लण्डनमा यसरी मनाइयो बुद्धजयन्ती

एचकेनेपाल डट कम संवाददाता –
लण्डन। बुद्ध पूर्णिमाको दिन दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको आयोजनामा शनिवार २५६०औ बुद्धजयन्ती भव्य रुपमा सम्पन्न भएको छ ।

गत वर्ष झै यसवर्षको बुद्धजयन्ती कार्यक्रमलाई समाजका सल्लाहकार सुमलकुमार गुरुङले संयोजन गरेका थिए । समाजका अध्यक्ष श्रीचन्द्र गु्रुङको अध्यक्षतामा सम्पन्न प्रथम चरणको कार्यक्रमलाई महासचिव सुमन गुरुङले सञ्चालन गरेका थिए भने दोश्रो चरणको कार्यक्रमलाई समाजका सल्लाहकार योगेश गुरुङले सञ्चालन गरेका थिए ।

कार्यक्रममा विभिन्न बेलायतमा रहेका संघसंस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य उद्धेश्य विश्वमा बुद्ध भगवान नेपालमा जन्मेका थिए भन्ने सन्देशसहित उनले प्रत्तिपादन गरेका दर्शनलाई विश्व सामु उजागर गरी नेपालको गौरव बढाउने प्रयास रहेको थियो ।

कार्यक्रममा मुख्य अतिथिको हैसियतमा रोयल ग्रिनविच बारोका मेयर काउन्सिलर नर्मन अडाम्सको उपस्थिति रहेको थियो । नेपालमा गतवर्ष महाभूकम्पका कारण दिवंगत भएका व्यक्तिहरुको आत्मशान्तिको प्रार्थना तथा उनीहरुका स्मरणमा कार्यक्रमका संयोजक, कार्यकारी समितिका पदाधिकारीहरु तथा उपस्थित विशिष्ट व्यक्तित्वहरुबाट द्वीप प्रज्वलन गरी कार्यक्रम प्रारम्भ गरेको थियो ।

कार्यक्रमलाई दुईचरणमा विभाजित गरेको थियो । प्रथम चरणमा द्वीप प्रज्वलन गरे पश्चात शान्ति पदयात्र र्याली सम्पन्न गरेको थियो । शान्ति पदयात्र सम्पन्न हुनुपूर्व कार्यक्रमका संयोजक सुमल कुमार गुरुङले पदयात्राको दौरान राख्नुपर्ने शान्ति सुरक्षा बारे सम्बोधन गरेका थिए ।

पदयात्रापछि शाकाहारी भोजनको व्यवस्था समाजका उपाध्यक्ष कमला गुरुङको नृतृत्वमा आमा समूहले गरेको थियो । दोश्रो चरणमा विश्व शान्ति पूजा र प्रवचन कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमको अन्तमा संयोजक सुमलकुमार गुरुङले सहभागी तथा धर्मगुरुहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

समाजका अध्यक्ष, श्रीचन्द्र गुरुङ, वरिष्ठ सल्लाहकार मोहन गुरुङ तथा पूर्व अध्यक्ष तथा सल्लाहकार हरि गोविन्द गुरुङको हातबाट गुरुहरुलाई दक्षिणा प्रदान गरे पश्चात कार्यक्रम समापन गरिएको थियो ।





Comments

comments

Leave a Reply

12605