२८ महिनापछि पाकिस्तानको जेलबाट फर्कदा …

काठमाडौं, फागुन १५- ‘बाबा!’ २८ महिनापछि फोनबाटै भए पनि बुबालाई बोलाउन पाउँदा उनमा खुसीको सीमै थिएन। बुबाको आवाज सुनेपछि एकछिन त अवाक् नै भए उनी। अनुहार एकाएक कालो–नीलो भयो। मोबाइल सेट समातिरहेका उनका हात काँपिरहेका थिए।
यति लामो समयपछि बुबासँग बोल्न पाएको, के भन्ने के, शब्द फेला पार्नै सकिरहेका थिएनन्।
केहीबेरमा साहस बटुले र लामो सास फेर्दै बोले, ‘म मीनबहादुर, तपाईंको छोरो!’

पाकिस्तानको कराँचीस्थित जेलमा २८ महिना बन्दी जीवन बिताएर बिहीबार मात्र काठमाडौं आइपुगेका गुल्मी बरागाउँ–३ का मीनबहादुर सर्तुङ्गे मगरले पहिलो फोन बुबालाई नै गरेका थिए। पाकिस्तानस्थित नेपाली दूतावासले उद्धार गरी उनलाई फर्काएको हो। बुधबार मात्रै उनी जेलमुक्त भएको समाचार आजको नागरिक दैनिकले छापेको छ।

पाकिस्तानकै एक संस्था साइवान इन्टरनेसनल वेलफेयर अर्गनाइजेसनले थाइल्यान्ड (बैंकक) हुँदै काठमाडौंसम्मको हवाई टिकट उपलब्ध गराएपछि जेलबाट छुटेकै भोलिपल्ट उनले मातृभूमि टेक्न पाए।

साथमा एक रुपैयाँ नभएका उनलाई अनामनगरस्थित प्रवासी नेपाली समन्वय समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुल्मीस्थित उनको घरसम्म पुर्यासइदिने जिम्मा लिएको छ।

मीनबहादुरको घरको स्थिति यस्तो छ कि, २८ महिना सम्पर्कविहीन भई विदेशी जेल बसेर फर्कंदा पनि उनलाई काठमाडौंमा लिन आउनेसम्म कोही भएन। आफन्त, नातागोता नभएर होइन, काठमाडौंसम्म आउने खर्च नभएर।
‘कहिले घर आउँछ भा’ छ, सकेसम्म यहाँबाट आजै हिँड्छु,’ समितिको अनामनगरस्थित सेल्टरबाट उनी बुबालाई भन्दै थिए। जेल बस्दा उनलाई कहिल्यै परिवारका सदस्यसँग सम्पर्क गर्न दिइएको थिएन।

‘घरमा कुराकानी गर्ने?’ सोध्नेबित्तिकै मीनबहादुरले बुबाको नम्बर खरर्र भनिहाले। ७७ वर्षीय बुबाको मोबाइल स्विच अफ थियो। फोन डायरीको पाना पल्टाउँदै उनले भाउजूलाई फोन गरे। बुबा त्यही मोबाइलमा भेटिए।

‘मोबाइल स्विच अफ नराख्नुस् है, म बुटवल आइपुगेपछि फोन गर्छु,’ उत्साहित हुँदै मीनबहादुर बुबालाई भने। उनले ५ हजार रुपैयाँ खर्च तयार राख्न पनि आग्रह गरे बुबालाई। ‘कसैसँग सापट खोजेर भए पनि राख्नुस्, फेरि कमाएर तिरौंला,’ जोडले हाँस्दै उनले कुराकानी टुंग्याए।
उनले बुटबलसम्मको मात्र रात्रिबस भेटे, गाउँसम्म जाने गाडी पाएनन्। शुक्रबार बिहान ५ बजेको गाडीको टिकट लिइएको छ तर गाउँ जान हतारिएका उनलाई जेलमा बिताएको २८ महिनाभन्दा बिहीबारको एकरात लामो हुने पक्का छ।





Comments

comments

4659