एनआरएन भवन निर्माणका लागि मलेसियाबाट ४६ लाख सहयोग

एचकेनेपाल डट कम संवाददाता –
क्वालालम्पुर। गैरआवासीय नेपाली संघको काठमाणडौंमा केन्द्रीय कार्यालय भवन निर्माणका लागि मलेसियामा कार्यरत नेपालीहरुले ४६ लाख रुपैयाँ संकलन गरेका छन्।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेको उपस्थितिमा फेब्रुअरी २८ तारिख शनिवार क्वालालम्पुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी नेपालीहरुले सो रकम संकलन गरेका हुन्। गैरआवासीय नेपाली संघ मलेसियाको आयोजनामा भएको सो कार्यक्रममा एनआरएन अध्यक्षले घलेले एनआरएन कार्यसमिति सदस्य, नेपाली ब्यबसायी, बुद्धिजीवी र समुदायका अगुवाहरुसँग छलफल गरेका थिए।

मलेसियाका लागि नेपाली राजदूत डा. निरन्जन मानसिंह बस्न्यातको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा, एनआरएनका सल्लाहकार एवं एशिया प्यासिफकका फण्ड रेइजिङ कमिटि प्रमुख त्रिलोक गुरुङ पनि उपस्थित थिए। सो अबसरमा अध्यक्ष घलेले मलेसियामा कार्यरत श्रमिकका समस्याबारे चासो र चिन्ता ब्यक्त गर्दै अप्ठेरोमा परेका नेपाली कामदारको उद्धारका लागि गैरआवासीय नेपाली संघ र नेपाली राजदूतावासवीच भएको सहकार्यको प्रशंसा गरे।

बिदेशमा कार्यरत नेपाली दाजुभाईको राहतका लागि आफ्नो अगुवाईमा बैदेशिक रोजगार कल्याणकारी कोषको स्थापना गरेको जानकारी दिँदै घलेले मलेसियाजस्तो मुलुकका नेपाली दाजुभाई यो कोषबाट सवैभन्दा धेरै लाभान्वित हुने बताए।

काठमाडौमा आफ्नै भवन निर्माण गर्नु संसारभर छरिएर रहेका नेपालीको एकताको प्रतिक रहेको भन्दै अध्यक्ष घलेले यो अभियानमा साथ दिने मलेसियास्थित नेपालीलाई धन्यवाद दिए। ‘हामीले मलेसियाबाट यति धेरै रकम जुट्ला भन्ने अपेक्षा गरेका थिएनौं’ अध्यक्ष घलेले भने–‘यहाँका नेपालीहरुको जाँगर र मेहेनतले हामीलाई निकै उत्साहित बनाएको छ।’

सो अबसरमा मलेसियामा स्थापित नेपालका मुख्य दुई मनी ट्रान्सफर आईएमई र प्रभु मनी ट्रान्सफरले ७–७ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्।

योसँगै एनआरएन भवन निर्माणका लागि बिश्वभरका नेपालीले प्रतिबद्धता जनाएको रकम करिव १८ करोड पुगेको छ। गैरआवासीय नेपाली संघले झण्डै १३ करोडको लागतमा काठमाडौको बालुवाटारमा भवन निर्माणका लागि जग्गा खरिद गरिसकेको गैरआवासीय नेपाली संघ सचिवालय जनाएको छ। भवन निर्माणका लागि झण्डै २० करोड लाग्ने अनुमान गरिएको छ। भवनको शिलन्यास प्रधानमन्त्री सुशील कोइरालाले आगामी मार्च ९ तारिखमा गर्ने कार्यक्रम छ।





Comments

comments

4739