएका पर्यटकले अब ढुक्क भएर भ्रमण गर्न सक्ने एक्याप निर्देशक लालप्रसाद गुरुङले बताए।





Comments

comments

3174