हङकङमा यसरी मनाइयो ‘पुर्खा दिवस २०१६’

देवराज राई / एचकेनेपाल डट कम –
हङकङ। पुर्खाले गरेको योगदानलाई सम्झदैं अप्रेल ५ तारिख हङकङमा गोर्खा सिमेट्री ट्रष्टकोको आयोजनामा नेपाली अल्पसंख्यक समुदाय एवं स्थानीय चिनियाहरुको सहभागितामा सानटिनस्थित गोर्खा सिमेट्री पुर्खादिवस २०१६ सम्पन्न भएको छ।

गएको वर्षहरु जस्तै व्यवस्थित रुपमा आयोजित कार्यक्रममा अस्थायी रुपमा निर्माण गरिएको स्तम्भमा पुष्प गुच्छा अर्पण गरिएको थियो।

विभिन्न विद्यालय एवं विश्व विद्यालयका विधार्थीको उपस्थितिमा तिनका अभिभावक, प्रिन्सिपल,शिक्षक कर्मचारी, स्थानीय नेता, विदेशी मूलका शिक्षकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, भूपू सैनिक र तिनका परिवारहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीवर्गबाट श्रद्धाञ्जलि सृजनाहरु प्रस्तुत गरेका थिए।

बृटिश गोर्खा भूतपूर्व सैनिक संघका अध्यक्ष हेमप्रताप गुरुङ प्रमुख अतिथिको रुपमा उपस्थित रहेको कार्यक्रममा भारतीय गोर्खा भूतपूर्व सैनिक संघ हङकङको सदस्यहरुको समेत उपस्थिति रहेको थियो।

हङकङमा पुर्खा दिवस गोर्खालीहरुको समाधिस्थल रहेको सानतिन गोर्खा सिमेट्रीमा हरेक वर्ष पुर्खाहरुको योगदानलाई कदर गर्दै यहाँका नेपालीहरुले पुर्खादिवस मनाउँदै आएका हुन्।

पुर्खा दिवस २०१६ कार्यक्रममा हङकङ नेपालीज फाउण्डेशनका अध्यक्ष किसन राईले स्वागत मन्तव्यसहित कार्यक्रम बारेमा प्रकाश पार्नु भएको थियो।

कार्यक्रममा पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुल, ड्वीट अनलाईन ओपन वल्ड स्कुल, बेथल हाईस्कुल, र्सीएमए माध्यमिक विद्यालय, आईकेटीएमसी विद्यालय, लिप्पो चुन वल्ड कलेजका विधार्थीहरुले पुर्खालाई सम्झदै नेपाली, अंग्रेजी भाषामा आफ्ना भावनाहरु प्रस्तुत गरेका थिए।

सन् २००५ सालदेखि हरेक वर्ष ५ अप्रेलका दिनलाई पुर्खादिवसको रुपमा मनाउन थालिएको विशेष दिन हङकङमा भव्यरुपमा आयोजना हुँदै आएको छ।

हङकङका सरकारी विद्यालयहरुमा पुर्खादिवस कार्यक्रमलाई विद्यालयको क्यालेण्डर तथा पाठ्यक्रममा समेत संलग्न गराइ पुर्खा दिवस मनाउन थालिएको हो।

गोर्खा सिमेट्रज ट्रष्टले पुर्खादिवसलाई विश्व पुर्खा दिवसको रुपमा विकास गर्दै लैजाने बताएको छ। ट्रष्टकाअनुसार बेलायत सरकार, कमनवेल्थ वल्ड ग्रेभ्स कमिशन् र गोर्खा सिमेट्री ट्रष्टको संयुक्त कार्यसम्पादनमा विश्वभर छरिएर रहेका गोर्खा समाधिहरुको पत्ता लगाउँदै तथ्याङ्क निकाल्दै तिनीहरुको संरक्षण र संबर्द्धनको काममा पहल गर्दै लैजाने, सनाखत नभएका गोर्खाहरुको नामावली तयार पार्दै लैजान, नेपाली इतिहासमा यतिञ्जेल छाँयामा पारिएको यति ठूलो गोर्खा हिस्सालाई समुदायबीच ल्याउँदै नेपाली इतिहासलाई परिपूर्णता दिने काममा मद्दत गर्दै लैजाने जनाएको छ।

हङकङमा सम्पन्न भएको पुर्खा दिवसमा द चाईनिज युनिभर्सीटी अफ हङकङ, हङकङ युनिभर्सीटीका प्रोफेसर, रिसर्चर विधार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमलाई हङकङ नेपलीज फाउण्डेशनले संयोजनकारी भूमिका निर्वाह गरेको थियो । फाउण्डेशनले विभिन्न सरकारी विद्यालयहरु, सरकारी विभागहरुसँग मिलेर माइनोरिटिज एवं नेपालीहरुको विषयमा कार्य गर्दै आएको छ।

अमोद राई र देवराज राईको संचालनमा सम्पन्न कार्यक्रमलाई बृटिश गोर्खा भूतपूर्व सैनिक संघ, भारतीय गोर्खा भूतपूर्व सैनिक संघ, नमस्ते होल्डिङ लिमिटेड, चाईल वेलफेयर स्कीम, अल्फा ट्राभल, मनकामना रेष्टुरेण्ट, लिङमा कन्ट्रक्शन एण्ड ईञ्जीनीयरीङ, सयपत्री डटकम र एचडीडी स्टुडियो एचकेले प्रायोजन गरेको थियो।


हङकङममा कसरी मनाईन्छ त पुर्खा दिवस? हेर्नुहोस् पुर्खा दिवसको फाईल भिडियो

तस्वीरः जगतअम्बु गुरुङ । थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

11888