गैरकानुनी व्यवसायलाई सरकारले छुट दिँदैन : उपप्रधानमन्त्री पौडेल

रुपन्देही । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरकानुनी व्यवसायलाई सरकारले छुट नदिने बताएका छन् । सरकारले व्यवसायीलाई दुःख नदिने र अमर्यादित व्यवहार नगर्ने पनि उनले स्पष्ट पारे ।

युवा उद्यमी मञ्च रुपन्देहीले शुक्रवार रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले उद्योगीका समस्या सुन्न र छलफल गरेर समाधान खोज्न सरकार तयार रहेको स्पष्ट पारे । उनले निजी क्षेत्रलाई निर्णय प्रक्रियामा पनि सहभागी गराउने बताउँदै भने, “निजी क्षेत्र माग्ने र सरकार दिने होइन, अब निजी क्षेत्रलाई निर्णय प्रक्रियामा सहभागी गराउँछौँ ।”

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रका विभिन्न सूचकाङ्क सकारात्मक नभएकाले सरकार दबाबमा रहेको बताउँदै त्यसमा सुधार ल्याउनका लागि सरकारले केही योजना अगाडि सारेको बताए ।

सार्वजनिक ऋण बढेको बताउँदै ३० प्रतिशत राजस्व वृद्धि गर्न सके अर्थतन्त्र सन्तुलनमा आउने उनले बताए । उनले भने, “रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ठिक छन् तर आन्तरिक समग्र उत्पादन र माग घटेको छ ।” उनले उद्योगहरूको उत्पादन औसत ४० प्रतिशत मात्रै रहेको भन्दै अर्थतन्त्रको समग्र परिसूचकले अझै दबाबमै रहेको बताए ।

अहिलेको मागअनुसारका योजना अगाडि बढाउनु नै महत्त्वपूर्ण रहेको बताउँदै उनले युवा पुस्ताले देशलाई कसरी सोचेको छ, नेतृत्वबाट के आशा र अपेक्षा गरेको छ भन्ने विषयमा सरकारले निरन्तर चासो राखिरहेको बताए ।

व्यवस्था परिवर्तन मात्रै होइन हामी अवस्था परिवर्तन गर्न पनि तयार छौँ भन्ने सन्देश युवा पुस्ताले दिनुपर्ने बताउँदै अर्थमन्त्री पौडेलले नेपालमै बसेर उद्यम गर्ने सम्भावना धेरै रहेको भन्दै यस्ता सम्भावना अरू मुलुकमा नहुने भन्दै बताए । “विकसित मुलुकहरूमा सीमित क्षेत्रमा काम गर्न सकिन्छ, तर नेपालमा जलविद्युत्, पर्यटन, कृषि र सेवा उद्योग सबै क्षेत्रमा ठुला–ठुला सम्भावना छन्, युवाले देश छाड्ने गल्ती गर्न हुँदैन”, उनले भने, “अहिलेको सरकार नीतिमा स्थिरतासहितको सबैभन्दा बलियो सरकार हो ।”

उद्योगमा लगानी भित्र्याउन रुपन्देहीमा मोतिपुर औद्योगिक क्षेत्र बनाउन लागिएको बताए । रासस





Comments

comments

125814