न्यायाधीश बमका हत्याराको यस्तो रहेछ विगत

काठमाडौं, २० पुस। मधेस आन्दोलन उत्कर्षमा पुगेका बेला सर्लाहीको हरिवनमा पहाडी समुदायले चुरेभावर राष्ट्रिय एकता पार्टी बनाएर अर्को आन्दोलन गरे। आन्दोलन गर्न युवादस्ता परिचालन गर्ने मुख्य भूमिकामा थिए बाबु भनेर चिनिने मेघबहादुर थापा।

२०६३ साल फागुनतिर चुरेभावर प्रदेश माग गर्दै गठन भएको उक्त पार्टीमा नेपाली कांग्रेसका नेता केशब मैनाली अध्यक्ष भए। पार्टी अध्यक्ष जो भए पनि युवाको नेतृत्व गर्ने थापा निर्णाक र सर्वेसर्वा थिए। उनको सहमतिबिना कुनै निर्णय वा काम हुन सम्भव थिएन। सुरुवातमा लगभग पार्टीका सबै आन्दोलन उनले नै हाँकेका थिए।

लगातार हुने राजमार्ग बन्द उनकै भूमिकामा सफल भएको थियो। उनको बन्दमा केही पनि चल्न सक्दैनथ्यो। अध्यक्ष मैनालीले छाड्न सिफारिस गरेकालाई पनि उनी रोक्थे। पार्टीमा उनकै दादागिरी चल्थ्यो। आजको कान्तिपुर दैनिकमा खबर छ।

चुरेभावर गठनअघि गाउँघरमा मात्रै चिनिएका थापा सशक्त आन्दोलनको अगवाइ गरेकी कारण देशव्यापी पहिचान बनाउन सफल भए। उनको पहिचान राजनीतिकभन्दा पनि लडाकुको थियो। राजनीतिक आडमा उनको दादागिरी निकै फस्टायो। आन्दोलन हाँक्ने शक्ति र स्रोत उनैले जुटाउने भएकाले उनको निर्णय सबैले मान्थे। अघोषित पार्टी प्रमुख उनी नै थिए।

थापा पछि पार्टीको बरिष्ठ उपाध्यक्ष पनि भए। ढुंग्रखोला गाविसको मिलनचोक बस्ने थापा चुरेभावर लडाकु दस्ता ‘शान्ति सेना’ को कमान्ड गर्थे। सयौं युवा एकैपटक जुटाउन सक्ने क्षमताले उनलाई लगातार पार्टी र पहाडी बहुल राजमार्ग क्षेत्रमा बलियो बनाइराख्यो। चित्त नबुझ्दा जोसुकैसँग जाइलाग्ने स्वभावका कारण उनको डर व्याप्त थियो। आन्दोलतरत पार्टीलाई वार्तामा बोलाउँदा थापा पनि सदस्य थिए।

उनी २०६४ सालमा धनुषाबाट संविधानसभा उम्मेदवार भएर पनि पराजित भएका थिए। चुरेभावरले गरेको आन्दोलनपछि बनेको दबदबालाई उनले आम्दानीको माध्यम बनाए। ठेक्कापट्टामा उनले राजनीतिक आवरणमा भरपूर शक्ति प्रयोग गरे।





Comments

comments

3562