जेलबाट छुटेका ‘डन’ ले यसरी कमाए ५ करोड…

काठमाडौं । राजधानीका क्यासिनोमा नेपाली प्रवेशलाई प्रहरीले कडाई गरेपछि क्यासिनोका दलालहरुले घर, अपार्टमेन्ट र होटलका कोठा बुकिङ गरेर जुवा खेलाउन थालेका छन् । यसरी जुवा खेलाउनेमा गुण्डाका नाइके देखि पेशेवर जुवाडेसमेत छन्।

उनीहरुले क्यासिनो कै शैलीमा जुवा खेलाउन थालेका हुन् । यति सम्म कि त्यस्ता जुवा अखडामा हारेका जुवाडेलाई पैसा लगानी गर्ने दलालहरु पनि सलबलाउन थालेका छन्।

दुई महिना अघिमात्र जेलबाट छुटेका काभ्रेली समूहका गुण्डा नाइके दावा लामासमेत अहिले जुवा अखडा सञ्चालन गर्न थालेका छन् । लामाले जुवा खेलाएरै पाँच करोड असुलेको स्रोत बताउँछ । लामाको समूहले नयाँ बानेश्वर, नयाँबजार, लाजिम्पाट क्षेत्रमा प्रिपेड शैलीमा जुवा खेलाउँदै आएको छ । लामाको समूहमा जेलबाट सँगै छुटेका बिरेन ठकुरीलगायत आधा दर्जन व्यक्ति सक्रिय छन्।

त्यस्तै, क्यासिनोमा दलाली गर्ने प्रितम भन्ने बलराम गिरी पनि ठूलो जुवा अखडा चलाउने गिरोहका नाइके हुन् । गिरीले लाजिम्पाट र नयाँबजार क्षेत्रमा जुवा खेलाउँदै आएका छन् । पछिल्लो समय गुण्डा दावा र गिरीले पार्टनरको रुपमा समेत जुवा खेलाउँने गरेको स्रोत बताउँछ ।

व्यवसायीक रुपमा दश बर्ष देखि दोलखाका नारायण खड्काले जुवा खेलाउँदै आएका छन् । खड्काको समूहले अहिले पनि प्रिपेड शैलिमा जुवा खेलाउँदै आएको छ । पटक–पटक खड्काको जुवा अखडामा प्रहरीले छापा मारे पनि उनले जुवा खेलाउन छाडेका छैनन् । खड्काले हाल गौशाला, नयाँबानेश्वर, पुरानो बानेश्वर क्षेत्रमा जुवा खेलाउँदै आएको खबर यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ।

यस्ता अखडामा राजनीतिककर्मी देखि सेना, प्रहरी र निजामती कर्मचारीका हाकिमसमेत भेटिदै आएका छन् । क्यासिनो झै म्यारिज टुबुल राखेर जुवा खेलाउने अर्का नामुद जुवाडे हुन् राम तामाङ । तामाङले आधा दर्जन घर भाडामा लिएर जुवा खेलाउँदै आएका छन्।

तमाङले पनि जुवा अखडालाई ब्यावसायिक रुपमै अंगालेका छन् । उनको जुवा अखडा बाह्रै महिना सञ्चालन हुन्छ । तमाङले बालुवाटार, चच्पल कारखाना पछाडि, नारायणस्थानमा जुवा अखडा सञ्चालन गर्दै आएका छन्।

क्यासिनो कै शैलिमा घर घरमै सञ्चालन भएका जुवा अखडामा करोडौंको रुपैयाँको खेल हुने गरेको छ । प्रहरीबाट बच्न जुवाडेहरुले अखडाको नाम ‘प्रिपेड मोबाइल’ बताउने गरेका छन्।

पुरानो बानेश्वरमा रहेको नेत्रकमल छुनामुना बिद्यालय अगाडि मदनबहादुर कंडेलले जुवा अखडा सञ्चालन गर्दै आएका छन्। राजधानीको जुवा अखडामध्ये कंडेलको अखडा टप टेनमा पर्ने एक जुवाडे दावी गर्छन्।

उक्त जुवा अखडामा नेता, कर्मचारी, तस्कर, प्रहरीका हाकिम नै आउने गरेको उनी बताउँछन् । ब्यापारी अमृत गुरुङ, कानून क्षेत्रका सुरेन्द्रशमशेर जबरा, नायक भुवन केसीका बुबा मदनबहादुर केसीलगायतका व्यक्तिहरु जुवाका पारखी भएको उनी थप बताउँछन्।

त्यस्तै, बौद्ध चुच्चेपाटी क्षेत्रमा खेमबहादुर श्रेष्ठले क्यासिनो शैलिमा जुवा अखडा सञ्चालन गर्दै आएका छन् । पार्किङको राम्रो ब्यबस्था भएको बंगलामा किचेन र बारसहितको सेवा सुविधासहित दिएर ब्यबसायिक रुपमै यस्ता अखडाहरु सञ्चालनमा आउन थालेका छन्।

क्यासिनोकै शैलिमा राजधानीका टोलटोलमा जुवा अखडा सञ्चालन भइरहे पनि प्रहरीले त्यसको सुईंको नपाएको जस्तो नाटक गर्दै आएको छ।





Comments

comments

Leave a Reply

11895