विद्यार्थीमाथि आक्रमण गरेको आरोपमा हङकङका शिक्षक पक्राउ

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २७ सेप्टेम्बर। ताई पो खेल मैदानमा एक १५ वर्षीय विद्यार्थीसँग कथित झडपको आरोपमा ५७ वर्षीय शिक्षक पक्राउ परेका छन्। यो घटनाले शैक्षिक क्षेत्रमा तरंग ल्याएको छ।

बुधवार हङकङ ताओइस्ट एसोसिएसन द युएन युएन इन्स्टिट्युट नं. २ माध्यमिक विद्यालयको वार्षिक खेलकुद समारोहको क्रममा यो घटना भएको बताइएको छ। शिक्षकले दुई विद्यार्थीबीचको विवाद समाधान गर्न खोज्दा यो दुर्भाग्यपूर्ण घटना भएको स्रोतहरूले जनाएका छन्।

१७ वर्षीया छात्राले १५ वर्षीय सहपाठीले आफ्नो शैक्षिक नतिजाको खिल्ली उडाएको गुनासो गरेपछि शिक्षकले हस्तक्षेप गरेका थिए। मध्यस्थताको क्रममा शिक्षक उत्तेजित भएर कथित रूपमा बालकको घाँटी समातेर भुइँमा धकेलेको बताइएको छ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार, घटनाबारे आमालाई बताएपछि बालकलाई अस्पताल लगिएको थियो, जहाँ उनको दाहिने हातमा हड्डी भाँचिएको र घाँटी तथा पिठ्युँमा सामान्य चोट लागेको पाइएको छ। अर्को दिन विद्यालय प्रशासनको निगरानीमा प्रहरीले शिक्षकलाई पक्राउ गरिएको हो।

प्रहरीले घटनाको अनुसन्धान गरी शिक्षकलाई “वास्तविक शारीरिक चोट पुर्‍याउने आक्रमण” को आरोपमा पक्राउ गरेको छ। उनलाई जमानतमा रिहा गरिएको छ र अक्टोबरको मध्यसम्म कानून प्रवर्तन निकायमा रिपोर्ट गर्नुपर्ने छ।





Comments

comments

126467