काठमाडौं, फागुन १५ – कान्ति बाल अस्पतालको ‘पिआइसियु’ (पेडिनेटनल आइसियु) बाट जबजब सेतो कोट लगाएका डाक्टर र नर्स निस्कन्छन्, बाराका एक दम्पतीका आँखामा त्रास र आस दौडिन थाल्छ।

भेन्टिलेटरमा कृत्रिम श्वासप्रश्वासले बाँचिरहेकी ६ वर्षीया छोरीको स्वास्थ्य स्थिति सुन्न कान ठाडा हुन्छन् उनीहरूका। जब कुनै पनि उपचारले छोरीलाई नछोएको खबर पाउँछन्, उनीहरूको धैर्यको बाँध टुट्छ।

बारा, कलैयामा गत शुक्रबार साँझ बेपत्ता पारिएकी ती बालिका शनिबार बिहान अचेत अवस्थामा फेला परेकी थिइन्। वीरगन्जस्थित नारायणी अस्पतालले उतिखेरै बलात्कार भएको पुष्टि गरेको थियो। आइतबार अचेत अवस्थामै उनलाई हेलिकप्टरमा कान्ति बाल अस्पताल ल्याइयो। त्यसयता ती बालिकाको स्वास्थ्यमा एकरत्ति प्रगति भएको छैन, उल्टो खस्कँदै गएको समाचार आजको नागरिक दैनिकले छापेको छ।

उपचारमा संलग्न वरिष्ठ बालरोग विशेषज्ञ डा.चन्देश्वर महासेठका अनुसार बालिकाको स्वास्थ्यमा सुधारको सम्भावना कम छ। ‘चमत्कारै भयो भने पनि होसमा फर्किने अवस्था रहन्न,’ उनले भनिन्।

भेन्टिलेटरको सहायतामा सास र मुटु चले पनि मस्तिष्कले प्रतिक्रिया दिन छाडेको उनले बताए। ‘सबै भर भेन्टिलेटरको छ, भेन्टिलेटर बन्द गरे सास र मुटु एकसाथ चल्न छाड्छ,’ महासेठले भने, ‘हामीले उनका सबै अंगको रेस्पोन्स बढाउन सम्भव भएसम्मका विकल्प प्रयोग गरिसक्यौं।’
बालिकाका बाबुले पनि स्थिति नाजुक रहेको स्विकारिसकेका छन्। जतिजति दिन घर्किंदैछ, उनको त्रास उति बढ्दैछ, आशाको दियो उति धिपधिप हुँदै गएको छ।

‘आज डाक्टरसा’बले उपचारखर्च कहाँबाट ल्याएका छौ भनेर सोध्नुभयो,’ साथीभाइ र आफन्तसँग सहयोग जुटाएर खर्च गरिरहेका उनले भने, ‘मैले छोरीको जीवनका लागि जहाँबाट भए पनि ल्याउँछु भनेँ।’

आमाबाबुले दिनको एकचोटि छोरीलाई हेर्ने अनुमति पाएका छन्। आमा प्रायः छिर्दिनन्, छिर्नै सक्दिनन्। बाबु जान्छन्। एकटकले छोरीको मुहार हेरिरहन्छन्। पखेटा चुँडिएको पन्छीजस्तो अस्पताल शऒ्ढयामा निस्तेज लडिरहेकी छोरीको मुहार हेर्दा बाबुसामुन्ने तिनटा दृश्य फन्फन्ती नाच्छ– सानी छोरीको छुनुमुनु, हाँसो र अबोध बालापान।

उनी छटपटाउँछन्। छोरीमाथि भएको यो बर्बर अपराधले उनका दाँत किटकिटाउँछन्। अनि एकछिन कोठाभित्र नबसी फुत्त बाहिर निस्किहाल्छन्।
‘बाहिरको कोलाहल पनि शून्य लाग्छ, सधैं छुकछुक गर्ने छोरी जो साथमा छैनन्!’ उनले भने, ‘मेरी छोरीको ज्यान अब ईश्वरको हातमा छ, उसलाई यो स्थितिमा पुर्या उनेलाई ईश्वरले कहिल्यै माफ गर्नेछैनन्, त्यसले कडाभन्दा कडा सजाय पाउनुपर्छ।’



.















Comments

comments