मिस पोखराका प्रतिस्पर्धीहरुले देखाए आफ्नो प्रतिभा

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
पोखरा, ९ पुस । ‘ग्राण्ड फिनाले’को मिति नजिकिँदै गर्दा सबैको मनमा एउटै हुटहुटी देखिन्छ, कि कस्तो होला सातौँ सँस्करणको मिस पोखरा ? सातौँ सँस्करणको मिस पोखराको ताज आफ्नो पोल्टामा पार्नका लागि यतिबेला २० जना प्रतिस्पर्धीहरु मैदानमा छन्। र, अरुभन्दा अगाडि आउने होडमा उनीहरुले मिहिनेत पनि खुब गरेका छन्।

प्रशिक्षणको क्रममा रहेका ‘कोलगेट भिजिबल ह्वाईट मिस पोखरा’का सहभागीहरुले बुधबार आ–आफ्नो अन्तरनिहित प्रतिभा देखाए। बुधबार भएको ‘ट्यालेन्ट राउण्ड’मा उनीहरुले विभिन्न खाले प्रतिभा देखाएका हुन् । गायन, नृत्यसँगै विभिन्न विषयमा बक्तृत्वकला उनीहरुले देखाएका थिए।

बुधबार भएको ट्यालेन्ट राउण्ड कार्यक्रममा पोखरा उपमहानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत ओमराज पौडेल, छैठौँ सँस्करणको मिस पोखरा विजेता रश्मी अधिकारी, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाट र संगीतकार तथा कोरियोग्राफर जयकुमार परियार निर्णायक रहेका थिए।

बुधबार प्रतिस्पर्धीहरुले देखाएको विभिन्न प्रतिभाहरु मध्ये उत्कृष्ट हुने एक जनाले ग्राण्ड फिनालेको दिन ‘मोस्ट ट्यालेन्टेड’ उपाधि पाउने आयोजकले जनाएको छ । पोखरा जेसिजको आयोजना र ‘ईभेन्ट्स फर यू’को सातौँ सँस्करणको मिस पोखराको ग्राण्ड फिनाले पुस १५ गते पोखरा सभागृहमा हुँदैछ।

‘ग्राण्ड फिनालेलाई लिएर यतिबेला सबैले तयारीलाई तीव्र पारेका छौँ ।’ सातौँ मिस पोखराका संयोजक किरण केसीले भने–‘यो पटक निकै भव्य तरिकाले हामीले ग्राण्ड फिनाले कार्यक्रम गर्नेछौँ ।’ आयोजकको तर्फबाट सबै मिलाउनुपर्ने कुराहरु मिलाउन पोखरा जेसिज टिम नै लागिपरेको उनले सुनाए।

यस्तै व्यवस्थापनको जिम्मा लिएको कम्पनी ‘ईभेन्ट्स फर यू’ पनि ग्राण्ड फिनालेलाई लिएर निकै आशाबादी देखिएको छ । ‘एउटा ईभेन्ट कम्पनी जोडिईसकेपछि मिस पोखराको ग्राण्ड फिनाले भव्य र सभ्य हुनैपर्छ ।’ ईभेन्ट्स फर यूका अध्यक्ष विशाल गुरुङले भने–‘आयोजक र दर्शकको सोँच अनुसारकै ईभेन्ट हामी गर्नेछौँ ।’ प्रशिक्षण राउण्डसँगै ग्राण्ड फिनालेका लागि आवश्यक प्रचारप्रसार र व्यवस्थापनको काम तीव्र भैरहेको उनले बताए।

मिस पोखराको सातौँ सँस्करणको विजेताले पुरस्कार स्वरुप पचास हजार नगद, एउटा स्कुटर र गोल्डेन क्राउन प्राप्त गर्नेछिन् । पोखराको हकमा सुन्दरी प्रतियोगिताको विजेतालाई गोल्डेन क्राउन पहिराउन लागिएको यो पहिलो पटक हो । त्यस्तै प्रतियोगिताको फस्ट रनर अपले ३० हजार रुपैयाँ र सेकेन्ड रनरअपले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । मिस पोखराको विजेताले विभिन्न खाले अवसरसँगै सोझै मिस नेपालमा सहभागिता समेत जनाउन पाउनेछिन् ।

मिस पोखराको सातौँ सँस्करणको लागि २३ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ। ईभेन्टबाट करिब २७ लाख रुपैयाँ आम्दानी गर्ने उसले लक्ष्य लिएको छ । कोलगेट ह्वाईट भिजिबल मिस पोखरा २०१५ को को–स्पोन्सरमा एब्सिका ईन्टरनेशनल एजुकेशन, सब स्पोन्सरमा ग्लोबल रिच एजुकेशन सर्भिसेज प्रा लि, स्पोन्सरमा कान्तिपुर डेन्टल हस्पिटल, चेरिष्मा ईम्पोरियम एण्ड बुटिक र प्रथम पुरस्कार स्पोन्सरमा ग्लोबल मोटर्स प्रालि रहेका छन्।

तस्वीरः सुदर्शन रञ्जित





Comments

comments

Leave a Reply

10171
%d bloggers like this: