ओस्कार अवार्ड विजेता अभिनेत्री घर बनाउन सघाउँदै

काठमाडौं- हलिउड अभिनेत्री सुसान सरान्डनले नेपालका भूकम्पपीडितका लागि घर बनाइदिने अभियानको थालनी गरेकी छिन्। यसै स्वरुप उनले आइतबारै सेतो गुम्बा क्षेत्र नजिकै रामकोटका नौवटा गाउँमा घर बनाइदिने भन्दैै दुइटा घरको उद्घाटन गरिन्।

‘लिभ टु लभ इन्टरनेसनल’ नामक संस्थासँगको सहकार्यमा सो गाउँमा २ सय १ वटा घर बनाइदिने उनको योजना छ। मनसुन सुरु हुनु अगावै ती घरहरु सक्ने र अमेरिका पुगेर थप सहयोगको अपिल गर्ने ६८ वर्षीया उनले सो गाउँमा पुगेर प्रतिवद्धता व्यक्त गरिन्।

‘नेपाल भ्रमणको तयारी गरिरहेकी थिएँ, तर अवसर मिलेकै थिएन,’ घर रिबन काट्नुअघि उनले सर्वसाधरणमाझ उभिएरै माइकमा भनिन्, ‘यो विपत्तिले आउने मौका जुटाइदियो । म सक्दो सहयोग गर्छु । यो सहयोगको साझेदार हुन पाएकामा पनि खुसी छु।’

त्यसपछि सबैले ताली पिटे। मनसुन आउनुअघि घर बनाइसक्ने उनको चाहना छ। ‘म अमेरिका फर्किन आतुर छु, ताकि यहाँको मैले देखेको समस्या बताएर सहयोग जुटाउँछु,’ उनले भन्दै थिइन्, ‘यहाँ कतिपय बालबालिका पनि छन् । जसलाई मनसुनअघि सुरक्षित बासको अत्यन्तै खाँचो छ।’

यति भनेपछि उनले नेपालको पर्यटन क्षेत्र फेरि फस्टाउने हौसला प्रदान गरिन्। ‘नेपालमा अझै पनि पर्यटकका लागि ठाउँ सुरक्षित छन् । नेपालमा फेरि पनि पर्यटक आउन सक्छन्,’ उनले भनिन्, ‘म पनि पछि यहाँ आउनेछु।’

नेपालको पञ्चकन्या समूह र व्यावसायिक संगठनहरुले उनलाई घर बनाउन सहयोग गर्नेछन् । प्राविधिकहरुको डिजाइन र युएनले स्वीकृत गरेको गाइडलाइनमा आधारित रहेर परिवार र स्वयमसेवकको सहयोगमा निर्माण गरिने जनाएका छन्।

सुसानले आइतबार ७७ वर्षीया साइली तामाङको घर उद्घाटन गरेकी थिइन्। त्यसपछि भूकम्पमा पति र छोरी गुमाएकी नीरमाया तामाङको पनि घर उद्घाटन गरेकी थिइन्। घर स्टिलको फ्रेम प्रयोग गरेर बनाइनेछ। पञ्चकन्या समूहले यो कार्यक्रमका लागि करिब १० लाख रुपैयाँ सहयोग सहित २ सय १ वटै घरका लागि शौचालय बनाइदिने प्रतिबद्धता गरेको समाचार नागरिक दैनिकमा छ।

पञ्चकन्य समूहका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले अभियानको साझेदार हुन पाएकामा खुसी व्यक्त गरे । ‘सुसानसँग भूकम्प पिडितका लागि सहयोग गर्न पाउनु हाम्रो अवसर पनि हो,’ उनले भने, ‘पञ्चकन्याले निर्माण सामाग्री उत्पादन गरिरहेकामा यहाँ घर बनाउँनका लागि हामीले पनि योगदान दिएका हौं । साथै सबै घरमा शौचालय पनि बनाइदिने प्रतिबद्धता छ।’

सानो औपचारिक कार्यक्रमपछि मिडियासँगै बोल्दै सुसानले पहिलोपटकको भ्रमणमै यस्तो सहयोग गर्न पाएकामा पछि पनि सहयोग जुटाएरै नेपाल फर्किने बताइन् । ‘घर भत्किएर बाँकी रहेका इँटा, काठ लगायतको प्रयोगमा सानो घर बनाउन सकिन्छ,’ उनले भनिन्, ‘मेरो सहयोगले बनेका घरले सर्वसाधारणलाई परेको प्रभावबारे बुझ्न फेरि आउँछु।’

सन् १९९५ को ‘डेड म्यान वाकिङ’ फिल्मबाट उत्कृष्ट अभिनेत्रीतर्पm अस्कर अवार्ड जितेकी सुसान ‘एटलान्टिक सिटी’, ‘थेल्मा एन्ड लुइज’, ‘लोरेन्जोज अयल’, ‘द क्लाइन्ट’ लगायत फिल्मले बढी चर्चा कमाउन सफल रहे।





Comments

comments

Leave a Reply

6694